युद्धकथाः आँशुको आकास

यादव देवकोटा
‘हाँसी राखन माया बोली राखन …. ।’
उ गुन्गुनाई रहन्थ्यो यही गीत जब हाम्रो भेट हुन्थ्यो । वैशाख–जेठको धुपमा सिरसिर चलेको बतासले फिरफिर पार्र्र्दै हल्लाएको सालको पातझैं देखिन्थ्यो उसको ओठ । स्वर मिठो । लय मिलेको ।
देश लडाइँमा थियो । हामी लडाइँमा थियौं । कालिकाटार प्रहरी चौकी माथिको रेड ।  हामी सिक्दै थियौं लड्न । लड्दै जित्न । एउटा मोर्चामा लड्नु अर्को मोर्चाको लागि लडाइँको सिकाइ थियो ।
कालिकाटारमा न हार भो न जित । केही सिकियो । साथी गुमाइयो एउटा ।
खिरिलो ज्यानका ध्रुव पावरवाला चश्मा लगाउँथे । साइन्स पढ्दै थिए स्नातक तहमा । छाडेर लडाइँमा होमिएका । हिँडाइ सुरु हुँदै थियो । बाटो खन्न सुरु हुँदै थियो । उनी हिँडिदिए सधैंका लागि स्वप्न यात्राको आदर्श बाटो बनेर । उनलाई नपुग्ने केही थिएन । नपुग्नेहरुको लागि लड्न सामेल भए । सरल र गम्भीर स्वभावका थिए ।
तिनै ध्रुवको साथ लागेर आएका थिए उनी पनि । उनी अर्थात् सरल । सँगै पढ्थे, सँगै लाम लागे । कालिकाटारको मोर्चाबाट फर्कंदा सेतीको किनार समाउँदै नारायणी पारिबाट तर्पाएँ तर्पाएँ हिँडेर चुपचाप नवलपरासी पुग्यौं । कोही कोहीसँग बोल्दैन । कोही कसैलाई सुन्दैन । सबैले सुन्छन् एकतमास बगिरहेको नारायणीको सुसाइ र सुसाउँछन् मनभित्र हजारौं नारायणी एकसाथ ।
त्यो बाटोभरि सबैभन्दा बढी सुसाए सरल ।  कालो–कालो मान्छे । बाक्लो ओठ । मोटा दाँत । ठूल्ठूला कान । न राम्रा । न त नराम्रा । रिसाहाजस्ता, निष्ठुरजस्तो लाग्ने । जसरी धु्रवको शोकमा रुँदारुँदै नारायणीको बगर जस्तै भएका गालामा आँसुको डोब लगाए, त्यसपछि भने अलि अलि नै सही उनीबारेको धारणा फेरियो । देखेजस्तो छैनन् है भन्ने लाग्यो । बाक्लो ओठ भएका योद्धा भित्रभित्रै राम्रा लाग्न थाले । मनले उनको नाममा छोटै सही एक पुच्छ्रे रातो धर्को तान्यो ।
नवलपरासीको पहाडी इलाका हुँदै कावासोती बाट अघि बढ्दै डण्डा डाँडातिर तेर्सियौं । थारु बस्तिमा रहेको समर्थकको घरमा बस्यौं । चौकी रेडका क्रममा क्रलि¨ गर्दा दाहिने पाखुरामा घाउ लाग्यो । त्यही घाउमा बेटाडिन लगाउँदै थिएँ । छेउको राप्तीको सुख्खा किनार जस्तै भइसकेको अनुहार बोकेर उभिए उनै सरल र फेरि गाउन थाले । तर, ‘हाँसि राखन …’ गाएनन् । लिचिको रुखछेउको डिलबाट देखिने राप्ती पारिको किनारमा चरन भर्न आएका हात्तिहरुतिर एकतमास हेर्दै सुसेले–‘टाढा–टाढा जानु छ साथी एकफेर हाँसी देऊ ….. ।’
गीत गुनगुनाई सकेर नजिक आए । ‘तपाईँको घाउ त पाक्न थालिओच’ भन्दै हात समाते । कपासले सुस्तरी घाउमा बेटाडिन दलिदिए । लाग्यो–पोतिएँ बिस्तारै थारु बस्तिका बुकुराहरुको भित्तामा पोतिएको चित्रको रंगझैं सप्तरंगी बनेर मनभरी ।
‘कमरेड सपना यो पढ्नुस्, तपईलाई कस्तो लाउँच, भोली यई बेला ह्याई भेटम्’ भन्दै एकोहोरो हिंडिरहेको गैँडाझैं छड्किए । जाँदा गुनगुनाउँदै गए –‘यो मेरो शरीर ढलेर जाला आस्था त ढल्दैन ।’

