राजमार्ग यौनमार्ग !

सन्तोष आचार्य / काठमाडौ, चैत्र २६ – पूर्वी नेपालको झापा र सीमावर्ती भारतीय सहर सिलिगुडी, बागडोगरा र दार्जीलिङबीच एउटा साइनो छ। त्यो साइनो हो, सःशुल्क प्रेमको। झापालाई कार्यक्षेत्र बनाएर देहसुख बिक्री गररिहेका मध्ये झन्डै चार प्रतिशत नेपाली महिला यौनकर्मी त्यही कामका लागि ती भारतीय सहर पुग्छन्। सम्बन्ध यस कारण दोहोरो छ, भारतकै ती सहरबाट बंगाली र नेपाली मूलका भारतीयहरू उही सेवा दिन झापा आउँछन्। ती सहरका बंगाली र नेपाली मूलका भारतीय पुरुषहरू झापा आएर नेपाली स्वाद लिन्छन् भने झापा पुगेका नेपाली भारत पुगेर नयाँपन अनुभव गर्छन्। तर, यो सन्दर्भ साइनो भन्दा पनि राजमार्गको हो।

झापाको काँकडभिट्टाबाट सुरु हुन्छ, पूर्व-पश्चिम राजमार्ग। झन्डै १ हजार २८ किलोमिटर लामो यो राजमार्ग सुदूरपश्चिमको कञ्चनपुरको गड्ढा चौकी पुगेर टुंगिन्छ। त्यसैले सशुल्क प्रेमको कथा पनि काँकडभिट्टाबाटै प्रारम्भ गरौँ। नेपाल-भारतको सीमा बजार काँकडभिट्टा उति साह्रो व्यापारकि सहर होइन। तर, भन्सार नाका र राजमार्गको प्रारम्भ विन्दु भएकाले यात्रु र सवारीसाधनको आवागमन बाक्लै छ। स्वाभाविक छ, यसले आर्थिक गतिविधि पनि बढाएको छ। राजमार्ग सुरु भएर पश्चिमतिर बढ्दै जाँदा आर्थिक गतिविधिसँगै देहसुख किनबेच समानान्तर रूपमा अघि बढ्छ।

पूर्व-पश्चिम राजमार्ग : यस राजमार्गको किनारमा रहेको धुलाबारी, चारआली, बिर्तामोड र दमकले आर्थिक उन्नतिमा छलाङ मात्रै मारेनन्,जैविक आवश्यकता र अर्थोपार्जनको उपयुक्त सूत्रका रूपमा यौन व्यवसाय पनि सुरु भयो। पछिल्लो समय सवारीसाधन र यात्रुहरूको चापसँगै राजमार्गका यी स्थानले सहजै नगरवधु उपलब्ध हुने उदार नगरको परचिय बनाएका छन्। तर, पैसासँग साटिने यौनकर्म नैतिक वा अनैतिक अथवा कानुनी वा गैरकानुनी भन्ने बहस नयाँ होइन। त्यसैले प्रहरी र यौनकर्मीबीच लुकामारी चालू छ। जस्तो : जीवनमार्ग पनि भनिएको राजमार्गका यी नगरमा देहसुख बिक्री गर्ने यौनकर्मी होऊन् वा यौन व्यवसाय सञ्चालक, उनीहरूको टाउको दुखाइ बनेका छन्। झापामा त प्रहरीको एउटा कर्म नै बनेको छ, होटल, रेस्टुराँ र फ्ल्याटहरूमा छापा मार्ने, यौनकर्मी र सञ्चालक समात्ने। यो बेग्लै कुरा हो कि कतिपय प्रहरीका लागि पनि यस्ता व्यवसायीसँग रकम असुल्ने माध्यम बनेको छ। यी नगरमा रहेका केही होटलले आफ्नो मुख्य स्रोत नै बनाएका छन्, यौन व्यवसायलाई।

होटल व्यवसायीका अनुसार तुलनात्मक रूपमा बिर्तामोड क्षेत्रमा यौन कारोबार उच्च छ। बिर्तामोडमा दुई सयभन्दा बढी होटल छन्। केही अपवाद छाडेर अधिकांश होटलको प्रयोजन यौन व्यवसाय नै हो। विशेषगरी जिल्लाबाहिरबाट आएका महिलालाई यस कार्यमा प्रयोग गरिएको छ। एक होटल व्यवसायी खुलमखुला भन्छन्, “भारतको सिलिगुडी र दार्जीलिङका महिला पनि यसका लागि झापा आउँछन्, यताका महिला पनि उता जान्छन्।”

झापामा प्रहरीले पक्राउ गरेका यौनकर्मीहरूको व्यथा बेग्लै छ। गत फागुनमा बिर्तामोडको कृषिथोक बजारनजिकैको एक होटलबाट पाँच यौनकर्मी पक्राउ परे। बिर्ताबजारको प्रहरी चौकीमा भेटिएका यी चेलीहरू रहर नभई बाध्यताले यो पेसा अँगालेको दाबी गर्छन्। सुरुंगाकी २१ वर्षीया यौनकर्मी सुनाउँछिन्, “बाबुआमा छैनन्, सानातिना काम धेरै गरियो, दुई छाक खान पनि पुगेन। केही सीप नचलेपछि यो पेसा अँगालेँ। बिना लगानी पैसा पनि कमाइने, खानलाउन पनि पुग्ने भएपछि मैले अरू काम किन गर्ने ?”

