सेतीमा हाम फालेर महिलाले आत्महत्या गरिन्

सन्तोष पोखरेल, पोखरा, चैत २५ – सेती नदीमा हाम फालेर आज एक महिलाले आत्महत्या गरेकी छिन्। कास्कीको हंसपुर-६, घर भई पोखरा बस्दै आएकी २८ वर्षीया अम्बिका सुवेदीले आज बिहान तुलसीघाटस्थित पुलबाट सेती नदीमा हाम फालेकी थिइन्।

कास्कीका प्रहरी प्रवक्ता रविन्द्र पौडेलका अनुसार पुलबाट हाम फालेकी उनको घटनास्थलमै ज्यान गएको थियो। पुलबाट हाम फाल्दा सुवेदीको चप्पल पुलको जालीमै अड्केको थियो। मानसिक रोगको औषधी खाइरहेकी सुवेदीले आत्महत्या गर्नका लागि नै पुलबाट हाम फालेको परिवारले बताएको प्रवक्ता पौडेलले जानकारी दिए।

‘यसअघि पनि एकपटक हामफालेरै आत्महत्या गर्ने प्रयास गरेकी रहिछन्,’ उनले भने, ‘मानसिक असन्तुलनकै कारण आत्महत्या गरेको परिवारले बताएका छन्।’

 

कमेन्टहरु
Loading...