सामान्य लेखपढ गर्न सक्छु । त्यस बाहेक थप पढ्न सकिनँ । पाइन । अक्षर छिचोल्छु । उसै गरी कोर्न सक्छु मनमा उठेका तरंगहरुलाई आकार दिएर अक्षरको । कनिकुथी, सकि नसकि । तीनमा पढ्दै थिएँ । आमा बितिन् । आमासँगै बित्यो स्कूले रहर । आमा खरानी भइन् । आमासँगै खरानी भयो पढाईँ–लेखाई । सिंगै जीवन सिकाईहरुको पाठशाला रहेछ । चार कोठे भवनको पाठशाला छाडेर खुल्ला जीवनको अन्त्यहीन पाठशालामा धकेलिएँ ।
छोराको आसमा लगालग जन्मिएका चारवटी छोरी । हामी चार बहिनीलाई पछ्याउँदै जन्मिएका दुइ भाई । निमेकको भरमा चल्ने जिविका । कसरी थामुन् बा एक्लैले ? म माथिका दुई दिदीलाई पच्छ्याउँदै तीन कक्षाको पढाई छाडेर मिसिएँ मेलापातमा । भारापर्ममा ।
दिदीहरुको बिहे भयो उमेरै नपुगी । उमेर कुरुञ्जेल भोक र अभावले ज्यानै जाला कि भन्ने पिरले । जेठी आइतीलाई बालेनै खोजेर घर गरीदिए । माइली गई हिमचिम बढेको उसैको मायासँग । म जान सकिन । न जेठी जसरी । न माइली जसरी ।
एउटा हिँउदे शनिवार बाख्रालाई चरनमा लिएर गएको दिन । प्रधानका छोराले दिउँसै हात लगाए म माथि । ज्यान लाउने मनसायले । प्रतिबाद गरेँ रुँदै । अरु साथीहरु पनि मिसिए । प्रतिवादमा उनले लाठी भेटे साथीहरुबाट । टाउकोबाट रगत आएछ । बेलुकी कचहरी बसे । म दमाईँकी छोरी, उनी बाउनका । म ज्यामीकी छोरी, उनी प्रधानका । प्रधान खलकको पक्षमा ओइरिए सबै । बिष्ट बराजुका विरुद्ध कसले बोल्ने ? हाम्रै पौनीथरे पनि मुख खोलेर तिनको अत्याचार बिरुद्ध बोलेनन् । छोरीमाथि अत्याचार गर्न खोँजिदा भएको प्रतिकारमा घाइते भएको विष्टको छोराको उपचार रकम तिर्नुपर्ने फैसला सकारेर फर्किए मेरा बा ।
देश लडाइँमा होमिएको शुरुवाती महिना थियो । तिनै धु्रब र सरल आएका थिए । तिनको साथमा अरु चार जना तन्नेरीहरु थिए बन्दुक भिरेका । तिनले फेरि गाउँ उठाए । कचहरी बोलाए । प्रधानको छोरालाई पाता फर्काए । बाकस फोडेर तमसुक निकाले । प्रधानलाई मोसो दले । तमसुकमा सलाई कोरे । छोरालाई भाटा लगाए । तीन मुरी धान भर्न लगाए भकारी फोरेर । बोकेर घर पठाए मेरा बालाई।
ती जसरी आए, उसरी नै गए । मानौं एक झोक्का हावा बहँदै आयो डाँडो छिचोलेर र फर्किगयो रुखको पातलाई फिरिरी हल्लाउँदै ।
