महासंघले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी

काठमाडौं, २० असार/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी थालेको छ ।

तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै असार २१ गतेपछि सञ्चालन गर्ने महासंघले जनाएको छ ।

यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासंघको आरोप छ ।

सञ्चालनका लागि सरकारसँग माग गर्दा अहिलेसम्म छलफल भन्दै अल्मलाएको र कुनै निर्णय नगरेकाले व्यवसायी आफैँ सञ्चालन गर्ने टुङ्गोमा पुगेका छन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन्ले यातायात क्षेत्रमा आश्रित परिवार भोकै रहने अस्वस्था छ, बैङ्कको ऋणको त कुरै नगरौँ, गाडी चलेकै छन् तर सावर्जनिक मात्र रोकियो, निजी गाडीले यात्रु ओसारेका छन्, त्यसैले हामीले २१ गतेपछि आफैँ निर्णय गरेर चलाउँछौँ ।

उपत्यकाका ट्याक्सी व्यवसायीले पनि असार २१ गतेसम्मका लागि आन्दोलन स्थगित गरेका छन् । तीन महिनाभन्दा बढी समय बन्दाबन्दी भएपछि ट्याक्सी व्यवसायी बैङ्क किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको भन्दै ट्याक्सी लिएर सडकमा आएका थिए ।

ट्याक्सी चलाउन र काम गर्न पाउनुपर्ने उनीहरूको माग छ । आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले समाचार लेखेका छन् ।

कमेन्टहरु
Loading...