सिमसार क्षेत्र संरक्षणमा चासो, फेवा ताल किनारमा वृक्षरोपण

पोखरा, १९ माघ /पोखरा उपमहानगरपालिकाको संयोजन र युएसएडको आर्थिक सहयोगमा हरियो वन कार्यक्रम, डब्लु डब्लु एफ नेपालमार्फत पोखराको फेवाताल किनारमा वृक्षरोपण गरिएको छ । ४०औं सिमसार दिवसको अवसरमा आइतबार वृक्षरोपण गरिएको हो । बाराही घाट वरपरको फेवाताल किनारमा ४ सय ७३ वटा बैंसका विरुवा रोपिएको हरियो वन कार्यक्रमका कार्यक्रम अधिकृत सिर्जना बरालले जानकारी दिइन् । बैंसका विरुवाहरु अर्घाखाँचीबाट ल्याइएको हो ।

फेवा ताल किनारमा वृक्षरोपण
फेवा ताल किनारमा वृक्षरोपण

वृक्षरोपणको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जल तथा ऊर्जा आयोग सचिवालयका सचिव डा. कृष्णचन्द्र पौडेलले गरेका हुन् । उक्त अवसरमा बोल्दै पौडेलले सिमसार क्षेत्रहरुको संरक्षणमा सवैले चासो देखाउनुपर्ने बताए । ‘पोखरा विश्वमै नुमना पर्यटकीय शहरका रुपमा परिचित भएकाले पनि यहाँका तालहरुको संरक्षणमा विशेष पहल गर्नुपर्ने छ’ उनले भने, ‘फेवाताल किनारमा गरिएको वृक्षरोपणले ताल संरक्षणमा टेवा पुग्ने विश्वास गर्न सकिन्छ ।’ पोखराको फेवातालसहित आसपासका तालहरुलाई समेटेर सिमसार क्षेत्र घोषणा गर्ने तयारी भइरहेको पौडेलले जानकारी दिए ।

हरियो वन कार्यक्रमका फिल्ड कोर्डिनेटर पूर्णबहादुर कुँवरले फेवा ताल किनारमा गरिएको वृक्षरोपणले पोखराको सुन्दरता र हरियाली प्रवद्र्धनमा सहयोग पुग्ने बताए । ‘अन्तर्राष्ट्रिय रुपमा महत्व राख्ने तालको संरक्षण गर्ने उद्देश्य अनुरुप वृक्षरोपण गरिएको हो’ उनले भने । वृक्षरोपण गरिएका विरुवाहरुको संरक्षणका लागि आफूहरुले पहल गर्ने प्रतिवद्धतासमेत कुँवरले व्यक्त गरेका छन् ।

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले फेवाताल संरक्षणका लागि जस्तोसुकै त्याग गर्न नगरपालिका तयार रहेको बताए । ‘फेवा ताल पोखराको गहना हो’ उनले भने, ‘तालको दीगो रुपमा संरक्षण गर्नका लागि विभिन्न योजनाहरु आवश्यक छ ।’

कमेन्टहरु
Loading...