ती गएपछि पुलिस आयो । प्रधानले बोलाएका । पुलिसले लग्यो बासँगै मलाई । मैले जेका विरुद्ध प्रतिकार गरेँ प्रधानका छोरासँग । मबाट खोसिलग्यो पुलिसले चौकिभित्रैबाट । उनीहरुको चौकी उनीहरुको स्वार्थको सुरक्षाको लागि रहेछ । मेरो चित्कार चौकीको भित्ताले सुन्यो र भित्तामै हरायो । म निख्रिएँ । एउटी आईमाई जबर्जस्ती लुटिँदा पनि मर्न सक्दि रहिनछ । म मर्न सकिन । रातभरि पुलिसले बुत्याएको छोरीलाई पछि लाएर मेरा बा घर फर्किए । बाटोको भिरबाट फदाँलेर मरुँ–मरुँ लाग्यो घरै नगई । मर्न सकिन । माया लाग्यो निख्रनै नसकेर  निख्रिएको जिन्दगीको ।।
घण्टाहरु दिन लाग्न थाले । दिनहरु रात । रातहरु विषालु सर्प जस्ता लाग्न थाले । फँडा उठाउँदै ठुग्न आए जस्ता । न मर्न सक्ने, न बाँच्न सक्ने बनाएर डसि जाने । डसिएरै बाँचे । नमरेकाले । लाग्यो जीवन भन्दा ठूलो संसारमा अर्को कुनै भार छैन ।
उनीहरु फेरि आए । उनीहरु अर्थात धु्रब,सरल र साथीहरु । साँझ खाना खानेबेला सरलले मैलाई  ताँकेर गाए–‘हाँसी राख न माया … ।’ हाँसो त परको कुरा मसँग आँसु पनि बाँकी थिएन । खाँदा पनि, बस्दा पनि, सुत्दा पनि साथी भएको थियो आँसु । लाग्यो आँसु भन्दा नजिकको संसारमा अर्को कुनै साथी छैन ।
तिनले घरभित्र पसेर बासँग खस्याक्खुसुक गरे । बाले मसिनो गरी बालेको सुनेँ –‘उ मान्चे भने  म केइ भन्दिन । उसको जिन्नगी हो । उई भनोस् । बाऊ हुँ, माया लाउँच । लौ गईहाल भनेर निकालेर कसरी पठाम्न सउचु र हुँजुर ?’
तिनै सरलले चुक घोप्ट्याए जस्तो भदौरे रातमा भनेका थिए –‘जिन्नगीको दुःख रोइकराई गरेर जान्न । दुःखसँ लन्नुपर्च । नलडि संसार फेरिन्न । संसार नफेरि संसारआ रित फेरिन्न । पुराना रित रहेसँ हजारौं प्रधानका छोरारु तपर्ईँजस्ता छोरीचेली खोज्दै इजेत लुट्न दौडिरन्चन् । तपई आँट अर्नुस् । आफूलाई फेर्न, दुनिया फेर्न । तपईको आँसुको मोल फर्काम्न पार्टीमा आम्नुस् ।’
‘आँसुको मोल फर्काम्न … ।’ झ्याउँ–झ्याउँ झ्याउँकुरी कराइरहेको रात त्यही हरफले तान्यो मलाई । चुम्बकले तानेझैं । मैले केही सोचिन । ºयाट्ट भनिदिएँ–‘म हिन्चु ।’

