चारदलिय अधिनायकवादी निर्वाचनबाट जनताको संविधान लेखिदैन ः नेपाली

पोखरा, ६ भाद्र / संघीय समाजवादी पार्टी नेपालका सचिव डिवी नेपालीले चारदलिय अधिनायकवादी निर्वाचनबाट बन्ने संविधानसभाले जनताको संंविधान नलेखिने बताउनुभएको छ । मुलुकको निकासका लागि पार्टीले प्रस्तुत गरेको पाँच बुँदे माग पुरा गराउन दवाव दिने उद्धेश्यले संघीय समाजवादी पार्टीले आयोजना गरेको तेश्रो चरणको आन्दोलन अन्र्तगत पोखरामा आयोजित विरोधसभामा बोल्नुहुदै सचिव नेपालीले चार दलिय सिण्डिकेटको अन्त्य, सर्वदलिय सर्वपक्षिय सम्मेलन, बाधा अड्काउ फुकाउको नाउँमा ल्याइएको ११ र २५ बुँदे सहमति खारेज, २०६४ सालको संविधानसभा निर्वाचनको अनुपातमा संविधानसभाको निर्वाचन लगायतका मागको कुनै सुनवाई नगरी असफल पुराना चारदलले मुलुकलाई असफलतातर्फ धकेलेको आरोप लगाउनुभयो ।
नेता नेपालीले संघीय समाजवादी पार्टी वार्ताको टेवलमा छ, पार्टीले प्रस्तुत गरेका माग सम्वोधन भए संविधानसभाको निर्वाचनमा जाने सम्बोधन नभए चारदलिय जालझेलका विरुद्ध आन्दोलनलाई सशक्त बनाउने बताउनुभयो । वार्ता सकरात्मक बने संघीय समाजवादी पार्टी निर्वाचनमा भाग लिइ जनताको साथी बन्दै जनधातीहरुलाई परास्त गर्ने उहाँको दावी थियो । युगौदेखिको विभेद, उत्पिडन मुक्तिका लागि जनतालाई पहिचान विरोधीलाई प्रतिवाद गर्ने नेपालीले विश्वास व्यक्त गर्नुभयो ।
पार्टीका कास्की अध्यक्ष दिपक तामाङले सर्वदलिय सहमतिबाटै मुलुकले निकास पाउने भए पनि चारदलले अन्यदललाई अपमान गरेर अघि बढ्न खोजेको आरोप लगाउनुहुदै चारदलिय सर्वसत्तावादका विरुद्ध उत्पिडित जनताको आन्दोलन संघीय समाजवादीले सशक्त बनाउने चेतावनी दिनुभयो । उहाँले उच्च स्तरिय समितिमा रहेका चारदल आफै मुलुकको निकासको मार्ग स्पष्ट नभएकाले सहमतिमा पुग्न नसकेको बताउनु भयो । अध्यक्ष तामाङले शान्तिपूर्ण आन्दोलन गर्न पाउने जनताको लोकतान्त्रिक अधिकारलाई कास्कीका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा र्यलीमा सहभागी जनतामाथि प्रहरी हस्तक्षेप हुनु दुखदायी हो भन्नुहुदै आफ्ना न्यायिक माग पुरा गराउन जुनकुनै अवरोधको प्रतिरोध गर्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा संघीय समाजवादी पार्टीका कास्की सचिव गिरीप्रसाद गुरुङ, अग्रगामी विद्यार्थी युनियनका केन्द्रीय सदस्य फरेन्द्र थापा मगर लगायतले पहिचानको पक्षमा, उत्पिडित जनताको मुक्ति र अधिकारका लागि संघर्षरत रहने बताउनुभयो । पोखरा चिप्लेढुंगास्थित मानवअधिकारचोकबाट शुरु भएको विरोध र्याली भिमसेनचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध स्वरुप कालो झण्डासहित नाराबाजी गर्दै शुरुभएको र्यालीमा प्रहरीले कालो झण्डा खोस्न हस्तक्षेप गरे पनि र्यालीमा सहभागीले प्रतिवाद गरेपछि प्रहरी पछि हटेको थियो ।

कमेन्टहरु
Loading...