जेठ १० पोखरामा ११ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

पोखरा, ४ जेठ/ ११ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता यही जेठ १० र ११ गते पोखरामा हुने भएको छ । प्रतियोगिताको आयोजक संस्था कास्की जिल्ला तेक्वान्दो संघले जेठ ४ गते शनिबार पोखरामा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । नेपाल तेक्वान्दो संघको सहयोगमा हुने सो प्रतियोगिता सञ्चालन गर्न कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङको संयोजकत्वमा ४१ सदस्यीय मूल आयोजक समिति, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइरालाको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार तथा विभिन्न ११ वटा उपसमिति गठन गरिएको छ ।

जसअनुसार प्राथमिक उपचार उपसमितिको संयोजकमा डा. पदम खड्का (सेवा हस्पिटल), प्रवक्तामा कास्की जिल्ला तेक्वान्दो संघका सचिव प्रेमनारायण न्यौपाने, स्वयंसेवक व्यवस्थापन उपसमितिको संयोजकमा राजु श्रेष्ठ, खेलमैदान तथा मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा क्या. भूपालसिंह गुरुङ, सचिवालय व्यवस्थापन उपसमितिको संयोजकमा प्रेमनारायण न्यौपाने, क्षेत्रीय टीम तयारी उपसमितिको संयोजकमा राजु श्रेष्ठ, खाना तथा आवास व्यवस्थापन उपसमितिको संयोजकमा कुमार गुरुङ, अतिथि स्वागत तथा सत्कार उपसमितिको संयोजकमा योगेन्द्र बस्नेत, प्रचार–प्रसार उपसमितिको संयोजकमा राजन पौडेल, आर्थिक संकलन उपसमितिको संयोजकमा अर्जुन थापा, मनोरञ्जन व्यवस्थापन उपसमितिको संयोजकमा रत्नमान गुरुङ रहेका छन्।

प्रतियोगितामा महिलातर्फ ८ तथा पुरुषतर्फ ८ वटा गरी जम्मा १६ वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । २ दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा देशका पाँचै विकास क्षेत्र र तीन विभागीय टीमसहित ८ टीमका करिब १४४ महिला तथा पुरुष खेलाडी, प्रशिक्षक तथा निर्णायक गरी २२१ को सहभागिता रहने संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक जगन बहादुर गुरुङले जानकारी दिए । आयोजकले उनीहरू सबैलाई पृथ्वीचोक वरिपरि नै बसोबासको व्यवस्था मिलाएको छ ।

प्रतियोगितामा करिब १२ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता दुई वटा एरिनामा खेलाइने र विद्युतीय प्रणालीबाट जज गरिने छ । प्रतियोगिता पोखरा रंगशालाको बास्केटबल खेलमैदान, ब्याडमिन्टन कवर्ड हल र तेक्वान्दो हलमा सञ्चालन गरिने छ। सोही कार्यक्रममा वैशाख २३ र २४ गते रूपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको पश्चिमाञ्चल क्षेत्रीय छनौट खेलमा कास्कीले छ स्वर्ण, एक रजत र दुई काँस्यपदक जित्दै च्याम्पियन बन्न सफल भएको थियो भने काठमाडौंमा सम्पन्न निकोज दोस्रो राष्ट्रिय जुनियर तेक्वान्दो च्याम्पियनसीपमा तेस्रो स्थान प्राप्त गरेको थियो। दुवै प्रतियोगितामा मेडल जित्ने खेलाडीहरूलाई पनि खादा लगाएर सम्मान गरिएको प्रवक्ता प्रेमनारायण न्यौपानेले जानकारी दिए।

वि.सं. २०६४ साल असार २५ गते विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको संलग्नतामा गठन भएको कास्की जिल्ला तेक्वान्दो संघले सोही वर्षको मंसिर ८ देखि ११ गतेसम्म पोखरामै आठौं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गरेको थियो । गण्डकी अञ्चलकै एकमात्र शाखा कास्की जिल्ला तेक्वान्दो संघले विद्यालय तहदेखि नै तेक्वान्दो खेलको विकास र विस्तार गर्नुपर्छ भनेर विगत पाँच वर्षदेखि हरेक वर्ष जिल्लाका विभिन्न स्थानमा एक महिने निःशुल्क तेक्वान्दो प्रशिक्षण शिविर सञ्चालन गर्दै आएको छ ।

यस्तै पोखरा उपमहानगरपालिका तथा लेखनाथ नगरपालिकामा विभिन्न स्कुल र डोजाङ गरी १९ वटा डोजाङ सञ्चालन गरिरहेको छ । संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक जगन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अर्जुन थापा र सदस्य राजन पौडेलले पनि प्रतियोगितासम्बन्धी जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...