त्यसरी आएको थिएँ समरयात्रामा । घर छाडेर हिँड्ने अघिल्लो दिन घर लिपपोत गरेको थिएँ । अब फर्कन्छु–फर्कन्न ठेगान थिएन । त्यसैले छाडेको थिएँ आफ्नै हत्केलाको ठेगाना घरको भित्ताभरि चिसो गोबरमाटोमा मिसाएर । भाईबहिनीको कपडा धोइदिएँको थिएँ । तिनको लुगा सिस्नेरी धाराको पानीले धोएँ कि तिनको मायामा बगेको आँसुले भन्न सक्दिन । भाईबहिनीहरुले कुकुरका छाउराहरु बसेँझैं घरको पिँढीमा बसेर टुलुटुलु हेरिरहे तिनलाई छाडेर निस्किएकी दिदीलाई । बाले बरर्र आँसु झारे । आँसु बाको गाला हुँदै खुट्टामा तप्प झ¥यो । रुनू र रुन थाल्नु आँसुहरुको अन्त्य होइन रहेछ । रुँदै पछि लागेँ धु्रव, सरल र साथीहरुको ।

उनको पत्रलाई स्वीकारेँ । भन्न जानिन क्यारे † सरलको पत्र पढेर तिनलाई स्वीकारेँ । मेरोबारे सबै थाहा थियो उनलाई । प्रहरी चौकीमा लगेर बिटुल्याईएकी । यो समाजले बिटुलो मान्ने जातकी । त्यो सबै सकारेरै बोलाएका थिए उनले आफ्नो जीवनमा मलाई । नबलपरासी र पाल्पाको सिमानातिरको गाउँमा बिहे भयो हाम्रो बन्दुक साँटासाँट गरेर ।

पश्चिमको छापामार दस्तामा सामेल छु । सरल कमाण्डर छन् । नयाँ साथीहरु छन् समुहमा । पहिलो वार्ता भंग भएको साँझ सरलले हाम्रो फर्मेशनलाई रोलकाल गराए र सैन्य  ब्यारेक हमलाको लागि कोचि¨ सुरु गरे । दोस्रो दिन एक लालजोडीको पूर्व निधारित विहेमा सहभागी भइयो । बिजोग र सपना ।  कति राम्रो नाम † पाटीमा आएर पाएको टेकनाम ‘सपना’ म आफैंलाई खुब मनपर्छ । आफैंसँग मिल्ने नाम भएकी रोल्पाली कमरेड सपना र विजोगको जोडी दिउँसो जोडियो र साँझ सैन्य ब्यारेक हमलामा सामेल भयो । लडाइँको मोर्चा सकिएर फर्कँदा त्यो नयाँ लालजोडी मोर्चामै छुट्यो । दिउँसो मात्र जीवन सम्बन्धमा साझेदारी गरेको जोडीले राति क्रान्तिमा आफ्नो कोटा चुक्ता ग¥यो । त्यो पछि योद्धा निकै सुक्सुकाए । मोर्चा ताकेर फौज मुभ हुनुपूर्व उनी भन्दै थिए –सपना र विजोग मोर्चामा  सामेल नहोउन् । बिजोगले इन्कार गरे क्रान्तिको ट्रेन्चबाट भाग्न बिहे गरेका होइनौं भनेर ।
नयाँनयाँ सैन्य टुकडीहरु थपिए । राज्यको पनि, हाम्रो पनि । पूर्वी नेपालको कमजोर सैन्य कारवाहीलाई सुधार गर्न सरलहरु ठूलै टिम लिएर पूर्व लागे । हाम्रो टोली आधार इलाका मुभ भयो । लामो राजनीतिक प्रशिक्षण र फौजी कोचि¨ सहित हाम्रो फोर्स नयाँ मोर्चा खोल्ने अन्तिम तरखरमा थियो । प्रशिक्षण समापनको दिन सांस्कृतिक र जनवादी विहेको थप कार्यक्रम थियो । विहेको मञ्चमा नवजोडीलाई शुभकामना दिन अतिथि बनेर उभिएको बेला कार्यक्रममा सहभागी बन्न आईपुगेका पूर्वका एक कमरेडले खाम बन्दी चिठी थमाए हातमा । खोलेर हेर्दा खबर थियो सरलको मृत्युको । पेटमा गर्भ रहेको चार महिना भएको थियो । बच्चा नजन्मदै उसको बाबुको मृत्युको खबर पढ्नु पर्‍यो ।
मनको भित्ता ताकेर हजारौं राउण्ड गोली चले एकसाथ । असिनाले ठटाएको रुखको पालुवाझैं छियाछिया बनायो मनको पर्खाल । गर्लम्मै ढल्यो र सहाराविहीन भएँ । आफ्नै मुटु चँुडिएको बेदनालाई आँसुमा बगाएर सम्मालिँदै भने–‘नयाँ मुटुहरु जोडिएको यो उल्लासमा आफ्नै मुटुको चित्कारलाई हत्केलाले मिचेर शुभकामना दिन उभिएकी छु ।’ त्यसो भन्दै रुन थालेँ । सँगसँगै सिङ्गै हल रोयो ।
म आँसुको बाटो पछं्याएर समर यात्रामा आएँ । सरल त थिए जसले मलाई जीवनको गुरुत्वको बोध गराए । उनी नभएको भए मेरो जीवन हिउँदको एक दर्को झरीझैं स्याइर्एँ भएर निख्रन्थ्यो । उनी गए । उनीसँगै जीवनको सबैभन्दा नजिकको  भरोषा गयो ।

