दुवै मिर्गौला फेल भएका र क्यान्सर भएकालाई सरकारले मासिक ५ हजार दिने

काठमाडौं,  १३ पुस / दुवै मिर्गौला फेल भएका, क्यान्सर लागेका र पक्षघात भएका व्यक्तिलाई सरकारले मासिक पाँच हजार रुपैयाँ भत्ता दिने भएको छ । बिहिबार​​ बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको जीविकोपार्जनका लागि मासिक पाँच पाँच हजार रुपैयाँ दिने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । यस अघि सरकारले मिर्गौलाका विरामीलाई निशुल्क डायलासिस सेवा र क्यान्सर रोगीको उपचारका लागि एक लाख रुपैया आर्थिक सहायता दिने निर्णय गरेको थियो । यस्तै आजको मन्त्रीपरिषद बैठकले स्वास्थ्य सचिवमा पुष्पा चौधरीलाई नियुक्त गरेको छ ।

यस्तै, विवादमा तानिएको रानीपोखरीको पुनर्निर्माण प्रक्रियालाई पुरातत्व विभागको मापदण्ड अनुसार बनाउन निर्देशन पनि दिएको छ ।रानीपोखरीको पुनर्निर्माणमा काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयर बीचको विवाद सतहमा आएपछि बैठकले पुरातत्व विभागको मापदण्ड अनुसार बनाउन काठमाडौँ महानगरपालिकालाई निर्देशन दिएको हो ।यसैबीच बिहिबार​को बैठकलले सिटीइभिटीको ६ अर्ब ३० करोड सहायता ऋण र काठमाण्डौ विश्वविद्यालय अनुसन्धान विभागका लागि कोरिया सरकारको एक अर्ब चार करोड सहयोग स्विकार गर्ने निर्णय पनि गरेको अर्थमन्त्री कार्कीले जानकारी दिए ।

यसैगरी, दलहरुबीच पछिल्लो समय देखिएको गतिरोध प्याकजेमै सहमति गरेर अन्त्य हुने देखिएको छ । मन्त्रीपरिषदको बैठकमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा पनि छलफल भएको छ । आइतबार बस्ने मन्त्रीपरिषदको बैठकले सबै दलको सहमतिमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिए ।त्यस्तै, राष्ट्रियसभाको गठन सम्बन्धी अध्यादेश पनि सरकारको सिफारिस अनुसार नै जारी हुने सम्भावना देखिएको छ ।पछिल्लो समय राष्ट्रियसभाको गठन बहुमतीय कि एकल संक्रमणीय पद्धतिबाट गर्ने भन्ने विषयमा दलहरुबीच विवाद देखिएको छ ।

कमेन्टहरु
Loading...