पर्यटक दौडमा एक सय ३० सभागी

पोखरा, ३१ चैत /पोखराको फेवा किनार स्थित बसुन्धरा पार्कमा जारी दशौं फेवा नव वर्ष महोत्सव अन्तर्गत शनिवार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा हालसम्मकै सबैभन्दा बढी एक सय ३० पर्यटकले भाग लिएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराद्वारा आयोजित यसप्रकारको प्रतियोगितामा आयोजित प्रतियोगितामा यति धेरै पर्यटकले भाग लिएको पहिलो पटक भएको पर्यटक दौड प्रतियोगिताका संयोजक ज्याक तामाङले जानकारी दिनुभयो ।

स्थानीय खहरे चोकबाट तीन किलोमिटर दक्षिणको फिस्टेल गेटसम्म आयोजित पर्यटक दौड प्रतियोगितामा बेलायतका थोमसले प्रथम स्थान हासिल गर्नुभयो । रन फर फन अर्थात रमाइलोका लागि दौड नाम दिइएको प्रतियोगितामा पुरुष तर्फ प्रथम स्वीडेनका थोमस, अष्ट्रेलियाका माइकल द्वितीय र ब्राजिलका रोडरिगो तृतीय हुनुभयो । यसैगरी महिलातर्फको मुल्यांकनमा अमेरिकाकी ग्येल प्रथम, अष्ट्रेलियाकी जुली द्वितीय र हल्याण्डकी लुना तृतीय भए ।

प्रतियोगितामा प्रथम हुनेलाई बुद्ध एयर र यति एयरबाट पोखरा–काठमाडौं हवाई टिकट, ककटेल डिनर, साउना वाथको सुविधा पुरस्कारस्वरुप प्रदान गरिएको संघका सचिव गणेशराज पहारीले जानकारी दिनुभयो । यसैगरी द्वितीय हुनेलाई माउण्टेन भ्यू प्याराग्लाइडिङबाट ३० मिनेटको निशुल्क उडान, ककटेल डिनर र मसाजको सुविधा प्रदान गरिएको छ । तृतीय हुनेलाई ग्रिनलाइन टुर्स र माउण्टेन ओभरल्याण्ड ट्राभल्स एण्ड टुर्सबाट पोखरा–काठमाडौं वस टिकट र ककटेल डिनर सेवा प्रदान गरिएको छ । सहभागीलाई प्रमाणपत्र र एउटा निशुल्क टिसर्ट पनि प्रदान गरिएको थियो ।

यसैगरी महोत्सव अन्तर्गत वैशाख एक गते स्थानीय कलाकारहरुको एकल गायन प्रस्तुती, भजन चुड्का प्रतियोगिता, लोकदोहोरी गीत, कलाकार मिलन लामाको प्रस्तुती, लाइभ व्याण्ड प्रस्तुती, एड्रियन प्रधानको प्रस्तुती र फेसन सोका कार्यक्रम रहेको संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिनुभयो । यसअघि नयाँ वर्ष इभको अवसरमा चैत ३१ गते स्थानीय कलाकारको एकल गायन प्रस्तुती, भजन चुड्का प्रतियोगिता, लोक दोहोरी गीत, जोडी नृत्य प्रतियोगिता, अतिथि कलाकार शिव हमाल र कोमल वलीद्वारा गायन प्रस्तुती तथा हास्य व्यंग्यका कार्यक्रम समेटिएका छन् ।

लाइभ व्याण्डको प्रस्तुती, फेसन सो, नविन के भट्टराईको प्रस्तुती, नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण तथा आतिसबाजीको कार्यक्रम पनि समेटिएको महोत्सवका संयोजक विकल तुलाचनको जानकारी दिनुभयो । वैशाख दुई गते सम्म चल्ने महोत्सवका आन्तरिक पाहुनालाई लक्षित गरी संघले आवासमा ३० प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिनुभयो । महोत्सवमा १५ वटा खानाका स्टल र ४५ वटा अन्य विभिन्न खालका पर्यटन, कृषि, संस्कृति एवं व्यापारिक स्टलहरु रहेका छन् ।

कमेन्टहरु
Loading...