एकैछिन पूर्व-पश्चिम राजमार्गलाई छाडौँ र अघि बढौँ झापाकै भद्रपुर, इलामको फिक्कल बजार, फिदिमको फिदिम बजार र ताप्लेजुङ। यी सबै बजार मेची राजमार्गमा पर्छ, जुन झापाबाटै उत्तर-दक्षिण गएको छ। झापाको केचनाबाट सुरु हुने ३ सय ९१ किलोमिटरको यो राजमार्ग ताप्लेजुङको घरलिामा गएर टुंगिन्छ। यो राजमार्गको लम्बाइ कम हुनु र आर्थिक गतिविधि व्यापक नभएकाले हुन सक्छ, यहाँ यौन व्यवसायले ठूलो आकार लिइसकेको छैन।

एकपटक फेरि यौन व्यवसायले आकार लिइसकेको पूर्व-पश्चिम राजमार्ग नै फकार्ंै। झापाबाट अगाडि बढेपछि आइपुग्छ मोरङ। यो राजमार्गको आडमै छ, पूर्वी मोरङको व्यापारकि थलो, उर्लाबारी र पथरी। स्वाभाविक हो, व्यापारकि थलो भएपछि त्यहाँ यौन पनि सेवा प्रदायक व्यवसाय भइदिन्छ। उर्लाबारी र पथरीबाट अगाडि बढेपछि आउँछ, पूर्वाञ्चलकै चर्चित व्यापारकि केन्द्र इटहरी। विराटनगरबाट वसन्तपुर जोडिने कोसी राजमार्ग र पूर्व-पश्चिम राजमार्गको संगम रहेको इटहरी यौनकर्मी र यौन व्यवसाय चलाउनेहरूका लागि उर्वर थलो हो।

बढ्दो जनघनत्व र बढ्दो आर्थिक गतिविधिसँगै इटहरी क्षेत्रमा प्रहरीसमेतको मिलेमतोमा केही वर्षयता यौन व्यवसाय फस्टाएको छ। खासगरी बसपार्क क्षेत्र, पूर्व-पश्चिम राजमार्गको इटहरी चोकभन्दा पश्चिमी क्षेत्र अनि भित्री भागहरूमा यस्ता क्रियाकलाप बढेका छन्। स्थानीय पत्रकार याम प्रधानको बुझाइमा इटहरीमा खोलिएका कतिपय होटल, रेस्टुराँको उद्देश्य नै सशुल्क यौन सेवा हो। पूर्व-पश्चिम र कोसी राजमार्गको संगमस्थल रहेको इटहरीमा सशस्त्र द्वन्द्वका बेला पहाड अनि मधेस आन्दोलनताका अन्यत्रबाट सरेर आउनेको संख्या बढ्न गयो। यहाँ सुरुमा नगण्य संख्यामा रहेका होटलको संख्या पछिल्लो समय गनिसाध्य छैन। होटल तथा लज व्यवसायी संघ इटहरीका अध्यक्ष अनुरोध थापाका अनुसार इटहरीमा साढे तीन सयभन्दा बढी होटल, लज र रेस्टुराँ चलेका छन्।

इटहरी क्षेत्रमा विशेषगरी क्याबिन रेस्टुराँहरूमा हुने यस्तो धन्दाको स्थानीय आमा समूहहरूले विरोध गरेपछि प्रहरी उच्च नेतृत्वको निर्देशनमा छापा मार्ने  र पक्राउ गरी कारबाहीसमेत गरएिको थियो। कतिपय घटनामा प्रहरीले नै पूर्वसूचना दिने गरेको गुनासो स्थानीय आमा समूहका पदाधिकारीहरू बताउँछन्। केही हदसम्म प्रहरीले निगरानी बढाएपछि इटहरीका मुख्य स्थानबाट फैलिएर यो व्यवसाय खनार, दुहबी, पकली, धरान, इनरुवालगायत आसपासका साना-ठूला बजारसम्म पुगेको छ।

सामान्यतया यहाँका केही रेस्टुराँले दुईदेखि १२ जनासम्म युवती राखेर व्यवसाय चलाइरहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक खड्गप्रसाद पौडेलका अनुसार असोजदेखि फागुनसम्म जिल्लाका विभिन्न स्थानका होटल, लज तथा रेस्टुराँहरूबाट ५६ महिला र ५३ पुरुषलाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा चलाइएको छ। कतिपय स्थानमा पक्राउ परेकाहरूलाई उच्च प्रहरी अधिकृतकै निर्देशनमा कारबाही नगरी छाडिएका घटना निकै रहेको प्रहरी स्रोतकै दाबी छ। प्रहरी उपरीक्षक गणेशबहादुर थापा भन्छन्, “पछिल्लो समय रेस्टुराँ र लजहरूमा अनैतिक कार्य नियन्त्रण प्राथमिकताका साथ भइरहेको छ।”

प्रहरीले नियन्त्रणको अभियान के चलायो, राजमार्गका यौन व्यवसायीका तौरतरकिा पनि बदलिए। स्थानीयसँग सम्पर्कमा रहेर कोठा भाडामा लिने अनि राजधानीदेखि पोखरालगायत स्थानबाट युवतीहरू यहाँ आउने गर्छन्। युवतीहरू सामान्यतया एक सातासम्म बसेर ग्राहकलाई सन्तुष्ट र आफ्नो गोजी गरम पारेपछि र्फकन्छन्। केही प्रतिशत रकम स्थानीय सहयोगीले पाउँछन्।

इटहरी वृत्तान्तपछि एकैछिन पूर्व-पश्चिम राजमार्ग छाडेर लागौँ, कोसी राजमार्ग। इटहरीको उत्तर र दक्षिणसँग जोडिएको यो राजमार्ग विराटनगरको रानीबाट सुरु भई धनकुटाको हिलेसम्म पुग्छ। १ सय १२ किलोमिटर मात्र लम्बाइ रहेको यो राजमार्ग पनि यौन व्यवसायमा कहलिएको छ। विराटनगरका बजार र बसपार्क क्षेत्रमा रहेका कतिपय होटल देहसुख बिक्रीका लागि चर्चित छन्। विराटनगरबाट उत्तरतिर बढ्दै जाँदा धरान पुगिन्छ। यसै पनि धरान उदार छ, उत्तिकै रंगीन पनि। यसैले होला, धरानको बसपार्क क्षेत्र, सप्तरंगी पार्क, विजयपुरनजिकका जंगल क्षेत्रदेखि रमणीय भेडेटार र हिले पनि यौन पर्यटनका लागि नेपाली र भारतीय पुग्ने प्रमुख थलो हुन्। यी क्षेत्र तोङ्बा, सुकुटी र बंगुरका लागि जति प्रसिद्घ छन्, यौनकर्मीहरूले दिने सशुल्क सेवाका लागि पनि त्यत्ति नै।

