स्ववियु चुनाव होला कि नहोला कलेजमा तालाबन्दी

काठमाडौ, २ फागुन /त्रिभुवन विश्वविद्यालय आबद्ध क्याम्पसहरूमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदाताको सूची प्रकाशित गर्ने तयारी गरिरहेको बेला विप्लव निकट अनेरास्ववियु क्रान्तिकारीले ठूला क्याम्पसहरूमा तालाबन्दी गरेका छन् ।

पूर्ण समानुपातिक निर्वाचनको माग गर्दै स्ववियु निर्वाचन गर्न नदिने भनेर विरोधमा उत्रिएको क्रान्तिकारीले हिजो आइतबार मतदाता र संगठन दर्ता गर्ने प्रक्रिया शुरू हुनासाथ तालाबन्दी गरेको आजको नेपाल समाचारपत्रमा छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि तालाबन्दी गरेको छ ।

विद्यार्थी संगठनले क्याम्पस प्रमुख, प्रशासन, लेखालगायतका कार्यालयमा तालाबन्दी गरेको थियो। उमेर हद २८ वर्ष गर्न नहुने माग गर्दै नेवि संघ भित्र आन्तरिक कलहमा लागेका काठमाडौं जिल्लाका अध्यक्ष मनोज वैद्यले राजधानीका विभिन्न क्याम्पसमा लगाएको ताला नखोलेपछि विप्लव निकट विद्यार्थीले सोही स्थानमा तालाबन्दी गरेको हो।

नेवि संघले गरेको तालाबन्दी नखोलेपछि नै समस्या बढेको हो, निर्वाचन गर्ने सहमतिमा आए पनि नेवि संघको एक पक्षले तालाबन्दी गरेपछि समस्या झन् बल्झेको माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको ठम्याइ छ। क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले नेवि संघकै कारण केही क्याम्पसमा अप्ठ्यारो परेको बताउनुभयो।

‘तैपनि हामी एउटा क्याम्पसमै भए पनि निर्वाचन गरेरै छाड्नेछौं’ –उहाँको भनाइ थियो। ‘आठ वर्षपछि हुन लागेको स्ववियुको निर्वाचन प्रक्रिया शुरू भएपछि जुनसुकै हालतमा निर्वाचन गराएरै छाड्नेछौं’ –नेविसंघका अध्यक्ष नैनसिंह महरले भन्नुभयो।

‘हामी हाम्रा असन्तुष्ट विद्यार्थी नेतासँंग कुराकानी गर्दै छौं, केही बेरमै समस्या समाधान गरेर निर्वाचनको प्रकृयामा जानेछौं’– अध्यक्ष महरको भनाइ थियो। त्रिविले कुनै क्याम्पसमा निर्वाचन बिथोलियो भने अन्य क्याम्पसमा सुचारु गर्ने गरी कार्यविधि बनाएको छ। एउटा क्याम्पसमा निर्वाचन राकिए पुनः सारेर अर्को मितिमा गर्ने गरी व्यवस्था गरिएको छ। त्रिविका उपकुलपति प्राडा। तीर्थ खनियाले प्रकया शुरू भइसकेको अवस्थामा निर्वाचन रोक्ने विषयमा सोच्नै नसक्ने स्पष्ट पार्नुभयो।

कमेन्टहरु
Loading...