सिक्लेसको पर्यटन विकास र सुरक्षाको लागि प्रहरीचौकीको स्थापना गर्नु पर्नेमा जोड

पोखरा, ३० मंसिर/सिक्लेसको पर्यटन विकास र सुरक्षाको प्रत्याभूतिका लागि प्रहरीचौकीको स्थापना गर्नु पर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । यूएसआईपीको सहयोगमा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराद्वारा आयोजित ग्रामीण पर्यटनको विकास र सुरक्षाको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले आन्तरिक र बाह्य पर्यटकको लागि सिक्लेस प्रसिद्ध भएकाले पर्यटन विकासलाई अझ व्यवस्थित बनाउन प्रभावकारी सुरक्षाको प्रत्याभूति हुनु पर्ने बताए । उनीहरुले ट्रेकिङ रुटलाई व्यवस्थित गर्नु पर्ने, पर्यटन पूर्वाधार विकासका लागि राज्य र सरोकारवाला निकायले पहल गर्नु पर्ने, विदेशी पर्यटकलाईट्रेकिङ गाइडको प्रभावकारी व्यवस्था हुनु पर्ने, स्थानीयस्तरमा पशुपालन र कृषि उत्पादनलाई विकास गर्नु पर्ने, शिक्षा स्वास्थ्य र मोटरबाटोलाई स्तरोन्नति गर्नु पर्नेमा जोड दिएका हुन् । त्यसैगरी उनीहरुले विगत पाँच वर्षदेखि गाविस सचिव गाविसमा नियमित नबस्दा जन्म दर्ता, मृत्यु दर्ता लगायतका कामका लागि पोखरा धाउनु परेको गुनासो गरे ।

कार्यक्रममा बोल्दै अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति पार्चेका अध्यक्ष मनबहादुर गुरुङले विकाससँगै विकृति आउने भएकाले स्थानीयबासी त्यसप्रति सचेत हुनु पर्नेमा जोड दिदै अपराधिक कृयाकलापमा संलग्न व्यक्ति आश्रयको लागि गाउँमा आउन सक्ने भएकाले पर्यटक, स्थानीयबासी सबैको सुरक्षाको प्रत्याभूतिका लागि प्रहरीचौकी अपरिहार्य भएको बताए ।

इन्सेक पश्चिमाञ्चल संयोजक शिव खकुरेलले कानुनी शासन र सुरक्षाको प्रत्याभूतिको लागि नागरिक र प्रहरी वीच सहकार्य हुनु पर्नेमा जोड दिदै सिक्लेसको पर्यटनको अवस्था, सुरक्षाको अवस्था र विकासको लागि भएका समस्याहरुको बारेमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताए । जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर सन्तोष रोकाले देश विदेशमा अपराध गरेर सिक्लेसमा लुक्न आउने, लुटपाट, दुर्घटना जस्ता घटनाको लागि तत्काल उद्धार गर्नको लागि सुरक्षा निकायको उपस्थिति आवश्यक भएको बताए । उनले राज्यको पहिलो आँखा प्रहरी भएकाले स्थानीयबासीको चासो र पहल भएमा सबैको पायक पर्ने ठाउँमा प्रहरीचौकी स्थापना गर्न सकिने धारणा व्यक्त गरे ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सिक्लेसका प्रशासन सहायक मधुप्रसाद बरालले एक्यापले सिक्लेसको पर्यटन विकास र सुरक्षाको बारेमा धेरैपटक छलफल भएको उल्लेख गर्दै पर्यटकको सुरक्षा, बन्यजन्तु, जडीबुटी चोरी शिकारी नियन्त्रणको लागि पनि प्रहरी चौकी स्थापना हुनु पर्ने बताए । सिक्लेस इलाका स्वास्थ्यचौकीका इञ्चार्ज सत्यराज साँखीले बाह्य तथा आन्तरिक अराजक गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको र उजुरीका लागि तत्काल पोखरा जान असम्भव भएकाले इलाकास्तरीय प्रहरीचौकी स्थापना हुनु पर्ने बताए । कार्यक्रममा स्थानीय शिक्षक शेखरनाथ तिवारी, स्थानीयबासी कुमबहादुर गुरुङ, गेहेन्द्र गुरुङ, लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...