श्रीमती हत्याको आरोपमा सैनिक पक्राउ

पोखरा, २५ मंसिर/महिला हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेकै बेला अछाममा महिला हिँसाका दुई वटा घटना सार्वजनिक भएका छन् । एउटा घटनामा श्रीमान्ले श्रीमतीको हत्या गरेको आरोप लागेको छ भने अर्को घटनामा विवाह गर्ने भन्दै भारतमा लगेर बेचेको भन्ने उल्लेख छ। दुवै घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय अछाममा किटानी जाहेरी दर्ता भएको प्रहरीले बताएको छ। 

श्रीमतीको हत्या आरोपमा अछाम सदरमुकाम मंगलसेन गाविस घर भई ज्वालादल गण सूर्यबिनायक भक्तपुरमा कार्यरत नेपाली सेनाका जवान ३२ वर्षीय झनक भाट पत्नी हत्याको आरोपमा पक्राउ परेका हुन। उनकी पत्नी २८ बर्षीया कोकिला भाटको मंसिर २० गते राति हत्या गरेको भन्दै माइती पक्षले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय अछामले पक्राउ गरेको हो।
घर बिदामा आएका भाटले आत्महत्या गरेको भन्ने पारेर पत्नीको हत्या गरेको आरोप लगाउँदै मृतकका दाजु राजाराम भाटले किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। कोकीलाका माईती पक्षले २१ गते नै प्रहरीमा ठाडो निवेदन दिएका आधारमा प्रहरीले उनलाई गिरफ्तार गरेर हिरासतमा राखेको छ। भाटले काठ्माण्डौमा अर्को बिहे गरेर राखेकाले पत्नीको हत्या गरेको माईती पक्षले दावी गरेका छन्।
मृतक भाट घाँटीमा पासो लगाएर सुत्ने खाट माथि पल्टिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। हत्या आरोपीले आत्महत्या गरेको थाहा पाएपछि बचाउने प्रयासमा आफैले डोरी काटेको प्रहरीसँग बयान दिएको बताईएको छ। मृतक भाटका दुई छोरा र दुई छोरी छन्। मृतककी जेठी छोरीले आमाबुबाबीच केही दिनदेखि झगडा हुने गरेको र सो रात पनि अबेरसम्म झगडा भएको प्रहरीसँगको बयानका क्रममा बताएको समाचार स्रोतले जानकारी दिएको छ।
त्यसैगरी, जिल्ला जिल्ला प्रहरी कार्यालय अछाममा विवाह गर्ने बहानामा भारत पुर्‍याएर बेचेको आरोपमा एक जना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ। अछामको नन्देगडा गाविस वडा नम्बर ५ की १७ वर्षीया निर्मला खत्रीलाई भारत लगेर बेचेको आरोपमा नवाठाना गाविसका २० वर्षीय मुकेश रावलका नाममा किटानी जाहेरी दर्ता गरिएको छ।

कमेन्टहरु
Loading...