CAN

सडक मर्मत नभएकोमा स्थानीयको गुनासो

52

पौष २, पोखरा/कास्कीको सौर्यदेखि हंसपुर जोड्ने बाटो विगत कति वर्षदेखि मर्मत नभएको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका छन् । कास्कीको माझठाना गाबिसको सौर्यदेखि हंसपुर गाबिसको लिपेनीसम्म जोडिने उक्त मोटरबाटो वर्षनी पानीले खोल्ने र आवातजावातका लागि अप्ठ्यारो परेको स्थानीय बासिन्दा बताउँछन् ।
७ किलोमिटर लामो उक्त बाटो यात्रुहरुका लागि निकै जोखिमपूर्ण रहेको छ । मर्मतका लागि पटक–पटक लेखनाथ नगरपालिका र जिल्ला विकास समितिलाई अनुरोध गर्दा ठोस पहल नभएको स्थानीय लालमोहन तिवारीले बताए । ‘हामीले बारम्बार कुरा उठाएका छौं, आश्वासन त आएको छ, तर परिणाममुखी पहल भएको छैन” उनले भने । तिवारीका अनुसार स्थानीय बासिन्दाले पटक–पटक श्रमदान गरेर मर्मत गरे पनि त्यसले बाटोको गुणस्तरमा सुधार हुन सकेको छैन ।

तिवारीले थपें –‘स्थानीय स्तरमा मर्मत समिति त छ, तर त्यसले पनि ठोस पहल गर्न सकेको छैन ।” विगतले लामो समयदेखि यातायात संचालनमा रहेको उक्त बाटो मर्मत हुन नसक्दा कास्कीको उत्तरपूर्वी क्षेत्रका लाखौं जनता मारमा परेका छन् । अघिल्लो आर्थिक वर्षमा सडक मर्मतका लागि जिल्ला विकास समिति, कास्कीबाट १५ लाख बजेट बिनियोजन भए पनि स्थानीय समितिले काम गर्न नसक्दा रकम फ्रिज भएको थियो । ‘अघिल्लो वर्ष १५ लाख रुपैया छुट्टिएको थियो, तर समितिले समयमै काम गर्न नसकेकोले मर्मत हुन सकेन” स्थानीय प्रेम सुनारले भने ।