ट्राफिक प्रहरीले सडकमै देखाए ‘गङनम स्टायल’ (भिडियोसहित)

१० जेठ, काठमाडौं । घामपानी, धुलो, हावाहुरी केही नभनी सडकमा दिनरात खटिने ट्राफिक प्रहरीलाई सितिमिती फुर्सदिलो देख्न मुश्किल पर्छ । जथाभावी गाडी चलाउने चालकलाई नियम सिकाउँदा सिकाउँदै उनीहरु हैरान हुन्छन् । हरबखत सवारीसाधनको गोठालो हुनुपर्ने ट्राफिक प्रहरीलाई रमाइलो गर्ने फुर्सद मिलाउन पनि गाह्रो हुन्छ ।

तर ‘सर्भिस विथ स्माइल’ भनेजस्तै ट्राफिक प्रहरीले ‘सर्भिस विथ डान्स’ को नयाँ प्रयोग शुरु गरेको छ । केही दिनअघि राजधानीको दरबारमार्गमा ट्राफिक प्रहरी नाच्दै सवारी साधनको व्यवस्थापनमा व्यस्त भएको दृश्य देखियो । महानगरीय ट्राफिक प्रहरी प्रभाव दरबारमार्गका प्रहरी निरीक्षक सिताराम हाछेथु तथा जवानहरु खेम बस्नेत र जनक चन्दले नाच्दै सवारी साधन व्यवस्थापन गरिरहेको दृश्य अहिले ‘यू-ट्युव’ समेत राखिएको छ । ‘यू-ट्युव’ मा ट्राफिक प्रहरी नाचेको देखेर सबै चकित परेका छन् ।

‘यसमा आश्चर्य मान्नुपर्ने कुरै छैन’ हाछेथुले अनलाइनखबरसित भन्नुभयो-’सडक प्रयोगकर्ता र ट्राफिक प्रहरी दुवैलाई मनोरञ्जन दिन तथा ट्राफिक जनचेतनाको लागि यसो गरिएको हो ।’ बाहिरी देशहरुमा समेत ट्राफिक प्रहरीले बेलाबेला सडकमा मनोरञ्जनात्मक कार्यक्रम गर्ने र यसले आपसी सम्बन्ध बढाउन सहयोग पुग्ने गरेको उहाँले बताउनुभयो । ’ट्राफिक प्रहरीलाई सधैं तनावमा हुन्छन्, सधैं रिसाइरहन्छन् भन्ने कतिलाई लाग्न सक्छ, तर उनीहरुले मनोरञ्जन पनि दिन सक्छन् भन्ने एउटा उदाहरण हो यो’ हाछेथुले भन्नुभयो-’मनोरञ्जन सहित ट्राफिक जनचेतना बढाउने हाम्रो अभियान हो ।’1

सडकमा उभिएर नाच्न अप्ठेरो लागेन भन्ने हाम्रो प्रश्नमा हाछेथुले भन्नुभयो-’सधैं हात हल्लाउने गरिरहन्थ्यौं, अलि बढी जिउ हल्लाएर कम्मर मर्काएको त हो नि, केही अप्ठेरो भएन ।’ आफूहरुले जिउ हल्लाउँदै ट्राफिक व्यवस्थापन गरेको देख्नेहरुले रमाइलो मानेको उहाँले बताउनुभयो ।यस्तैखाले ट्राफिक जनचेतना जगाउने भिडियो छिटै सार्वजनिक गर्ने ट्राफिक प्रहरीको तयारी छ ।

– See more at: http://www.onlinekhabar.com/2013/05/74269/#sthash.mLWDQLWI.dpuf

भिडियो हेर्नुस्

कमेन्टहरु
Loading...