मन्त्रिपरिषद् बैठकः एसईईको आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

काठमाडौं, २८ जेठ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसईई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबको वर्षदेखि कक्षा १२ मा मात्रै परीक्षा लिन कानूनमा संशोधन गर्ने सहितको सिफारिस गरेको छ ।

मन्त्रालयले गठन गरेको सुझाव कार्यदलको प्रतिवेदन अनुसार आन्तरिक मूल्याङ्कन सहित विभिन्न तीन विकल्प दिइ बुधबार नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने तयार गरिएको जनाएको हो ।

प्रस्तावबारे मन्त्रिपरिषद्को बैठकले चाँडै निर्णय गर्ने छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा जवाफ दिने क्रममा माध्यमिक शिक्षा सहित विभिन्न तहका परीक्षाका बारेमा आएका तीन विकल्पमा गृहकार्य गरी सरकारले छिट्टै निर्णय गर्ने बताए ।

कोरोना रोकथाम र नियन्त्रणका लागि जारी बन्दाबन्दीका विषयमा सरकारले लिने नयाँ रणनीतिसँगै परीक्षाका विषयहरुमा निर्णय हुन लागेको हो। गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।

शिक्षा मन्त्रालयका प्रवक्ता एवं सुझाव कार्यदलका संयोजक दीपक शर्माले आफूहरुले आन्तरिक मूल्याङ्कन, प्रदेशगत रुपमा परीक्षा लिने वा विद्यमान कानुनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्पसहित प्रतिवेदन दिइएको जानकारी दिए ।

बोर्ड मातहतको कक्षा १० का परीक्षा नियन्त्रक तथा सुझाव कार्यदलका सदस्य रामराजा खकुरेलले कोरोना महामारीका कारण गत वर्षको एसइई परीक्षा पूर्वनिर्धारित केन्द्रहरुमा सञ्चालन गर्न सम्भव नहुने भएकाले सम्बन्धित विद्यालयले लिएको वार्षिक परीक्षाका आधारमा परीक्षा नियन्त्रण कार्यालयले ग्रेड निर्धारण गरी लब्धाङ्कपत्र दिने पहिलो विकल्प अघि सारिएको बताए ।

दोस्रो विकल्पमा प्रदेशगतरुपमा अलगअलग सम्बन्धित विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरी परीक्षा लिने र तेस्रो विकल्पका रुपमा शिक्षा ऐन (२०२८) को नवौँ संशोधनको दफा ४ को व्यवस्था हटाउने रहेको जानकारी दिए ।

कमेन्टहरु
Loading...