छोरी जन्मिई । गर्भमै टुहुरी भएकी । बाबुको मुख देख्नै पाइन । नाम दिएँ– प्रेरणा । उसैको बाबुको प्रेरणाले आन्दोलनमा हिँडे । त्यही आन्दोलनमा उनीसँग बिहे भयो । खुशी थिएँ । उनी बिते । दुखी छु आजसम्म । जे भएपनि लड्नु र लडिरहनु । फेरि पनि लड्नकै लागि सात  महिने छोरीलाई जेठी दिदीको जिम्मामा छाडेर लडाईँमा फाल हाने । पछुतो लागिरहन्छ किन त्यसो गरेँ ?

देशमा आँधी थामियो । भेल संग्लिएकै थिएन । लडाइँ कालभरि बन्दुक बाकेर लड्न हिँडे । त्यही जाने । त्यही गरेँ । शान्ति प्रक्रिया सुरु हुन लाग्दा नेताहरुले भने–तपाईँ सैन्य मोर्चाबाट खुल्ला मोर्चामा गएर जिम्मेवारी बहन गर्न प¥यो ।
नाई भनिन । काठमाडौं गइयो । केही दिन बाग्मती किनारको सुकुम्बासी बस्तीको आर्कमा बसियो । बर्सादीले छाएको बकुरा । हरितन्नम मानिसहरुले जीवन अड्याएको बगरको बस्ती । बिस्तारै साथीहरुलाई बाग्मती गन्हाउन थाल्यो । सुकुम्बासी वस्ती फोहर लाग्न थाल्यो । सुकुम्वासीहरु फोहोरी लाग्न थाले । पल्सरको टाईँटुईँ । ब्राण्डेड पोशाक । ब्राण्डेड खाना । तुरुन्तै आर्क स¥यो शहरको केन्द्रमा । त्यसपछि ? लेखर लेखिसाध्य छैन । लेख्दिन ।