कोसी राजमार्ग छाडेर फेरि पूर्व-पश्चिम राजमार्गको लहान पुगौँ। बढ्दो सहरीकरणसँगै सिराहाको लहान पनि यौन व्यवसायको प्रमुख थलो बनेको छ। व्यापारकि केन्द्रका रूपमा परिचित लहानमा सहरीकरणसँगै प्रहरी निकायलाई छक्याएर वा आर्थिक प्रलोभनमा पारेर देहसुख दिनेहरूको लर्को लामै छ। पूर्व-पश्चिम राजमार्गसँग जोडिएको लहानका अस्पताल चोकलगायत क्षेत्रका होटल, लज र रेस्टुराँहरूमा धनुषादेखि उदयपुरका विभिन्न स्थानलगायत झापासम्मका युवतीहरू यौन व्यवसायमा संलग्न छन्।

लहानको अस्पताल क्षेत्रमा सञ्चालित रेस्टुराँ र केही लजहरूमा यो व्यवसाय मौलाउन थालेपछि स्थानीयको गुनासो पनि बढ्यो। ६ महिनाअघि ती क्षेत्रमा प्रहरीले छापा मार्ने अभियान सञ्चालन गर्दा नौ महिलासहित २१ पुरुष पक्राउ परे। ती महिला धनुषादेखि झापासम्मका थिए। प्रहरीका अनुसार राजमार्गसँग जोडिएकाले पनि लुकीछिपी यौन व्यवसाय गर्न सजिलो छ। प्रहरी निरीक्षक ढकेन्द्र खतिवडा भन्छन्, “बिहान बस चढेर विभिन्न स्थानबाट आउने र साँझ र्फकनसमेत यातायातका साधन पर्याप्त पाइने हुँदा यौन सेवा दिने र लिने दुवैलाई सजिलो भएको हो।”

लहानबाट अगाडि बढेपछि राजमार्गसँगै जोडिएका सर्लाहीको लालबन्दी, हरविन, नवलपुर र राजमार्गदेखि भित्रको सदरमुकाम मलंगवा यौनकर्मीका प्रमुख बजार हुन्। स्थानीय गैरसरकारी संस्थाको तथ्यांक अनुसार घुमन्ते र नियमित गरी करबि एक हजार यौनकर्मी  सर्लाहीभरि क्रियाशील छन्। यौन व्यवसायमा संलग्नमध्ये अधिकांश लामो समय पति घरमा नबस्ने गृहिणीसमेत छन्।

पहिले जंगललाई सुरक्षित यौन सम्पर्कको थलो बनाउने यौनकर्मी केही वर्षदेखि लजमा सहजै व्यवसाय सञ्चालन गररिहेका छन्। पैसाको लोभ देखाई पुराना यौनकर्मीले नयाँलाई पेसामा तान्ने गर्छन्। यसमा २० देखि ५० वर्षसम्मका महिला सक्रिय छन्। सुरक्षित यौन सम्पर्कका लागि यौनकर्मीलाई चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने संस्थाका कर्मचारी अधिकांश यौनकर्मी मोजमस्तीका लागि व्यवसायमा लागेको पाइएको बताउँछन्। एक गैरसरकारी संस्थाका प्रतिनिधि नाम उल्लेख नगरिदिन आग्रह गर्दै भन्छन्, “गरिबीभन्दा पनि राम्रो मोबाइल, गहना, कपडा र खानपानकै लागि यौन व्यवसाय गर्ने धेरै छन्।”

केही यौनकर्मी महिला जग्गा जोडेको र बैंक ब्यालेन्स बढाएको बताउनसमेत हिचकिचाउँदैनन्। त्यसो त यौन व्यवसायमा महिलाको मात्र भूमिका छैन। होटल मिलाउने, यौनकर्मी मगाउने र ग्राहक खोज्ने भूमिकामा दलाल पनि सक्रिय छन्। केही होटल सञ्चालक पनि कमिसनमा ग्राहक खोज्ने काममा लागेका छन्। यौनकर्मीको बाक्लै संख्या सँगै जोडिएको पूर्वको वाग्मती र पश्चिमको पसाहा जंगलमा दाउरा र अन्य बहानामा पनि भेटिन्छ। उनीहरूले राजमार्गको जंगललाई सुरक्षित स्थानका रूपमा व्यवसायलाई निरन्तरता दिएका छन्।

हेटौँडा, बर्दिवासलगायत स्थानबाट मोबाइल यौनकर्मीहरूले राजमार्गमा रकम लिएर यौन व्यवसायमार्फत आफ्नो जीविकोपार्जन गर्दै आएका छन्। उनीहरूले एकपटकमा एक ग्राहकसँग सरदर दुई सयदेखि पाँच सय रुपियाँसम्म लिने गरेको बताउँछन्।

एचआईभी/एड्सविरुद्ध रौतहटमा क्रियाशील जनरल वेलफेयर प्रतिष्ठान, चन्द्रनिगाहपुरका अनुसार राजमार्गमा यौनकर्मीहरूको संख्या बढेको छ। रौतहटको पूर्व-पश्चिम राजमार्गस्थित धन्सार पुलदेखि वाग्मतीसम्मको बाटोमा बाहिरबाट आउने युवती तथा महिलाहरूले चालक तथा मोटरसाइकल यात्रुहरूलाई पनि यौन सुख बिक्री गररिहेका छन्। पाँच वर्षदेखि राजमार्गमा यौन व्यवसाय गर्दै आएकी एक यौनकर्मी, जो आफ्नो घर बर्दिवास बताउँछिन्, भन्छिन्, “अन्य पेसामा लाग्न पढेलेखेकी छैन, एक दिनमै दुई हजार रुपियाँसम्म कमाइ हुन्छ भने अरू काम किन गर्ने ?”

