सडक महोत्सवको आकर्षण ‘पोखरा साइडसिन’

पुस ५, मंसिर/ रेष्टुरेष्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले आयोजना गरेको ‘१४ औं पोखरा सडक महोत्सव’का अवसरमा हेलिकोप्टरबाट ‘पोखरा साइडसिन’को व्यवस्था मिलाइएको छ । त्रिपल ए (एएए) टुर्स एण्ड ट्राभल्स पोखराले सिम्रिक एयरको हेलिकोप्टरबाट पोखरा साइडसिनको व्यवस्था मिलाएको हो । रेवानसँग सहकार्य गरेर साइडसिनको व्यवस्था मिलाइएको त्रिपल ए पोखराका म्यानेजिङ डाइरेक्टर कृष्ण गिरीले जानकारी दिए ।पोखराको ‘क्वालिटी टुरिजम’लाई प्रवद्र्धन गर्न साइडसिनले मद्दत गर्ने उनको विश्वास छ । पुषको १३ देखि १७ गतेसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा महोत्सव सञ्चालन हुँदैछ । महोत्सवका अवसरमा साइडसिन गर्नका लागि ४० जनाले हेलिकोप्टर बुकिङ गरिसकेको गिरीले बताए । ‘पोखरा साइडसिन’ र ‘हेलि फन फ्लाइट’ गरी दुई प्याकेज सञ्चालन गरिने उनको भनाइ छ । शान्तिस्तुपा, पञ्चासे, नौंडाँडा, धम्पुस, काहुँखोला, हेम्जा, मणिपाल, काहुँ, सराङ्कोट, फेवाताल लगायत पोखराको दृश्यावलोकन हेलिकोप्टरबाट गर्न सकिने आयोजकको भनाइ छ । ६ हजार ७ सयमा १५ मिनेटसम्म साइडसिन गर्नसकिने आयोजकले जानकारी दिएको छ । हेलि फन फ्लाइट प्याकेजका लागि २८ सयमा साइडसिन गर्न सकिने भएको छ ।

त्रिपल एले गत वर्ष पनि सडक महोत्सवमा पोखरा साइडसिनको व्यवस्था गरेको थियो । गत वर्षको महोत्सवमा ४ सय भन्दा बढीले साइडसिन गरेको गिरीले बताए । हेलिकोप्टरबाट पोखरा साइडसिन गर्ने व्यवस्थाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने रेवानका अध्यक्ष गोपी भट्टराईले बताए । ‘सडकमै खाउँ, सडकमै रमाऔं’ भन्ने नाराका साथ रेवानले प्रत्येक वर्ष सडक महोत्सवका आयोजना गर्ने गरेको छ । रेवानले महोत्सवलाई सफल पार्न तयारी तिब्र पारेकोसमेत अध्यक्ष भट्टराईले बताए ।

महोत्सवको प्रचारप्रसारका लागि रेवान टोली काठमाडौं र चितवन पुगेर पोखरा फर्किसकेको छ । सडक महोत्सवको सफलता पोखराको प्रतिष्ठासँग जोडिएको हुँदा महोत्सव सफल पार्न आ–आफ्नो ठाउँबाट सवैले सहयोग गर्नुपर्ने उनको भनाइ छ । यस क्षेत्रको कला, सँस्कृति, भेषभुषाको जगेर्ना गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पोखरालाई चिनाउन महोत्सव सफल हुने उनले बताए । पाँचदिने सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव संयोजक भीमसेन भुजेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...