कास्की जिल्ला खेलकुद महोत्सव जारी

पोखरा, १० पुस/शारिरीक सुगठन–मिष्टर पोखराको उपाधि रंगशाला बुल्स जिमका अर्जुन गुरुङले जितेका छन् । त्यसैगरी बुल्स जिमकै विक्रम शाहीले रजत र पोखरा व्यायामका पदमबहादुर बडगामीले कास्य पदक जितेका छन् । उनीहरुले नगद क्रमश २०, १० र ५ हजार रुपियाँ प्रदान गरिएको छ । तौल समूहको प्रतिस्पर्धामा ५५ केजीमा गण्डकी बडिविल्डिङका मल्लादिन मियाँले स्वर्ण, सोही जिमका दिनेशबहादुर जोशीले रजत र रत्नश्री जिमका मनोज केसीले कास्य पदक जितेका छन् ।

त्यसैगरी ६० केजी तौल समूहको प्रतिस्पर्धामा बुल्स जिमका रन्जे गुरुङ, गण्डकी जिमका विकास खनाल र बुल्सका ईश्वर सुनामले स्वर्ण, रजत र कास्य पदक जिते । ६५ केजी तौलमा भने बुल्सका यमबहादुर गुरुङले स्वर्ण, पोखरा व्यायामका राजकुमार सुनारले रजत र बुल्सका पुर्णबहादुर बुढाथोकीले कास्य पदक जिते । ७० केजी तौल समूहमा पोखरा व्यायामका पदमबहादुर बडगामी, बुल्सका सुरज सेन र रत्न श्रीका दिल श्रेष्ठले पदक जितेका हुन् । ७५ केजीमा बुल्सका अर्जुन गुरुङले स्वर्ण, रत्न श्रीका क्षितिज खड्काले रजत र पोखरा व्यायामका मेघराज गुरुङले कास्य पदक जित्न सफल भए । ७५ केजी माथिको प्रतिस्पर्धामा भने वित्रम शाहीले स्वर्ण, रमेश श्रेष्ठले रजत र राजेश सुवालले कास्य पदक जिते ।

एथलेटिक्स–कास्की जिल्ला एथलेटिक्स संघ चार स्वर्ण सहित प्रथम भएको छ । यसैगरी तीन स्वर्ण जितेको फिस्टेल एकेडेमी दोस्रो र तीन गोल्ड एक कास्य जितेको सैनिक आवासिय विद्यालय तेस्रो भएको छ । कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालित दोस्रो बृहत खेलकुद महोत्सवमा एथलेटिक्स तर्फको प्रतिस्पर्धामा भने विमला चौधरीले ह्याट्रिक गरिन् । अघिल्लो दुई खेलमा दुई स्वर्ण जितेकी चौधरीले मंगलबार फाईनलमा दुई समय मिटर दौडमा स्वर्ण जित्दै ह्याट्रिक गरेकी हुन् । न्यु मिलेनियमकी सुस्मिता श्रेष्ठ दोस्रो हुदैं रजत र हेमजाकी पार्वती तिमिल्सिना कास्य पदक जितिन् ।
दुई सय मिटर पुरुष फाईनल कास्की जिल्ला एथलेटिक्स संघका विमल बस्नेतले स्वर्ण, नेपाल आदर्श आवासिय विद्यालय नविन थापाले रजत र सैनिक आवासिय उच्चमाविका जेम्स गुरुङले कास्य पदक जिते । लङजम्प पुरुष इभेण्टमा नेपाल आर्दशका कुमार गुरुङ, संघका विमल बस्नेत र हेमजा गाविसका अमृत कँुँवरले स्वर्ण रजत र कास्य पदक जित्न सफल भए । हाईजम्प पुरुष तर्फको प्रतिस्पर्धामा हेमजा गाविसका अमृत नेपालीले स्वर्ण, नेपाल आदर्शका कुमार गुरुङले रजत र हेमजा गाविसका अमृत कुँवरले कास्य पदक जिते । हाईजम्प महिला तर्फ फिस्टेल एकेडेमीकी सरस्वती चौधरी, कास्की मोर्डनाइज्डकी प्रतिक्षा गुरुङ र हेमजा गाविसकी कल्पना दवाडीले स्वण, रजत र कास्य पदक जित्न सफल भए । सटफुट महिला तर्फ फिस्टेल एकेडेमीकी हिरा केसीलाई स्वर्ण, फिस्टेल एकेडेमीकै सरस्वती चौधरीलाई रजत र मेरीगोल्ड उच्चमाविक आयुषा गुरुङलाई कास्य पदक प्राप्त भएको छ ।

टेनिस–पस्र्याङ टेनिस कोर्टमा सम्पन्न टेनिस प्रतियोगिता अनिल शाहीले स्वर्ण पदक जितेका छन् । शाहीले सुरज गुरुङलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । प्रान्जल कायस्य र शक्ति शर्मा संयुक्त रुपमा तृतीय भएका हुन् । विभिन्न खेलका विजेता खेलाडीहरुलाई विभिन्न व्यक्तित्वहरुले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

 

कमेन्टहरु
Loading...