विस्तारै बाँच्नै मुस्किल पर्न थाल्यो । नानीको स्कूल फि, डेरा भाडा । जुटाउनै सकिन । साथीहरुको औकात, वर्ग, स्तर सबै फेरियो । म गाउँको गरीबकी छोरी । बा बितेपछि बाँकी रहेको पुरै परिवार एकपछि अर्को गर्दै लडाइँमा सामेल भयो । भएको बुकुरो पनि कुन झरिले पखाली भ्यायो । सरलको घर देखेको छैन । सरलका भाई फोन गरिरहन्छन् । भाउजू, दाई नभए पनि हामी छौं, एक्लै भएँ, बिचल्लीमा परें भनेर नरुनु भन्छन् । आईरहन्छन् भेट्न । खुब माया गर्छन् प्रेरणालाई । सरलजस्तै छन् असल स्वाभाबका । मेरी बहिनी छे चौथो डिभिजनमा । सरलका भाईसँगै तेस्रोमा छ कान्छो भाई । उ माथिको भाई लडाइँमा लागेर निख्रियो ।
बहिनीले पनि अन्र्तजातिय बिहे गरि । शिविरमा बसेको दोस्रो वर्ष उसको लोग्नेले डिभोर्स माग्यो । जोडी छुट्यो जात नमिलेर । धमाधम सबैले त्यसै गरे । जनवादी विहे गरेर जोडिएका जोडीहरु धनवादको घनठोकाईमा परेर टुक्रिन थाले ।
छोरी विरामी भई एक रात हनहनी ज्वरो आएर । घरि तर्सने, घरि चिच्याउने गर्न थाली  । काठमाडौंको डेरा । उसको छट्पटाहट हेरिरहेछु निरिह भएर । अस्पताल लाने पैसा थिएन । सरलका भाईलाई फोन गरें रुँदै । विहान उज्यालो हुनेबेला काठमाडौं आईपुगेछन् शिबिरबाट । नानीलाई अँगालो हालेर रोए निकैबेर । भित्तामा टाँसेको दाइको फोटोमा औला दलिरहे सुस्तरी । मसँग नानीलाई खुवाउन एकपाकेट दुध किन्ने पैसा पनि थिएन । उनैले गरे, अस्पताल लाने, औषधि किन्ने सबैसबै ।
शहरमा बस्न सकिन । अभाव र सहनै नसकिने अपमान दियो । अपमानको विरुद्ध आन्दोलनमा हिँडे । फेरि आन्दोलनमा हिँडेकाहरुले नै अपमान दिए । सरलको हत्यामा सुराकी गर्नेहरु केन्द्रीय नेता बने । यो सब अपमान हो रगत,आँसु, पसिना बगाउने माथि ।
‘भाउजु, दाई नभएपनि’–योद्धाको भाईले भने–‘बूढो भइसकेका बा छन्, छोरो फर्केला भन्ने आश लिएर बाँचिरका । हाम्ले दाजुलाई सग्लै लगेर बुझाम्न सकेनम् । छोरी छे । तपई हुनोन्च । त्यही हेरेर भानि मनको घाउमा अलिअलि नौनी दल्नोन्च बाले । हिन्नोस घर जाऊँ ।’

सरलका भाईले घर जाउँ भनेदेखि मनमा तर्कनाहरु चलिरहे । लाग्यो–भागेर जीवन सकिन्न । यसलाई बेर्होनुपर्छ । जीवनलाई बेर्होनु दुनियालाई बेर्होनु पनि रहेछ । जहा“ गए पनि जे जे गरे पनि अव जीवनको एउटै हिसाव हुनेछ जीवन चलाउनु । मैले भोग्नुपर्छ, बेहोर्नुपर्छ आँशुहरुलाई । आँधीहरुलाई । आँधीसँग खेलेर आफ्नो जीवनको उर्जा निखारेँ । त्यसले केही काम दिएन । धेरै काम दियो पनि। अहिले भोग्न सक्ने भएको छु आफ्नै जीवनका आँधीलाई । समाजलाई । समयलाई । आफैंलाई । त्यही भोग्नेछु ।’