यही राजमार्गको ढल्केबर र पथलैया पनि अखडा हो। यसपछिको अर्को थलो हो, मकवानपुरको हेटाँैडा। विभिन्न राजमार्गको संगमस्थल हेटौँडामा यौनकर्मी महिला, दलाल र यौनतृप्तिको खोजीमा भौँतारनिे पुरुषका लागि सहज थलो पनि हो। अझ हेटौँडाबाट काठमाडाँै प्रवेश गर्ने वैकल्पिक मार्ग खुलेपछि कतिपयलाई काठमाडाँै र हेटौँडा दुवै सहरमा पेसा गर्न सहज भएको छ।

मकवानपुर जिल्ला प्रहरीका अनुसार यस क्षेत्रमा दुई सयभन्दा बढी यौनकर्मी महिला छन्। तिनीहरू एकै स्थानमा बस्दैनन्। “कहिले सुराकीका आधारमा र कहिले सुरक्षाको दृष्टिकोणले होटलहरूमा छापा मार्दा अन्य जिल्लाबाट आएका जोडी फेला पर्छन,” प्रहरी उपरीक्षक गुप्तबहादुर श्रेष्ठ भन्छन्, “यौनकर्मी महिलाहरूलाई सम्पर्कमा राखेर ग्राहकहरूलाई आवश्यक पर्दा उपलब्ध गराउने काम केही होटलले गरेको पाइयो।”

हेटौँडालाई छिचोलेर अघि बढेपछि चितवन आइपुग्छ। देशको ७६औँ जिल्ला भनिने चितवन पूर्व-पश्चिम राजमार्गको संगम थलो पनि हो। बृहत् आर्थिक कारोबार र यात्रु तथा सवारी साधनको बाक्लो चापले निकै व्यस्त चितवन पनि यौन मामलामा परिचित छ। धादिङको सीमा जोडिएको मौवा खोलादेखि हेटौँडासँग जोडिएको लोथरसम्म यौनकर्मी महिलाले केही छाप्रा र होटलमा व्यवसाय सञ्चालन गर्दै आएका छन्। पति विदेशमा भएका र श्रीमान्बाट यौनसन्तुष्टि प्राप्त गर्न नसक्दा कतिपय महिला यो व्यवसायमा लागेको पाइएको छ। उनीहरूका ग्राहक भने सवारी चालक, चालकका सहयोगी, सुरक्षाकर्मी, व्यवसायी आदि हुन्।

यहाँ नवलपरासी, तनहुँ र हेटौँडाबाट आएर निम्न र मध्यम वर्गीय परविारका महिलाहरू एकजुट भई पैसा कमाउने उद्देश्यले देह व्यापार गर्दै आएका छन्। सम्पन्न वर्गका केही महिला पनि यौनसन्तुष्टिका लागि यस्तो व्यवसायमा संलग्न देखिन्छन्। ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख कृष्णदत्त भट्ट भन्छन्, “यात्रु वा मालवाहक सवारीका चालक घरपरिवारबाट लामो समय टाढा हुन्छन्, त्यस्तो बेला यौन चाहना हुनु स्वाभाविक हो। यस्तो स्थितिमा कानुनी रूपमै सुरक्षित र व्यवस्थित यौन पार्लरको व्यवस्था भए सवारी दुर्घटनामा स्वाभाविक रूपमा कमी आउँछ।”

भरतपुरस्थित यौनकर्मी महिलाहरूका लागि कार्य गर्दै आएको सहभागी संस्थाका अनुसार अहिले यौनसन्तुष्टिका लागि यो पेसामा हामफालेका युवतीको संख्यामा वृद्धि भएको छ। डरलाग्दो पक्ष त के भने विद्यालय र कलेज पढ्नेहरूसमेत यसमा संलग्न देखिन्छन्। यस्तो प्रवृत्ति नारायणगढ बजारमा बढी छ। सहभागी संस्थाका प्रोजेक्ट कोर्डिनेटर युवराज सापकोटा भन्छन्, “पहिला महिलाहरू बिहान-बेलुकीको छाक जुटाउन बाध्यतावश यौन क्रियाकलापमा संलग्न हुन्थे। अहिले रहरले आउने किशोरीहरूको संख्या पनि उल्लेख्य देखिन्छ। मोबाइल फोनको सहज पहुँचले पनि यसमा काम गरेको छ।” यसैलाई व्यवसाय बनाएर लाग्नेमा २० देखि ३० वर्ष उमेरका महिला छन्। सापकोटा थप्छन्, “राजमार्गमा मात्र होइन, बजारमा समेत यौनकर्मी महिलाको संख्या बढ्दो छ। प्रहरीले बजार क्षेत्रका होटलमा कडाइ गरेपछि यौनकर्मी सौराहा निकुञ्ज क्षेत्रतिर सरेका छन्।”

