एसइई नतिजा बुधबार (भोली) सार्वजनीक हुने

काठमाडौं, १० असार / माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बुधबार (भोली) प्रकाशन गर्ने भएको छ ।

उत्तर पुस्तिका परीक्षण पछि सबै काम सम्पन्न गरी अन्तिम रुजु गर्ने कार्य भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

‘नतिजा प्रकाशनको तयारी अन्तिम चरण पुगेको छ । सम्भवतः बुधबार नै प्रकाशित हुनेछ । प्राविधिक पक्ष मिलाउन ढिलाइ भएमा बिहीबारसम्म नतिजा आउँछ’, कार्यालयका एक कर्मचारीले भने ।

नतिजा प्रकाशनका लागि आवश्यक तयारी अन्तिम अवस्थामा पुगेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए ।

परीक्षा नियन्त्रण कार्यालयले विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नतिजा थाहा पाउन सकिने जनाएको छ ।

२०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी थिए ।

कमेन्टहरु
Loading...