हतियार प्रयोगले यार्चागुम्बा मासियो

सङ्खुवासभा जिल्लाको उत्तरी हिमरेखा क्षेत्रमा पाइने यार्चागुम्बा मासिएर गएको छ। विशेषगरी मकालु बरुण राष्ट्रिय निकुञ्ज र मकालु आधार शिविरमा पाइने यार्चागुम्बा अवैधानिक र हतियारको प्रयोग गरी सङ्कलन गर्दा यो वर्ष ९० प्रतिशतभन्दा बढी यार्चागुम्बा मासिएको निकुञ्जले जनाएको छ।

ग्ात वर्ष १६५  किलोभन्दा बढी यार्चागुम्बा सङ्कलन भएकोमा यो समयमा यार्चा सङ्कलकले कुटो कोदालोजस्ता घरायसी हतियार प्रयोग गरेका कारण यो वर्ष १० किलो पनि यार्चा नपाइने यार्चा सङ्कलक ग्याल्जे शेर्पाले बताए।
यार्चा सङ्कलन गर्दा कुटो कोदालो जस्ता घरायसी हतियारको प्रयोगले झार मासिने, खाल्डा पर्ने, यार्चाका लार्भा र फुल नै मर्ने हुँदा अर्को वर्ष यार्चा नपाइने निकुञ्जका दुर्गाकिरण राईले बताए।
यो समयमा मकालु बरुण राष्ट्रिय निकुञ्ज र मकालु हिमाल आधार शिविरका क्षेत्रमा यार्चा सङ्कलकहरु सानो सहर जस्तै गरी पाल टाँगेर बस्ने गरेको  पाइन्थ्यो तर यो वर्ष दुई/चार जना पनि यार्चा सङ्कलक छैनन्।
अघिल्लो वर्ष उच्च क्षेत्रमा मात्रै हैन तल्लो क्षेत्रमा पनि यार्चागुम्बा पाइएको थियो। समुद्री सतहदेखि एक हजार ५०० मिटर क्षेत्रको तामाफोक, मादी, स्याबुन, माम्लिङ गाविसको तितेपाती, बुकीफुल, सोत्तर, अलैँची बारी र उत्तिसमा यार्चा पाइएको थियो।
यो वर्ष उक्त क्षेत्रमा यार्चागुम्बा पाइएको छैन। तल्लो क्षेत्रमा पाइने यार्चागुम्बा गुणस्तरहीन हुने भएकाले उच्च क्षेत्रमा पाइने यार्चाको जस्तो मूल्य छैन।  यो वर्ष यार्चागुम्बा नपाइएपछि जिल्लामा उठ्ने करमा पनि कमी आएको छ।
गत वर्ष जिल्ला वन कार्यलयले ६५ किलो  र मकालु बरुण निकुञ्जले १०० किलो यार्चा निकासी अनुमति दिएको थियो तर यो वर्ष १० किलोको जति पनि छैन। प्रतिकिलो यार्चागुम्बाको रु ९३ हजार कर लिने गरिएको छ। रासस

– See more at: http://setopati.com/samaj/2731/#sthash.IVEfMEb1.dpuf

कमेन्टहरु
Loading...