पश्चिमाञ्चल स्तरिय आधारभुत पत्रकारिता तालिम विहिवारदेखि पोखरामा शुरु

पोखरा, १६ माघ सञ्चारिका समुह पश्चिमाञ्चलको आयोजनामा पश्चिमाञ्चल स्तरिय आधारभुत पत्रकारिता तालिम विहीबारदेखि पोखरामा शुरु भएको छ । कार्यक्रमकी संयोजक एवम् रेडियो जननीकी स्टेसन म्यानेजर बिमला भण्डारीले तालिमको उद्देश्यमाथि प्रकाश पार्र्दै पत्रकारिताको आधारभूत तालिम विना नै यस क्षेत्रमा प्रवेश गर्ने पत्रकारको निम्ति यो तालिम निकै प्रभावकारी सावित हुने बताउनुभयो । यस्तै पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रीविनोद प्रतिकले पत्रकारिता क्षेत्र एउटा सेवा प्रदायक क्षेत्र भएकाले यसमा दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

sancharika training
sancharika training

उहाँले पत्रकारिता गर्नु भनेको सकरात्मक विचार प्रदान गर्नुभएको बताउनुभयो । पत्रकारितामा कहिल्यै पनि नकरात्मक सोच राख्न नहुने उहाँको धारणा छ । उहाँले भन्नुभयो ‘पत्रकारिता क्षेत्रमा आर्थिक हिसावले समृद्धि हुने सोच राख्नुभन्दा पनि समाजको लागि पत्रकारिताको माध्यमबाट केही दिन सकु भनेर लाग्नु नै सच्चा पत्रकारिता हो ।’ यस्तै पत्रकार महासघं कास्कीकी केन्द्रीय सदस्य दुर्गा भण्डारीले पछिल्लो समयमा महिला स्तरीय सञ्चार माध्यमहरु धेरै खुल्ने क्रमसँगै यस क्षेत्रमा महिलाहरुको आकर्षण पनि बिस्तारै बढ्दै गइरहेको बताउनुभयो ।

१९ गते सम्म चल्ने उक्त तालिमको पहिलो दिन विहिवार पत्रकार भरत कोइरालाले आम सञ्चार र सञ्चारको विषयमा प्रशिक्षण दिनुभएको थियो भने , पत्रकार केशव लामिछानेले पत्रकारिताको अवधारणा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । यस्तै तालिमअन्तर्गत शुक्रबार पत्रकार इश्वरी न्यौपाने, पत्रकार रामकृष्ण ज्ञवाली लगाएतले तालिम दिनुहुनेछ । त्यस्तै शनिबार पत्रकार दिपेन्द्र श्रेष्ठ, पत्रकार गंगाधर पराजुली, पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिबिनोद प्रतीक लगायतले प्रशिक्षण दिनुहुनेछ भने आइतबार अर्थात तालिमको अन्तिम दिन पत्रकार दुर्गा भण्डारी लगायतले तालिम दिने आयोजकले जानकारी दिएको छ ।

तालिमका विषयहरुमा सुचनाको हक र आचारसंहिता, पत्रकारिता अनुभव, समाचार र समाचार लेखन, समाचार सम्पादन, रेडियो पत्रकारिता, अन्र्तवार्ता लगायतका रहेका छन् । तालिमको उद्घाटन सत्रको अध्यक्षता सञ्चारिका समुह पश्चिमाञ्चलकी अध्यक्ष बसन्ती बाँस्तोला तथा कार्यक्रम सञ्चालन जमुना शर्मा वर्षाले गर्नुभएको थियो । तालिममा पश्चिमाञ्चल क्षेत्रका २६ जना महिला पत्रकारको सहभागिता रहेको छ । तालिमको सहयोगी संस्थाको रुपमा पोखरा उपमहानगरपालिका कास्की र जिल्ला विकास समिति कास्की रहेका छन् ।

कमेन्टहरु
Loading...