झन्डै ६ वर्षअघि पूर्व-पश्चिम राजमार्गको आडैमा रूपन्देहीको देवदहमा मुलुकभरका यौनकर्मी महिलाको गोप्य भेला भयो। उनीहरूले कुनै स्थानलाई ‘रेड लाइट एरिया’ घोषणा गर्नुपर्ने र आफूहरूलाई यौनकर्मीको लाइसेन्स दिनुपर्ने माग गरे। त्यो मागको आलोचना पनि भयो। अहिले उनीहरूले त्यो माग छाडेका छन्। उनीहरूले पूर्व-पश्चिम र सिद्घार्थ राजमार्गको संगमस्थल एवं व्यापारकि थलो बुटवलका होटल वा फ्ल्याटमा ग्राहकलाई सन्तुष्ट बनाउँदै छन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी राजकुमार वैदवार भन्छन्, “बुटवल व्यापारकि तथा औद्योगिक नगरीसँगै यौन पर्यटनका लागि पनि परिचित हुँदै छ। यहाँ भारतको उत्तरप्रदेशसम्मका युवा आउँछन्।”

केही युवती पढाइ या रोजगारका सिलसिलामा बुटवल आउने, त्यसपछि खर्च जुटाउन सुरुमा एक-दुई जनासँग यौन सम्पर्क राख्ने र महत्त्वाकांक्षा बढ्दै जाँदा यौनकर्मीमै परिणत हुने प्रवृत्ति देखिएको छ। गत वर्ष इलाका प्रहरी कार्यालय बुटवलले छापा मार्दा प्रत्येकपटक अन्य क्षेत्रका युवकयुवती भेटिनुले पनि यसलाई पुष्टि गरेको छ।

पूर्व-पश्चिम राजमार्गमै पर्छ, गोरुसिङ्गे र चन्द्रौटा, जहाँ अन्यत्रबाट युवती ल्याइन्छ र देह व्यवसायमा लगाइन्छ। प्रहरीले छापा मार्न थालेपछि यो व्यवसाय केही सुस्ताए पनि ग्राहकले देहसुखको चाहना राखे होटल व्यवसायीले मोबाइलमा सम्पर्क गरी यौनकर्मी बोलाउँछन्। त्यसबापत होटल व्यवसायीले एक सयदेखि एक हजार रुपियाँसम्म लिन्छन्।

गोरुसिङ्गेमा महेन्द्रकोट, पत्थरकोट र वीरपुरलगायत ठाउँबाट युवतीहरू आउँछन् भने चन्द्रौटामा हल्लानगर, शिवपुर र शिवगढीबाट युवतीहरू बोलाइन्छन्। सुकुमबासी, दलित, घर गर्न नसकेर पति छाडेकाहरू यस्तो पेसामा लागेका छन्। इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेका निरीक्षक दीपक श्रेष्ठ भन्छन्, “होटलमा छापा मार्ने अभियान चलाएपछि यौन व्यवसायी अन्यत्र सररिहेका छन्।”

चन्द्रौटापछि राजमार्गमै पर्छन्, दाङ, बाँके र बर्दिया। यौनकर्मीहरूका क्षेत्रमा कार्यरत संस्था जिल्ला एड्स समन्वय समिति (ड्याक)ले गरेको अध्ययनमा, तीन जिल्लामा मात्र दुई हजार यौनकर्मी क्रियाशील छन्। अध्ययनका अनुसार बाँकेमा मात्र १ हजार २ सय हाराहारीमा यौनकर्मी छन्। सबैभन्दा धेरै नेपालगन्ज र कोहलपुरका होटलमा यौन व्यापार फस्टाएको छ। राजमार्गका अघैया, चपरगौडी, शमशेरगन्जमा पनि यौनकर्मीको बाक्लो गतिविधि छ। सीमावर्ती भारतीय बजार रुपैडिहा जाने यौनकर्मीको संख्या पनि त्यत्तिकै छ। रुपैडिहामा हुने यौन व्यवसाय गोप्य हुनुका साथै भारतीय ग्राहकबाट राम्रो कमाइ पनि हुने गरेको एक यौनकर्मी बताउँछिन्। भन्छिन्, “त्यहीँका होटलमा बस्छौँ। किनमेल गर्ने बहानामा धेरै आउँछन्।”

गत वर्ष ६ सय ७८ यौनकर्मी महिलाले यौनरोग तथा एचआईभी परीक्षण सेवा लिएको ड्याक, बाँकेले जनाएको छ। तीमध्ये अधिकांश अन्यत्र घर भई बाँकेका विभिन्न स्थानमा यौन व्यवसाय गर्दै आएका महिला हुन्। तिनमा १ सय ९६ अविवाहिता, ४ सय ११ विवाहिता र एकल महिला ७१ जना रहेको ड्याक संयोजक विकास शर्मा बताउँछन्। २५ देखि ३९ वर्ष उमेरका यौनकर्मी महिला धेरै छन्।

दाङमा साढे तीन सय र बर्दियामा सवा तीन सय यौनकर्मी रहेको उक्त संस्थाको दाबी छ। दाङको धानखोला, भालुबाङ र लमहीमा पनि यौन व्यवसाय फस्टाएको छ। धानखोलाका यौनकर्मीका सबैभन्दा बढी ग्राहक ट्रक चालकलगायत यातायात मजदुर हुन्। त्यस्तै, घोराही र तुलसीपुर बसपार्कमा ‘कल गर्ल’का रूपमा यौनकर्मी सक्रिय छन्। पूर्व-पश्चिम राजमार्गमा पर्ने बर्दियाको कतर्निया, भुरीगाउँ र आम्बासामा पनि यौन व्यवसाय हुँदै आएको छ। यौनकर्मीका अधिकांश ग्राहक लामो समयदेखि श्रीमतीसँग छुट्टिएर बसेका यातायात मजदुर, मजदुर, प्रहरी, सैनिक र कर्मचारीहरू रहने गरेका छन्। त्यस्तै, विपन्न, एकल, श्रीमान्बाट बेवास्ता गरिएका तथा वैदेशिक रोजगारमा गएकाका पत्नीहरू यौन व्यवसायमा लागेको पाइएको सुरक्षित यौन व्यवहारका क्षेत्रमा कार्यरत गणेश भट्ट बताउँछन्। भन्छन्, “विवाहिता, वैदेशिक रोजगारीमा गएकाका पत्नी, पढ्न बसेका युवतीहरू र अलपत्र परेका किशोरीहरू यस पेसामा बढी देखिन्छन्।”

