उत्साहजनक सहभागिताका साथ सकियो फोटो प्रदर्शनी

पोखरा, २२ माघ/एनिमल राइट्स नेपालको आयोजनामा शनिबार लेखनाथमा सुरु भएको दुई दिने सिमसार फोटो प्रदर्शनी उत्साहजनक सहभागिताका साथ आइतबार सम्पन्न भएको छ । विश्व सिमसार दिवसको अवसरमा आयोजना गरिएकोे प्रदर्शनीमा फोटो पत्रकार कृष्णमणि बरालले खिचेका ६३ फोटोहरु राखिएका थियो ।

प्रदर्शनको अवालोकनका लागि लेखनाथ क्षेत्रका विद्यालय, आमासमूह, युवाक्लबबाट उत्साहजनक सहभागिता रहेको आयोजक संस्था एनिमल राइट्स नेपालका अध्यक्षसमेत रहेका कृष्णमणि बरालले बताए । लेखनाथ उद्योग वाणिज्य संघको हलमा आयोजित प्रदर्शनीको शनिबार पश्चिमाञ्चल क्षेत्रीय प्रशासक सुमनप्रसाद शर्माले उद्घाटन गरेका थिए । फोटो पत्रकार कृष्णमणि बरालले पछिल्लो १० वर्षयता सिमसारको बारेमा खिचेका ६३ तस्बिरहरु प्रर्दशनीमा राखिएको थियो ।

आइतबार फोटो अवलोकन गरेपछि लेखनाथ नगरपालिकाका कार्यकारी प्रमुख शिवप्रसाद रिजालले लेखनाथ क्षेत्रका तालको संरक्षणका लागि बेलैमा पहल नगर्ने हो भने केही वर्षमै नामेट हुने बताए । उनले भने, यसका लागि हामी नगरपालिका चिन्तित छ, तर स्थानीय र एकल प्रयासबाट मात्र यो सम्भव छैन । पूर्व सभाषद् एवं नेकपा एमालेका युवा नेता रविन्द्र अधिकारीले पोखरा उपत्यका सिमसारमा धनी भए पनि यसको संरक्षण हुन नसक्नु दुखदायी भएको प्रतिक्रिया दिए ।

गुरुयोजना बनाएर उपत्यकाको ताल संरक्षणका लागि अघि बढ्नुपर्ने उनले बताए । लेखनाथ क्षेत्रमा सात तालसंगै प्रशस्त सिमसार रहेको र पर्यावरणीय सन्तुलनका लागि यसको संरक्षणको आवश्यकता रहेकाले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । शनिबार बिदाको दिन परेकाले आइतबार विद्यार्थीहरुको उल्लेख्य सहभागिता थियो । कार्यक्रमको लागि पर्यटन बोर्ड, लेखनाथ नगरपालिका, लिबर्ड र लेखनाथ उद्योग वाणिज्य संघले सहयोग गरेका थिए ।

 

 

कमेन्टहरु
Loading...