स्ववियु पदाधिकारीहरुद्वारा उमेर हदबन्दीको विरोध

२५ चैत, काठमाडौं । राजधानीका क्याम्पसहरुका स्ववियु पदाधिकारीहरुले आगामी स्ववियु निर्वाचनको लागि तय गरिएको निर्वाचन प्रणाली र उमेरको हदबन्दीप्रति आपत्ति जनाएका छन् । राजधानीका ११ क्याम्पसका स्ववियु पदाधिकारीहरुले आइतबार पत्रकार सम्मेलन गरी उमेरको हदबन्दी लगाउन नहुने र प्रत्यक्ष निर्वाचन प्रणालीबाट पदाधिकारीहरुको निर्वाचन गराउनु पर्ने माग गरेका हुन । उनीहरुले निर्णय नसच्याए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी लिन समेत त्रिभुवन विश्वविद्यालयलाई चेतावनी दिएका छन् । त्यसैगरी सिनेटमा छलफल नै नगराई, औपचारिक रुपमा माईन्यूट समेत नगराई कुलपति र उपकुलपतिले एकतर्फी रुपमा निर्णय गरेको भन्दै उनीहरुले चर्को विरोध गरेका छन् ।

पत्रकार सम्मेलनमा पद्म कन्या क्याम्पसकी स्ववियु सभापति लालकुमारी पोखरेलले पाँच दिनभित्र आफूहरुको माग पुरा नगरे आन्दोलनमा जाने चेतावनी दिनुभयो । उहाँले अदालत जान समेत पछि नपर्ने बताउनु भयो । नेपाल ल क्याम्पसका सभापति गुणराज आचार्यले संगठनका नेतृत्वहरुले जथाभावी गरेको हस्ताक्षर सबैको लागि मान्य नहुने बताउनु भयो ।

कमेन्टहरु
Loading...