‘कलगर्ल मार्केट’ : पूर्व-पश्चिम र उत्तर-दक्षिणको राजमार्गलाई जोड्ने संगमस्थल कैलालीको अत्तरिया बजार यौन व्यवसायको गतिलै थलो हो। पछिल्लो समय दक्षिणको भारत र उत्तरमा तिब्बततिर तस्करी गर्नेहरूको अखडा बन्दै गएको छ, अत्तरिया। स्थानीय पत्रकार कुमार जोशी भन्छन्, “बेरोजगारी र आर्थिक समस्याले राजमार्गको आडमा रहेको यो क्षेत्रमा यौन व्यवसायलाई मलजल गरेको छ। आर्थिक अभाव झेलिरहेका महिला तथा युवतीका लागि आयको सजिलो माध्यम यौन व्यवसाय हो।”

यौन व्यवसायको प्रवृत्तिले अत्तरियालाई ‘कलगर्ल मार्केट’को रूपमा स्थापित गर्न खोजिरहेको छ। उदाहरणका लागि, दलालले फोन गरेर यौनकर्मी बोलाइदिने सहज सुविधा छ यहाँ। अत्तरियामा स्थानीयभन्दा बाहिरका यौनकर्मीहरूबाट यो पेसा चलेको छ। तस्करले सुरक्षित मनोरञ्जन गर्ने अखडाका रूपमा समेत विकास हुँदै गएकाले यहाँ नेपालगन्ज, दाङ र सुर्खेतबाट समेत यौनकर्मी आइपुग्ने गरेका छन्। यसरी टाढाबाट आएका यौनकर्मीले कोठा भाडामा लिएरै आफ्नो पेसा चलाइहेका छन्।

पछिल्लोपटक परम्परागत यौन व्यवसाय गर्ने बादी समुदायका यौनकर्मीले समेत रोजगारका अन्य विकल्प नपाएपछि अत्तरियालाई नै सेल्टर बनाएका छन्। खासगरी कैलालीको मुडा बजारमा हुने यौन व्यवसायलाई स्थानीयले प्रतिबन्ध लगाएपछि यहाँका यौनकर्मीहरू अत्तरिया सरेका हुन्। धनगढी, महेन्द्रनगरलगायत विभिन्न स्थानबाट ग्राहकले आफँै यौनकर्मी ल्याएर देहसुख प्राप्त गररिहेका छन्। सानो बजारमा मान्छे चिनिने भएकाले धनगढी, महेन्द्रनगरका ग्राहकको बाक्लै उपस्थिति यहाँ देखिन्छ।

अन्यत्र पनि : पूर्व-पश्चिम राजमार्गपछि पृथ्वी, सिद्धार्थ र पोखरा-बाग्लुङ (भूपी) राजमार्गमा पनि देहसुखका चर्चित थलो हुन्। सीमावर्ती बेलहिया नाकाबाट सुरु हुने सिद्घार्थ राजमार्ग झन्डै १ सय ४७ किलोमिटर लामो छ। यो राजमार्गमा भैरहवाको बसपार्क र नयाँ चौराह क्षेत्र यौन व्यवसायका थलो हुन्। यसपछि अघि बढ्दै गएपछि आउने क्षेत्र बुटवल हो। बुटवलबाट अघि बढदै गएपछि पाल्पा जिल्ला छुन्छ, यो राजमार्गले।

मस्यामको केराबारी ट्रक चालकहरूको रसरंग अखडा मानिन्छ। आर्यभञ्ज्याङ पाल्पाकै पूर्व भेगको केन्द्र हो। मदनपोखराको वृन्दावन र तानसेनकै बर्तुङका केही होटल पनि यौन अड्डाका रूपमा चिनिन्थे। यी प्रहरीले दुई/तीन वर्षअघिसम्म दैनिकजसो यौन जोडी पक्रिने थलो हुन्। अझै पनि प्रहरी होटलमा यौन क्रियाकलाप हुँदैनन् भन्नेमा विश्वस्त छैन। पाल्पाका प्रहरी निरीक्षक सूर्यबहादुर चन्द भन्छन्, “राजमार्गका केही होटलमा अझै पनि शंकास्पद व्यवहार हुने खबर आउने गरेको छ। निर्मूल भएको छैन, हुन पनि सक्दो रहेनछ।”

पछिल्लो समय दोभानको झुम्सा र मस्यामको २४ माइल क्षेत्रमा खुलेका रसिोर्ट पनि दिउँसै यौनजन्य गतिविधि हुने थलोका रूपमा परिचित छन्। झुम्सामा गत वर्ष मात्र बुटवलका प्रतिष्ठित व्यवसायी यौनजन्य क्रियाकलाप गररिहेको अवस्थामा पक्राउ परेका थिए। जोरधाराका होटल व्यवसायी प्रेम श्रेष्ठ भने आफूहरूले थाहा पाएसम्म त्यस्ता होटल व्यवसायीलाई सचेत बनाउने र बदनामी हुने क्रियाकलाप नगर्न चेतावनी दिने गरेको बताउँछन्। उनका अनुसार त्यस्ता गतिविधि हुन नदिन होटल व्यवसायीहरूको समिति नै सक्रिय छ। राजमार्गको छेउछाउमा खोलिएका होटल र लजमा बढेको यौनधन्दा अहिले आसपासका गाउँमा समेत छिरेको छ।

