माघ १७ गते मा ‘सुपर मुन’

काठमाडौँ, ३० पुुस /जनवरी ३१ अर्थात् माघ १७ गते नेपाली परम्पराअनुसार एक महिना चल्ने स्वस्थानी व्रतको समापन हुने माघ शुक्ल पूर्णिमा मात्रै नभएर खग्रास चन्द्र ग्रहण पनि लाग्ने छ । जीवनमा पटकपटक पूर्णिमाको रातमा पूरै चन्द्रमा कालो भएको खग्रास ग्रहण हामीले देखेका छौं ।

तर त्यस दिन चन्द्रमा अघिपछिको पूर्णिमाको रातभन्दा ठूलो आकारको हुनेछ । यस्तो चन्द्रमालाई पश्चिमा खगोलशास्त्रीले ‘सुपर मुन’ भन्ने गरेका छन् । आजको नागरीक दैनिकमा मणि दाहालले समाचार लेखेका छन् ।

अंग्रेजी पात्रोअनुसार महिनामा दुईपटक पूर्णिमा परे त्यसलाई पश्चिमा खगोलशास्त्रीले ‘ब्लु ब्लड मुन’ भन्दै आएका छन् ।
चन्द्र ग्रहण खगोल क्षेत्रमा नौलो नभए पनि ब्लु ब्लड मुनमा खग्रास चन्द्र ग्रहण भने डेढ शताब्दीपछि देखिन लागेको हो । यसअघि ‘ब्लु ब्लड मुन’ मा सन् १८६६ मार्च ३१ मा खग्रास चन्द्र ग्रहण लागेको थियो।

पूर्णिमाको दिन पृथ्वीको सबैभन्दा नजिक चन्द्रमा आयो भने त्यसलाई सुपर मुन भनिन्छ । चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँदा पर्ने पूर्णिमाको रात ‘माइक्रो मुन’ भन्दा चौध प्रतिशतसम्म ठूलो र तीस प्रतिशतसम्म उज्यालो हुन्छ । जनवरी १ अर्थात् पुस १७ गते स्वस्थानी सुरु हुने पूर्णिमाको दिन पनि ‘सुपर मुन’ थियो । अंग्रेजी पात्रोअनुसार दोस्रोपटक जनवरी ३१ अर्थात् माघ १७ गते सुपर मुन हुनेछ । चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न २७।३३२ दिन लाग्छ भने साढे २९ दिनमा पूर्णिमा पर्छ । चन्द्रग्रहण पूर्णिमाको रातमा लाग्छ।

माघ १७ गते नेपाली समयअनुसार साँझ ५ बजेर ३३ मिनेटमा चन्द्र ग्रहण सुरु हुनेछ । त्यस दिन नेपालमा ५ बजेर ३७ मिनेटमा चन्द्रमा उदाउनेछ । अर्थात् दक्षिण एसियाली क्षेत्रबाट देख्दा चन्द्रमा उदाउँदा नै ग्रहण सुरु भइसकेको हुनेछ । साँझ ६ बजेर ३६ मिनेटमा चन्द्रमा पूरै ढाकिने छ । यो क्रम १ घण्टा १६ मिनेटसम्म कायम रहने छ अर्थात् ७ बजेर ५२ मिनेटमा चन्द्र ग्रहण सकिनेछ । त्यसपछि विस्तारै ग्रहणले छाड्दै जानेछ । ८ बजेर ५६ मिनेटमा पूर्ण रुपमा चन्द्र ग्रहण सकिने छ । खग्रास ग्रहणको समयमा चन्द्रमा रातो देखिन्छ । तर ‘ब्लु ब्लड मुन’ भनेर भने पनि त्यस दिन चन्द्रमा निलो भने देखिने होइन । खग्रास चन्द्र ग्रहण हुँदा रङ रातो हुन्छ।

कमेन्टहरु
Loading...