आज शहीद दिवस !

पोखरा , १६ माघ /आज माघ १६ गते अर्थात शहीद दिवस ! प्रजातन्त्र स्थापनाका साथै विभिन्न कालखण्डमा देश र जनताको स्वतन्त्रताका लागि आफ्नो जीवन आहुति दिने शहीदहरुको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ ।स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डाैको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । उनिहरुकै सम्झनामा माघ १६ गतेलाई शहिद दिवसको रुपमा मनाउन थालिएको हो ।

अघिल्ला बर्षहरुमा माघ १६ गते सार्वजनिक बिदा दिएर नै शहिद दिवस मनाउने गरिएको भ​ए पनि यस बर्ष देखि भने संघिय सरकारले माघ १६ को सार्वजनिक बिदा कटौती गरेको छ ।यद्यपि, ३ नम्वर प्रदेशले भने आज आफ्नो प्रदेशमा सार्वजनिक बिदा घोषण गरेको छ । आज भोली जो सुकैलाई पनि शहिद घोषण गरेर बास्तबिक शहिदको अपमान गरिएको जन गुनासो बढ्न थालेको छ ।

देश र जनताका लागि माफी नमागी मर्न चाहने चार शहीदलाई पहिलो श्रेणीको शहीद मान्नुपर्ने धेरैको तर्क छ । विसं २०४६ को प्रजातन्त्र पुनस्र्थापनाको जनआन्दोलनमा शहादत प्राप्त गर्ने १९ जनालाई सरकारले शहीद घोषणा गरेको थियो । त्यस्तै २०६२/६३ सालको जनआन्दोलनका क्रममा मुलुकभर सहादत प्राप्त गरेका २६ जनालाई पनि शहीद घोषणा गरियो । विसं २०६२/६३ को जनआन्दोलनपछि सरकार पिच्छे विभिन्न आन्दोलन र घटनामा निधन भएका व्यक्तिलाई पनि शहीद घोषणा गरिदै आएको छ ।

विसं २०७४ माघ ३ गते विभिन्न आन्दोलनमा मारिएका १ सय​ ९० जनालाई शहीद घोषणा गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल सम्पूर्ण शहीदको तथ्याङ्क सूची सङ्कलन गरी स्पष्ट अभिलेख राख्न शुरु गरेको जनाएको छ । यद्यपि मन्त्रालयसँग हालसम्म कति शहीद घोषणा गरियो भन्नेबारे स्पष्ट जवाफ भने छैन ।सरकारले २०६७ असार ९ गते शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सिफारिशमा एक हजार ६ सय​ १९ जनालाई शहीद घोषणा गरेको थियो । त्यस्तै सरकारले २०६५ पुस ९ गते छ हजार ३ सय​ ४४ जनालाई शहीद घोषणा गरेको बताइए पनि त्यसको आधिकारिक तथ्याङ्क पाउन सकिएको छैन ।

साथै पटक पटकको तराई मधेश आन्दोलन र मुलुकभर भएका पहिचानका विभिन्न आन्दोलनमा मारिएका कति व्यक्तिलाई शहीद घोषणा गरियो भन्ने यकिन तथ्याङ्क भेटिँदैन । मुलुकमा पछिल्लो पटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा ठेस पुगेको शहीद परिवारको गुनासो छ ।

नेपालको पहिलो शहीद लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाविरुद्ध प्रचारप्रसार गरेको आरोपमा विसं १९३३ फागुन २ गते गोरखाको मनकामना मन्दिर नजीकैको रूखमा झुण्ड्याएर मारिएको थियो । थापा तत्कालीन सैन्य पल्टनमा कार्यरत थिए । पछिल्लो समय शहीद घोषणा हुनेले राज्यबाट रु १० लाख पाउने गरेका छन् ।

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए !
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए !!
-कवी भुपी शेरचन ।
देश र जनताको लागि आफ्नो ज्यान आहुति दिने बास्तबिक महान शहिदहरु प्रति हाम्रो पनि हार्दिक श्रद्धा-सुमन !

कमेन्टहरु
Loading...