०२८ सालमा सिद्धार्थ राजमार्ग निर्माण भएपछि बजार विस्तारसँगै लजमा यौनधन्दा बढ्दै गएको स्थानीयको आरोप छ। वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाका प्रहरी निरीक्षक प्रदीपकुमार डीसी भन्छन्, “लजहरूमा केही समयका लागि गफ गर्ने भन्दै कोठा माग्ने र पछि देह सन्तुष्टिमा लागेको पाइएको छ।” प्रहरीले दिउँसो पनि छापा मार्न थालेपछि यो कार्यमा कमी आएको छ। प्रहरीका अनुसार राजमार्गको स्याङ्जा खण्डका बयरघारी, वालिङ, गल्याङ, वायटारी र नौडाँडा बजार क्षेत्र पनि यो व्यवसायबाट मुक्त छैन।

पृथ्वी राजमार्ग : अब यहाँबाट पोखरा पुगाँै। पर्यटकीय नगरी पोखरा देह व्यापारका लागि चर्चित ठाउँ नै हो। भारतीयलगायत विदेशी तथा स्वदेशी पर्यटकको लर्को लाग्ने पोखरामा प्रहरीको सक्रियता केही बढेको छ। कास्की प्रहरी प्रमुख केदार रिजाल भन्छन्, “बजार क्षेत्रका होटलमा कडाइ हुन थालेपछि राजमार्गका विभिन्न होटल र रेस्टुराँले निकै संयमित र सुरक्षित भएर यो पेसा चलाएको देखिन्छ।”

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले गरेका पछिलो अध्ययन अनुसार ८० प्रतिशत यौनकर्मी महिलाले विभिन्न जिल्लाबाट पोखरा आई अस्थायी बसोवास गरेको देखिएको छ। नयाँ यौनकर्मीको संख्या ४७ प्रतिशत छ। ७२ किलोमिटर लामो भूपी राजमार्गको ४५ किलोमिटर खण्ड कास्की जिल्लामा पर्छ। त्यसमा धौलागिर र गण्डकीका विभिन्न स्थानमा छुट्ने पोखराको बाग्लुङ बसपार्क क्षेत्रका होटलमा प्रहरीले बेलाबेलामा छापा मार्दै आएको छ। त्यस क्रममा प्रहरीले यौनमा लिप्त जोडीलाई रंगेहात पक्राउ पनि गरेको छ। एसपी रिजाल भन्छन्, “अहिले फेदी, लुम्ले र काँडेतिर युवकयुवती जान थालेको सुनिएकाले त्यतातर्फ निगरानी बढाएका छौं।” भूपी राजमार्गमा ठूलो बजार विकास भइनसकेकाले यौनजन्य गतिविधि पनि कम हुने गरेको छ। भइहाले पनि त्यो व्यावसायिक नभई सहमतिमा हुने गर्छ। विशेष गरी उच्च तहका व्यक्ति यस्तो कार्यमा संलग्न रहेको प्रहरी स्रोतको भनाइ छ।

धादिङको नौबीसेबाट सुरु हुने झन्डै १ सय ७४ किलोमिटर लामो पृथ्वी राजमार्ग पोखराको पृथ्वीचोकमा गएर टुंगिन्छ। तनहुँको ७२ किलोमिटर खण्डमा आबुखैरेनी, डुम्रे, दमौली, खैरेनीटार र दुलेगौँडा बजारका केही होटलमा वयस्क जोडीले त्यस्ता गतिविधि गरे पनि व्यावसायिक यौनधन्दा अँगाल्ने संख्या कम भएको प्रहरीको दाबी छ। प्रहरी उपरीक्षक देवबहादुर बोहरा भन्छन्, “तनहुँमा यौनलाई पूर्णकालीन पेसाका रूपमा अघि बढाएको पाइएको छैन। यौनजन्य गतिविधि हुँदै नभएका भने होइनन्।”

पृथ्वी राजमार्गकै दुलेगौँडा र बेगनास लेकसाइडमा पछिल्लोपटक यौन व्यवसाय विस्तारति भएको कास्की प्रहरीको बुझाइ छ। जिल्लामा साना-ठूला गरेर करबि पाँच सय होटल रहेकामा राजमार्ग क्षेत्रमा मात्रै करबि दुई सय होटल रहेको क्षेत्रीय होटल संघ, तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठ बताउँछन्। आर्थिक अवस्था कमजोर रहेका, श्रीमान्ले छाडेका, साथीको संगतमा अनि कामको खोजीमा बजार झरेका तथा दलालको फन्दामा परेका १६ देखि ३० वर्ष उमेरका महिला यौन व्यवसायमा लागेको प्रहरीको भनाइ छ।

अरनिको राजमार्ग : यी राजमार्गहरू छाडेर राजधानी काठमाडौँ आऔँ। माइतीघरबाट सुरु हुन्छ, अरनिको राजमार्ग। झन्डै १ सय १३ किलोमिटर लम्बाइको यो राजमार्ग सिन्धुपाल्चोकको कोदारी पुगेर टंुगिन्छ। यो राजमार्ग पनि झन्डै झन्डै यौनमार्गजस्तै लाग्छ। काठमाडौँको नयाँ बानेश्वर, कोटेश्वर, जडीबुटी हुँदै भक्तपुरको नङखेल गाविसमा रहेका केही होटल तथा कटेजहरू यौन अखडा मानिन्छन्। पलाँसे हुँदै साँगा भञ्ज्याङसम्म खोलिएका केही होटल, कटेज यौनकर्मी र यौन क्रेताका संगमस्थल हुन्। स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू मिलेर बनाएको गाविस संयन्त्रले प्रहरी प्रशासनसँग पटक-पटक आग्रह गरे पनि यौनजन्य गतिविधि नियन्त्रण हुन सकेको छैन। काठमाडौँनजिकैको राजमार्ग भएकाले यातायातको सहज पहुँचका कारण काठमाडौँ, बनेपा र धुलिखेलबाट ‘रमाइलो’का लागि यहाँका होटल र कटेजहरूमा आउने क्रम उस्तै छ।

