सप्तरीमा तीन दिनदेखि बन्द यातायात खुल्यो

९ जेठ, काठमाडौं । सप्तरीमा पूर्व सभासद सदरुल मिया हकको हत्या बिरोधमा तीन दिनदेखि बन्द यातायात खुलेको छ । बिहीबार पौने पाँचबजेदेखि यातायात खुलेको हो । ‘शुक्रबार बिहान अन्तिम संस्कार गर्न लागिएकाले बन्द यातायात खुलाएका हौं’ प्रदर्शनकारीका अगुवा पूर्व सभासद विश्वेन्द्र पासवानले अनलाइनखबरसित भन्नुभयो-’माग पूर्णरुपमा सम्बोधन नभए शुक्रबार साँझ ६ बजेदेखि फेरि बन्द लगायतका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’

अन्तिम संस्कारका लागि टाढाटाढाबाट समते मानिस आउनुपर्ने भएकाले यातायात खुलाइएको पासवानले जानकारी दिनुभयो । सरकारले केही माग पूरा गरेपनि शहिद घोषणा लगायतका माग पूरा नगरेसम्म आन्दोलन कायम रहने उहाँको भनाई छ । हत्यारालाई पत्ता लगाएर कार्वाही गर्न माग गर्दै स्थानीय बासिन्दा र आफन्तहरुले मंगलबारदेखि सप्तरी र सुनसरीका बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । गाडी नचल्दा गन्तव्यका लागि हिँडेका यात्रु बीच बाटोमै अलपत्र परेका थिए ।

न्यायिक आयोग गठनसँगै गृहमन्त्री सप्तरीमा

आन्दोलनकारीको माग अनुसार सरकारले हत्याको छानवीन गर्न पूर्व न्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा उच्चस्तरीय न्यायिक जाँचबुझ समिति गठन गरेको छ । समितिमा महान्यायाधिवक्ता सूर्य कोइराला र अतिरिक्त प्रहरी महानिरीक्षक दिनकरशमशेर राणा रहनुभएको छ । एआईजी राणा यसअघि गृहमन्त्रालयद्वारा गठित छानविन समितिको संयोजकसमेत हुनुहुन्छ । यस्तै सरकारले मृतकका परिवारलाई १० लाख रुपैंया दिने निर्णय पनि गरेको छ ।

सरकारको यो निर्णय बोकेर गृहमन्त्री माधवप्रसाद घिमिरे सप्तरी कल्याणपुर जाँदै हुनुहुन्छ । प्रदर्शनकारीले गृहमन्त्री घटनास्थल नै आउनुपर्ने माग गरेअनुसार उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । ‘गृहमन्त्री आउने खबर पाएका छौं, हाम्रो माग पूरा भएमा आन्दोलनका सबै कार्यक्रम फिर्ता हुनेछन्’ पासवानले भन्नुभयो ।

छानबीन समितिमा मुस्लिम समुदायको प्रतिनिधित्व हुनुपर्ने, सुरक्षाको प्रत्याभूति दिनुपर्ने, मियालाई शहीद घोषणा गर्नुपर्ने उनीहरुको माग छ । माग पूरा नहुँदासम्म उनीहरु पछि नहट्ने अडानमा छन् ।

– See more at: http://www.onlinekhabar.com/2013/05/73788/#sthash.CNClU47J.dpuf

कमेन्टहरु
Loading...