सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए

सर्लाही, ५ असार /सर्लाहीको लालबन्दीमा बिहीबार प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भिडन्त भएको छ ।

गोली हानाहान हुँदा विप्लव समूहका एक जनाको मृत्यु भएको छ । विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त हुँदा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकरी दिए ।

लालबन्दी नगरपालिका १ लखनदेवी खोलाछेउमा प्रहरी र विप्लव माओवादीबीच दोहोरो गोली हानाहान भएको उनले बताए । दुई वटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले प्रहरी माथि गोली चलाएपछि जवाफी कारबाही गरेको प्रहरीको भनाई छ ।

गोली लागेर मृत्यु भएका पौडेलको साथबाट एक थान सिक्सर रिभल्वर, थ्रीनट थ्री राइफलका गोली र कटुवा पेस्तोल बरामद भएको प्रहरीले बताएको छ ।

कमेन्टहरु
Loading...