सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पौडेल सम्मानित

पोखरा, ३० भदौ / यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार प्रदीप पौडेल सम्मानित भएका छन् । सहारा क्लब पोखराको १४ औ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित समारोहमा पौडेललाई पश्चिम पृतनापति भिक्टरशमशेर जबराले पुरस्कार प्रदान गरे । पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँसहित ताम्रपत्र रहेको छ ।

पर्बतको ज्ञादी कटुवाचौपारी ३ का पौडेल एक दशकदेखि पोखरामा रही पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । उनी राष्ट्रिय तथा स्थानीय संचार माध्यममा कार्यरत रहेका छन् । पोखरालाई कर्मथलो बनाई कम्तिमा ३ वर्ष पत्रकारिता गरी कास्की जिल्लाको खेलकुद विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एकजनालाई क्लबले हरेक वर्ष पुरस्कार प्रदान गर्दैआएको छ ।

क्लबले यस वर्ष पुरस्कारको राशीमा बृद्धि गरेको हो । क्लबको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण समारोहमा पश्चिम पृतनापति भिक्टरशमशेर राणाले पोखराको खेलुकद विकासमा सहारा क्लब पोखराको आयोजना अतुलनीय रहेको बताए । पुरस्कार छनौट समितिका संयोजक वरिष्ठ पत्रकार नारायण कार्कीले पुरस्कृत ब्यक्तित्व पौडेलको परिचय दिएका थिए । पुरस्कृत ब्यक्तित्व प्रदीप पौडेलले पुरस्कारले आफूमा थप जिम्मेवारी थपेको बताए ।

कार्यक्रममा क्लब अध्यक्ष बिक्रम थकाली, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइराला, क्लब उपाध्यक्ष वीरभद्र आचार्य, महासचिव केशवबहादुर थापा लगायतले क्लब र पुरस्कारका बारेमा जानकारी दिएका थिए । सो अवसरमा क्लबले सदस्यहरुका एसएलसी उत्तीर्ण छोराछोरीहरु तथा आजीवन सदस्यता लिनेहरुलाई सम्मान गरेको थियो । यसैबीच, सवारी दुर्घटनामा ज्यान गुमाएका फुटबल खेलाडी सागर परियार र रञ्जन थापाका परिवारलाई राहत स्वरुप जनही १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

कमेन्टहरु
Loading...