उनैको पछि लागेर घर गएँ । छोरो बिलायो लडाइँमा । एकैचोटी नातिनी लिएर आएकी बुहारी देखेर डाँको छोडे ससुराले । जता गएपनि मान्छेहरुको आँखामा आँसु मात्रै दिन सकियो । सरलहरुले छाडेर हिँडेको घर लिलाम भएछ । छोराहरुको सुर्ताले थलिएकी आमाले छोराहरुको मुखै हेर्न नपाई प्राण त्यागिछन् । झुक्दै, रुँदै अरुकोमा जाँदा छोराहरुको स्वाभिमानमा ठेस लाग्छ, मनोबल गिर्छ भनेर गाउँकै खोरियामा छाप्रो हालेर बसेछन् बूढाले । सरल बाँचेको भए जसरी पनि पाल्दा हुन् बूढा बालाई काँधैमा राखेर पनि । म उनकी बुहारी हुँ । त्यो जिम्मा मेरो काँधमा छ ।

सरलका भाइले शिविरमा फर्कनु अघि भनेका थिए–भाउजू भो विदेश जाने कुरै नगर्नुस् ।
मलाई बस्नै मन लागेन । अरुको भ¥या¨ बनेर बस्नु भन्दा दूईचार साल दुःख गरे बूढा ससूरा, छोरीको मुखमा माड लाग्ला । आफ्नो त जिन्दगी यस्तै भो । त्यही सोचेर पार्टीकै कमरेडसँग दुई पैसे  ब्याजमा ऋण लिएर कुवेत आएँ । दुई वर्ष भो यतै छु ।
म आएको दुई महिनापछि सरलका बा बितेछन् । छोरी एक्लो परि ।
खै कताको लहरो समातेर उनै सरलका भाइले ललितपुरको बालकेन्द्रमा राखिदिएछन् । बा बिते, आमा जिउँदै भएर पनि कुनै भर पाइन उसले आमाबाट । नचिनेका, चिन्दैनचिनेका मान्छेहरुले उसलाई आश्रय दिएका छन् । मैले एउटी छोरीलाई पनि पाल्न सकिन । काखमा राखेर माया दिन सकिन । अहिले अरुकै दयामा बाँचिरहेकी छे ।
हामीलाई हेरेर यहाँ आएका नेपालीहरु भन्छन्–‘लडाइँले सबैको सबैथोक बिग्रिएको छैन । तपाईँहरु घर न घाटको भए पनि अरुको दरबार जोडिएको छ ।’
मनमनै जवाफ दिन्छु उनीहरुलाई–‘हो मैले दुःख पाएको छु । एकपछि अर्को । निरन्तर, निरन्तर । घरको न घाटको भएकी छु । आफू त भएँ–भएँ । सानी नानीलाई पनि आफूजस्तै बनाएकी छु । तर लडाईँमै नगएको भएपनि मेरो जिन्दगी गलैंचीका  फूलझै गमक्क परेर फुल्ने थिएन । छोरी हुर्केली । आज लेखेको अक्षरहरु छाम्दै पढेर बुझ्लि उसको बाउले लेखेको रगतको इतिहास र उसकी आमाले कुँदेको आँसुको विगत । कम्तिमा उसलाई यो समाज फेर्न सकेको मेहनत गर्ने उसका  बाआमाको विगत पढ्ने हक मिल्ला । मैले लेखेको आँसुको किताब र त्यो किताबमा सरलहरुले लेखेको रगतको स्वप्नचित्र सबै गायब बनाइदिए केही मान्छेहरुले भन्दैमा म आफैंले नापेको आँधीको यात्रालाई कसरी आगो लगाउन सक्छु ?’

