त्रिवि व्यवस्थापन संकायको पाँचवर्षे रणनीति तयारी अन्तरक्रिया

पोखरा, १७ असार/त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको पाँचवर्षे रणनीति तयारीका बारेमा आयोजित अन्तरक्रिया कार्यक्रम आइतबार पोखरामा सम्पन्न भयो । प्रमुख अतिथि त्रिवि उपकुलपति प्रा.डा. हिराबहादुर महर्जजले कार्यक्रमको उद्घाटन गर्दै “नेपालको जेठो विश्वविद्यालय त्रिविको समस्या सवैलाई थाहा छ तर समाधान कसैले गर्दैनन् तपाईंहरु तयार हुनुहोस् हामी काम गर्न प्रतिवद्ध छौं” कार्यक्रमका सहभागीहरुलाई संकेत गर्दै भन्नुभयो ।

विश्वविद्यालयले जागिर दिने होइन शिक्षा दिने हो, हामीलाई गाली गरेर मात्र समस्याको समाधान हुँदैन भन्नुभयो । महर्जजले देशको प्रशासनिक, शैक्षिक र व्यवस्थापन सबै क्षेत्रमा त्रिविकै जनशक्तिले काम गरिरहेको बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा प्रा.डा. गुणनिधि न्यौपाने, प्रा.डा. चन्द्रमणि पौडेल, प्रा.डा. पुष्कर वज्राचार्य, प्रा. विजयबहादुर सिलवाल, प्रा.डा. सन्तोषराज पौडेल, प्रा.डा. चिरञ्जीवी शर्मा प्रा.डा. चिन्तामणि पोखरेल, डा. रामचन्द्र ढकाल, नानीराम खत्री, रामप्रसाद चौधरी, केशवराज वास्तोलाले आआफ्नो धारणा राख्नु भएको थियो ।

वक्ताहरुले विश्वविद्यालयको एकीकृत योजना नहुँदा चाहेको सफलता प्राप्त गर्न कठिनाइ भएको, आर्थिक र शैक्षिक चुनौतीको सामना गर्न नसक्दा विश्वविद्यालय विखण्डनको अवस्थामा पुगेको, व्यवस्थापनको डिग्री दिने निकाय आफै अव्यवस्थित भएको गुनासो राखेका थिए । यद्यपि त्रिविको उत्पादन संसारभर खपत भएका छन् । मेडिसिन, इन्जिनियरिङ र फिजिक्सको माग वढी छ । कूल विद्यार्थीको २८ प्रतिशत व्यवस्थापन संकायमा अध्ययन गर्छन् । पाँच वर्षे रणनीतिले आगमी शैक्षिक कार्यक्रमलाई बलियो बनाउने कुरामा सहभागीहरुले धारणा राखेका थिए ।

कार्यक्रममा त्रिवि व्यवस्थापन संकाय केन्द्रीय विभागका प्रा.डा.पुष्कर वज्राचार्यले व्यवस्थापन संकायको पाँचवर्षे रणनीतिक योजना प्रस्तुत गर्नुभएको थियो । समुह गठन गरेर अन्तरक्रिया र छलफल गरेपछि आएको निचोड साथै सुझावलाई टोली प्रमुखले कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो । प्रा.डा.देवराज अधिकारीले प्राप्त प्रतिक्रियाको सम्बोधन गर्नु भएको थियो ।
पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख देवीलाल तिमिल्सिनाले दिनुभएको जानकारी अनुसार दोस्रो उच्च शिक्षा परियोजना कार्यन्वयन कार्यालय त्रिविको सहयोगमा व्यवस्थापन संकाय डीनको कार्यालय कीर्तिपुर काठमाडौंले कार्यक्रमको आयोजना गरेको थियो । व्यवस्थापन संकायका डीन प्रा.डा.देवराज अधिकारीको सभापतित्वमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा सहायक डीन धु्रवराज पोखरेलले स्वागतमन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अर्का सहायक डीन हरि दाहालले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...