दलदलमा महिला : यौनकर्मीहरूको स्वास्थ्य सुरक्षामा काम गर्दै आएको जागृति महिला महासंघकी अध्यक्ष विजया ढकालको भनाइमा एकपटक पेसामा फसेपछि खुलेर समाजमा आउन नसक्ने, सरकारले आर्थिक सहयोग तथा अन्य वैकल्पिक रोजगारको व्यवस्था नगर्ने, समाजमा गरिने हेला तथा भेदभावजस्ता कारणले यौनकर्मीहरू पेसा छाड्न सक्दैनन्। स्वास्थ्य र भविष्य’bout सचेत नहुने अवस्थाले पेसा छाड्ने वातावरण छैन। उनीहरूलाई राज्यले पुनःस्थापनाको नीति तथा योजना ल्याउनु जरुरी छ।

सबै जसो राजमार्गका यौन व्यवसायका कथा लगभग उस्तै हुन्। यौनकर्मी महिलाहरू यसको दलदलबाट उम्किन सकेका छैनन्। राजमार्गमा किन यौन व्यवसायको बजार व्यापक भइरहेको छ ? जवाफमा समाजशास्त्री मृगेन्द्रबहादुर कार्की भन्छन्, “अहिले मूल्य, मान्यता र आदर्श परविर्तन भएको र समाज उपभोक्तावादले गाँजिएको हुनाले यौन बिनालगानी आम्दानीको पेसा बन्न पुगेको हो।”

(साथमा, कान्तिपुर जिल्ला ब्युरो आवरण तस्बिर : लक्ष्मीप्रसाद ङाखुसी)

तथ्यांकमा यौनकर्मी

–  राजमार्गलगायत देशमा झन्डै ३० हजार महिला यौनकर्मी रहेको अनुमान।

– यौन पेसामा संलग्न महिलाहरूको उमेर समूह औसतमा १६ देखि ३५ वर्ष।

– राजमार्गमा पेसा गररिहेका यौनकर्मीमध्ये ७० प्रतिशत बाहिरी जिल्लाका भने ३० प्रतिशत स्थानीय।

– यौनकर्मीको आम्दानी दाङमा सरदर मासिक ६ हजार ४८ रुपियाँ र कैलालीमा २ हजार ८ सय १६ रुपियाँ।

– चितवन, कैलाली, दाङमा देहसुख लिने ग्राहकको औसत उमेर २५ देखि ३४ सम्म रहेको छ भने यस्तो सेवा लिनेमा यात्रुवाहक र मालवाहक सवारी चालक छन् भने बाँकेमा यस्ता ग्राहक जागिरे छन्।

– चितवनका ४८ प्रतिशत यौनकर्मीहरू आफ्नो पतिकै साथमा बस्छन्।

– राजमार्गसँग जोडिएका तराईका २२ जिल्लामा गरिएको एक अध्ययन अनुसार यौनकर्मीहरूको वैवाहिक उमेर १५ देखि १९ वर्ष (५०.९)को छ।

– ७२.५ प्रतिशत यौनकर्मीले एक दिनमा एउटै ग्राहकलाई, २०.३ प्रतिशतले दुई जनालाई, ६.२ प्रतिशतले तीनदेखि चार जनासम्मलाई र एक प्रतिशतले चार जनाभन्दा बढीलाई सेवा दिन्छन्।

– उक्त अध्ययन अनुसार देह व्यवसायीसँग सेवा लिने सबैभन्दा बढी अर्थात् ५३.५ प्रतिशत व्यापारी, ५१.७ सुरक्षाकर्मी र ४८.२ प्रतिशत सवारी चालक र सहयोगी छन्।

– २२ जिल्लामा गरिएको अध्ययनले सबैभन्दा बढी ४७.३ प्रतिशत यौनकर्मीले एकपटकमा एक क्षणका लागि दुई सय रुपियाँ लिन्छन्। यस्ता यौनकर्मीमध्ये सबैभन्दा बढी ३१.३ प्रतिशत ज्यालादारी मजदुर छन्।

(महिला यौनकर्मीहरूमाथि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रलगायत संस्थाहरूले गरेका विभिन्न अध्ययनमा आधारति)

गुरुजीको चाहना पोख्ने ठाउँ

जसै राजमार्गको सन्दर्भ आउँछ, मालवाहक र यात्रुवाहक सवारी चालक र तिनका सहयोगीका कुरा पनि आइहाल्छ। जताजता राजमार्ग विस्तार हुँदै गए, सवारी चालकहरू गुरुजी कहलिए। लामो समय घरबाट हिँडेपछि एकोहोरो गाडी चलाइरहनुपर्ने भएकाले उनीहरूका लागि खाने, पिउने, आराम गर्ने र बास बस्ने थलोसँगै सुरु भयो, राजमार्गमा छाप्रा होटल खोल्ने क्रम। यसले स्थानीय बासिन्दालाई आर्थिक उपार्जनको बाटो पनि खोल्यो।

गुरुजीहरूको यौन सुखको चाहना पोख्ने ठाउँ यस्तै होटलहरू बन्न पुगे। यस्ता ठाउँमा यात्रुहरूको लर्को पनि लाग्न थालेपछि बाहिरबाट गएर पनि यस्ता छाप्रा/होटल खोल्ने क्रमले गति लियो। मुगलिनदेखि मलेखु, केरावारीदेखि आर्यभञ्ज्याङजस्ता बस्तीहरू यसैगरी विकसित भएका हुन्।

शुभलाभ अरूलाई नै

मादक मुस्कानसहितको अभिवादन। साथै बसेर उत्ताउलिँदै कुराकानी। जिस्कँदै खानेकुराको अर्डर टिपोट। अनि, खानेकुरा आएसँगै ग्राहकसँग ‘थ cp. ekantipur.com

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...