शिक्षक परीक्षाको नतिजा कात्तिकसम्म आउने

१२ जेठ, काठमाडौं । स्थायी शिक्षकको लागि भएको परीक्षाको नतिजा कात्तिकसम्म सार्वजनिक हुने भएको छ । शिक्षक सेवा आयोगका अनुसार परीक्षा सकिए लगत्तकै कापी परीक्षण गरी नतिजा सार्वजनिक गर्ने तयारी भएको हो । ‘कात्तिकसम्म लिखित परीक्षाको नतिजा सार्वजनिक गरी मौखिक परीक्षा पनि सम्पन्न भैसक्नेछ’ आयोगका प्रशासकीय प्रमुख खगेन्द्रप्रसादन नेपालले अनलाइनखबरसित भन्नुभयो ।

बिहीबारदेखि शुरु भएको लिखित परीक्षा शनिबार सम्पन्न भएको हो । माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा गरी कूल १३ हजार ५९ पदको लागि चारलाख ८० हजारभन्दा धेरैको आवेदन परेको छ । शिक्षक सेवा आयोग गठन भएपछिको पहिलोपटक शिक्षक छनोटको लागि परीक्षा भएको हो । यसअघि २०५२ सालमा जिल्लास्तरीय शिक्षक छनोट समितिले खुला प्रतियोगिताका लागि लिखित परीक्षा लिएको थियो ।

परीक्षा मर्यादित

विद्यार्थीलाई जाँचमा कडाई गर्ने शिक्षकले समेत परीक्षामा अमर्यादित काम गर्न सक्ने आयोगले आशंका गरेको थियो । जसअनुसार आयोगले परीक्षामा निकै कडाई पनि गर्यो । तर परीक्षा सोचेभन्दा पनि बढी मर्यादित र व्यवस्थित भएको आयोगले जनाएको छ । ‘परीक्षा निकै शान्तिपूर्ण रुपमा सम्पन्न भयो, शिक्षकहरुको परीक्षा भएकाले पनि यसो भएको हुनुपर्छ’ नेपालले भन्नुभयो ।

त्यसमाथि आयोगले प्रश्नपत्र पनि चोर्न र सार्न नमिल्ने गरी बनाएको थियो । आफैंले मौलिक र सृजनात्मक ढंगले लेख्नपर्ने प्रश्न आएकाले नक्कल गर्ने अवस्था पनि नभएको परीक्षार्थीले बताएका छन् । आयोगले परीक्षामा अनियमित काम गर्नेलाई ६ महिनासम्म कैद र एकलाख रुपैंयासम्म जरिवाना गर्ने नियम बनाएको थियो । परीक्षाहलमा पुस्तक, नोटकपी, चिट, मोवाईल फोन लगायतका प्रतिबन्धित सामग्री लगेको भेटिएमा त्यस्ता परीक्षार्थीलाई निष्कासन गर्न आयोगले सम्बन्धित परीक्षा समन्वय समितिलाई निर्देशन दिएको थियो । तर परीक्षा अनुशासित रुपमा सम्पन्न भएकाले यस्तो कार्वाही गर्न नपरेको आयोगले जनाएको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/05/74858/#sthash.68wcwqq7.dpuf

कमेन्टहरु
Loading...