एक दिन विद्यालय आएर ६ महिनाको हाजिर !

१० जेठ, बझाङ । प्रधानाध्यापकलाई कुनै विद्यार्थीले पनि चिन्दैनन् । किनभने उनी विद्यालय नै आउँदैनन् । बल्लबल्ल ६/७ महिनामा एक दिन आउँछन् । पूरै हाजिर गर्छन् । अनि आफ्नो तलब लिएर जान्छन् । आफूविरुद्ध बोल्नेलाई हातखुट्टा भाँच्ने धम्की दिन्छन् । यसरी नै उनले दुईतिरको जागिर खाएको पाँच बर्ष भइसकेको छ ।

पाँच बर्षदेखि विद्यालय नगई नियमित तलब बुझिरहेका छन्, स्याँडी गाविसको केदार नमुना प्राविका प्रधानाध्यापक प्रकाश बोहराले । उनी भारतको पिथौरागढमा समेत काम गर्छन्, अधिकांश समय उतै बस्छन् । ६-७ महिनापछि आउँछन् र एकैदिनमा हाजिर गरेर तलब लिन्छन अनि भारत र्फकन्छन् ।

प्रअ बोहराका दाई नाता पर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल बोहरालाई प्रभावमा पारी उनले विद्यालय नआई तलब बुझ्ने गरेको अभिभावकले बताएको खबर नयाँ पत्रिकाले छापेको छ ।

गत असारदेखि भारतको पिथौरागढमा रहेका बोहरा विरुद्ध बोल्ने अभिभावकलाई उतैबाट फोन गरी हातखुट्टा भाँचिदिने धम्की दिने गरेको एक अभिभावकले बताए । उनले नाम उल्लेख नगर्ने सर्तमा भने ‘गाउँमा उसैको बोलबाला छ, कसैले विरोध गरे भने गाउँ छोड्नुपर्छ या त ज्यान जोखिममा हुन्छ ।’

विद्यालय व्यवस्थापन समिति र प्रअ बोहराको मिलोमतोमा जिल्ला शिक्षा कार्यालयबाट विभिन्न शीर्षकमा प्राप्त हुने रकम पनि हिनामिना गरेको अभिभावकले आरोप लगाएका छन् ।

कमेन्टहरु
Loading...