एसईईका प्रश्नपत्र आउट गर्ने १२ जनालाई आरोपपत्र दायर

काठमाडौं, २८ जेठ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एसईईका प्रश्नपत्र आउट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय, कल्याणपुर सिरहामा कार्यरत प्रहरी जवान दिपेन्द्र कुमार मण्डल समेत १२ जना उपर आरोप पत्र दायर गरिएको छ ।

२०७५ चैत १० गतेबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षाको अनिवार्य विज्ञान र सामाजिक अध्ययन लगायतका विषयहरूको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गरेको आरोप उनीहरु माथि छ ।

प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्यूरोको प्रतिवेदन सम्बन्धमा अनुसन्धान हुँदा ईलाका प्रहरी कार्यालय, कल्याणपुर सिरहामा कार्यरत प्रहरी जवान दिपेन्द्र कुमार मण्डल समेतले २०७५ सालको एसईई परीक्षाको प्रश्नपत्र अनधिकृत रूपमा निकाली परीक्षा सुरू हुने निर्धारित समय अगावै सार्वजनिक गरी गैरकानूनी लाभ पुर्‌याउने बदनियतले प्रश्नपत्रको गोपनियता भंग गरेको आरोप उनीहरुलाई रहेको अख्तियारका साहेक प्रवक्ता मदन कोइरालले जानकारी दिए ।

गोपनियता भंग गर्ने कार्यमा सहयोग गरेको र प्रश्नपत्रहरु प्राप्त गरी सुविधा समेत लिएको देखिई भ्रष्टाचार निवारण ऐन,२०५९ बमोजिमको कसुर गरेको पुष्टि हुन उनले बताए ।

उक्त कार्यमा संलग्न रहेका ईलाका प्रहरी कार्यालय, कल्याणपुर सिरहामा कार्यरत प्रहरी जवान दिपेन्द्र कुमार मण्डल, प्रहरी जवान ब्रम्हा देव सुनरैत, निमावि राहत दरवन्दी शिक्षक मनोज कुमार यादव र प्रतिबादीहरू अरोध यादव, विष्णुदेव यादव, राजेश कुमार यादव, श्रवण यादव र ईन्दल यादव र नाम नखुलाएका ४ जनालाई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको उनले बताए ।

कमेन्टहरु
Loading...