सहभागिता खोज्दै देशभरका युवा राजधानीमा

काठमाडौं, २५ माघरशान्ति प्रक्रियामा सहभागिता खोज्दै देशभरका युवा राजधानीमा भेला भएका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तथा युथ टाईम ईन्टरनेशनल मुभमेन्टसंगको सहकार्यमा राष्टिय युवा महासंघ नेपालको आयोजनामा वुधबारबाट शुरु राष्ट्रिय युवा सम्मेलनमा सहभागि युवाहरुबिच देशमा जारी शान्ति प्रक्रियामा उनीहरुको भुमिका,नयाँ संविधान र संघीयता,दिगो आर्थिक विकास,सामुदायिक सद्भावमा संचारको भुमिका तथा युवा नेतृत्व र नैतिकता लगायतका बिषयमा छलफल भैरहेको छ ।

सम्मेलनमा सहभागि युवाहरुले १६ बर्ष पुगेका नागरिकले मताधिकार पाउनुपर्ने माग गर्दै हस्ताक्षर अभियान समेत शुरु गरेका छन् । देशै भरका ७० जिल्लाका २ सय ५० युवाका साथै २० अन्तराष्ट्रिय पर्यवेक्षकहरुको सहभागितामा भैरहेको सम्मेलन राष्ट्रिय युवा प्रतिबद्धतापत्र जारी गर्दै शुक्रबार समापन गर्ने कार्यक्रम छ ।
“नेपालमा जारी शान्तिप्रक्रियामा युवाहरुको सहभागीता ज्यादै न्यून छ,” सम्मेलनका संयोजक कविन्द्र बुर्लाकोटीले भने, “समाज रुपान्तरणमा युवाहरुको भुमिका खोजी गर्न सम्मेलन आयोजना गरेका हौं ।”नेपालमा विभिन्न जातीय,धार्मिक सम्प्रदायबिच तीक्तता कायम रहेको भन्दै उनले सम्मेलनपश्चात सहभागि युवाहरुलाई फरक समुदाय पठाएर संस्कृती बुझाउँदै सामाजिक सहिष्णुता सिर्जना अभियान शुरु गर्ने बताए ।

सम्मेलन अवधिभर समाजका विभिन्न क्षेत्रका विषयविज्ञहरुले राष्ट्र निर्माणमा युवाहरुको भुमिकाका बिषयमा सहभागिहरुसंग अन्र्तक्रिया गर्नेछन् । सम्मेलनको उद्घाटनका क्रममा नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्काले संघीयताका बिषयमा दलहरुबिच सहमति हुन नसकेका कारण संविधान बन्न नसकेको बताउँदै संघीयताको खाका निर्माणमा सघाउन युवाहरुसमक्ष अपिल गरे । युवाहरुमा नकारात्मक भावना बढी भएको उल्लेख गर्दै नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले उनीहरुमा सकारात्मक सोचको विकास हुनु जरुरी रहेकोमा जोड दिए ।

मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले युवाहरुलाई राजनीतिक उद्धेश्यप्राप्तिका लागि मात्र उपयोग गर्ने सोच अन्त्य हुनुपर्ने बताए । संवैधानिक समितिका पुर्व सभापति निलाम्बर आचार्यले युवामा प्रतिबद्धता र संघर्षशीलता हुनुपर्ने बताउँदै अवरुद्ध संविधान निर्माणप्रक्रियालाई थाल्नका लागि दबाव र सहभागिता लिनुपर्नेमा जोड दिए । “राष्ट्रले युवा शक्तिलाई सदुपयोग गर्नुपर्नेमा अर्काको मुलुक बनाउन उपयोग गरिरहेको छ,” अर्थवीद डाक्टर चिरन्जीवि नेपालले भने,“वर्तमान राजनीतिक नेतृत्व युवा शक्तिलाई सदुपयोग गर्नभन्दा धपाएर शासनगर्नमै लिप्त छन् ।”

नेकपा माओवादीका संयोजक मातृका यादवले युवाहरुले नेताहरुबाट सिक्न लायक कुरा केही नभएको स्विकार्दै नेताहरुलाई समेत बाटो देखाउन युवाहरुहरुलाई आग्रह गरे । सम्मेलनलाई मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका नेता जीतेन्द्र देव,पुर्व शान्तिमन्त्री शुरेस मल्ल,नेपाल सद्भावना पार्टिकी नेतृ सरिता गिरी लगायतले,चिन्तक डाक्टर चिन्तामणी योगी लगायतले अबको राष्ट्रको विकास युवाहरुको हातमा रहेको भन्दै नेतृत्व लिन युवाहरुलाई सुझाव दिए । सम्मेलन शुरु हुनुअघि विभिन्न क्षेत्रका युवाहरुले मुलुकको नेतृत्व युवाहरुलाई दिएमात्र विकास र शान्ति हुन भन्दै विश्वभाषा क्याम्पसबाट रत्नपार्क हुँदै नेपाल प्रज्ञा प्रतिष्ठान सम्म र्याली गरेका थिए ।

कमेन्टहरु
Loading...