उत्तराखण्डको बाढीमा ज्यान जोगाएर ३० नेपाली फर्किए

आरपी सुवेदी ८ असार, नेपालगञ्ज । भारत उत्तराखण्डमा चारधाम यात्रामा गएका बेला बाढी र पहिरोको प्रकोपमा परेर बाँच्न सफल भएका ३० जना नेपाली शनिबार नेपालगञ्ज नाका हुँदै स्वदेश फर्किएका छन् । भारत सरकारले उनीहरुलाई उद्दार गरि हरिद्वार हुंदै बसबाट नेपालगन्ज पुर्‍याईएका ३० जना नेपालीहरु जिल्ला प्रशासन कार्यालय बांकेको सम्पर्कमा आएका छन् ।

बाढीबाट ज्यान जोगाउन सफल रुकुम, रोल्पा, सल्यान र जाजरकोटका ३० जनालाई जिल्ला प्रशासन कार्यालयले बाटो खर्च दिएर घर पठाएको छ । मृत्युको मुखबाट बच्न सफल रोल्पाका पहलमान घर्तीले पानीको बहावमा सयौं मानिसहरु बगेको आफैले देखेको बताए । उनले आफ्नै आँखा अगाडी भेल र पहिरोमा अनगिन्ति मानिस बगेको देख्दा आफैपनि बाँचिदैन कि भन्ने लागेको सुनाए ।

केदानाथर गौरीकुण्डमा तीर्थ गर्न जाने तिर्थालुहरुको डोलेका रुपमा काम गर्ने घर्तीले बाढी आएको संकेत पाउनासाथ आफूहरु डांडातिर भागेर ज्यान जोगाएको बताए । रोल्पा ईरवाङ्गका रामबहादुर पुन बाढीबाट ज्यान जोगाउने क्रममा घाईते भएका छन् । बगेको पानीमा धर्मशालाको छड समातेर ज्यान जोगाएको पुनले बताए । पानीमा बगेर पनि पौडेर निस्किएको रुकुमका कमानसिंह पुनले बताए । कोठामा राखेको नगद र लगाउने कपडा समेत निकाल्न नपाएका नेपालीहरुलाई भारतको बिभिन्न स्थानहरुमा निशुल्क भण्डारा खुवाउंदै बस चढाएर नेपाल भारत सिमानाको रुपैडियासम्म पुर्‍याउने ब्यवस्था भारत सरकारले मिलाएको थियो ।

रुकुम रुघा -९का बलबहादुर बोहराले आफुसंगै भएको भाईलाई बाढीले बगाएर लग्दा आफु केही गर्न नसक्ने अवस्थामा पुगेको बताए । उनी र उनको भाई लालबहादुर बोहरासंगै केदारनाथमा डोलेको काम गर्दै आएका थिए । उनले आफुसहित अन्य २ सय बस्दै आएको घरपनि बगाएकोले आफुले लगाएको लुगा बाहेक केही पनि बचाउन नपाएको बताए । उनले भने, रातभर पानीमा रुझेरै रुखमुनि बसियो । तीनदिनसम्म केही पनि खाना पाएनौं पछि हेलिकम्टरले उद्धार गरेर हरिद्वार पुर्‍यायो । आज नेपालको बोडेरमा आउदा आमाबाको काखमा आएको जस्ता लागेको छ ।’

– See more at: http://www.onlinekhabar.com/2013/06/85141/#sthash.8PJToTBU.dpuf

कमेन्टहरु
Loading...