सरकारले लडाइँमा मारिएकाहरुलाई राहत रकम दिने निर्णय गरेछ  । पार्टीका मान्छेहरु गएछन्, सरलको रकम लिन । त्यो ब्लडमनि हो पीडित परिवारले पाउने । सरल मरेको पैसा पाउँला भनेर लडाइँमा लागेको होइन म । जति उमेर, आँसु र सपना लडाईँमा लगानी गरेँ, त्यसप्रति कुनै गुनासो छैन । मैले मेरै खुशीले रोजेको बाटो । आफ्नै खुशीले भोगेको जीवन । त्यसैले दाबी गर्दिन लडाइँका दिनहरुमा विताएको जीवनको हिसाब । त्यही लडाइँमा गुमाएको मुटुको हिसाब । म त्यसको हकदार होइन । पे्ररणा हो त्यसको हकदार । नभए योद्धाका भाई हुन् । बा आमा बितिगए ।
बाबुको मुखै नदेखी टुहुरो भएकी अवलाको हक खोस्न पार्टीका मान्छेहरुले तछाडमछाड गरेछन् । ब्लडमनि पनि नछाड्ने नैतिकता हुर्किएछ । त्यही त हुर्काइएछ त्यत्रा मान्छेहरुको जीवन,आँसु,पीडाको लगानीमा ।
पहिलो  किस्ता उनीहरुले नै लगेछन् ।
दोस्रो किस्ताको रकम योद्धाका भाइ, मेरो भाईहरुले लडाइँ गरेर प्रेरणाको नाममा ल्याएछन् ।
ऊ हुर्केली । बैंक खातामा रहेको दुई लाख रकम सम्झँदै भित्तामा टाँसिएको बाबुको फोटो हेरेर रोली ।

यताको बसाईको दिन सकिँदैछ । पार्टी फुटेदेखि मानिसहरु सोधिरहन्छन्–‘कमरेड कुन पार्टीमा लाग्नुहुन्छ फर्केर  ?’ खै मेरो भाई, मेरा सरल कुन पार्टीको भागमा परेका छन् ? कसरी भाग लगाए शहीद र सपनाको हेर्नुछ । हेरेर फेरि रुनु छैन । यो कतारको मरुभूमिमा रुँदारुँदै बगाएको छु सिङ्गै दरौंदी । अब रुन पुग्यो । बाँच्नका लागि धैर्य चाहिने रहेछ । सबैभन्दा धेरै चाहिने रहेछ–आफैंप्रतिको भरोसा । छोरीलाई भरोसा दिनुछ । जहाँ समाएर, टेकेर,उभिएर बाँच्नसकोस–एउटा जिन्दगी र हेर्न सकोस् उसको बाबुले छाडेर गएको लामो बाटोसँगै तन्किएको दुर क्षितिज । आँसु पुछ्दै ऊ जाओस आफ्नो बाबुले रगतले खनेको बाटो  रुँदैरुँदै चुम्न र फर्कियोस् आँसु र रगतको मोल बुझेर ।
कुहिएको आलुझै सडेका मानिसहरु हेरेर बुझोस्, आज यिनीहरु जसरी ऐसआराम र भोग विलासमा बाँचेका छन्, त्यसमा उसका बाबुजस्ता हजारौं मानिसहरुको अग्लो पहाडजस्तै चा¨ छ बलिदानको। यी बिक्नु र बिग्रनुमा रातो बाटो हिँड्ने र मर्नेहरुको कुनै दोष छैन । र, भनोस् –‘यो माटो फगत माटो मात्रै होइन, यो मेरो बाबु पनि हो ।’
बस् आफ्नो बाबुलाई जत्तिकै उसले ऊ उभिएको माटोलाई माया गरेको दिन म मेरा आँसुहरुमा आगो लगाउनेछु ।

(बिउँझँदा चिटचिट पसिना आइरहेको थियो । निधारभरि । थरथर कामिरहेको थियो शरीर । आँसु बग्न खाजेझैं भएका थिए आँखा । थकथक मानिरहेको थियो मन । उनी भर्खर गाउन थालेका थिए गीत । एक हरफ गाइनसक्दै बिउँझिएछु । त्यही सपनामै सही उनी गाइरहेका थिए माथि आकासतिर फर्किएर एकतमास छोरीको कपालमा हात चलाउँदै –‘हाँसी राखन माया बोलिराखन … ।’)
– See more at: http://setopati.com/sahityapati/2899/#sthash.xVPSBhMa.dpuf

कमेन्टहरु
Loading...