रोपाई महोत्सवका लागि तयारी तिब्र

पोखरा, २६ जेठ/आन्तरिक तथा बाह्य पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यका साथ पोखरामा आयोजना हुने लागेको ‘दशौँ असारे रोपाई महोत्सव’ को लागि तयारी तिब्र पारिएको छ । पोखरा पर्यटन परिषद्को आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघको सह–आयोजनामा असार १५ गते असारे महोत्सव हुँदैछ । हरेक वर्ष फरक–फरक ठाउँमा गरिदै आईएको महोत्सव यो पटक लेखनाथ नगरपालिका–९ बेगनासताल किनारमा गरिँदैछ । महोत्सवका लागि तिब्र रुपमा तयारी भईरहेको पोखरा पर्यटन परिषदका अध्यक्ष सुर्यबहादुर भूजेलले जानकारी दिए ।

उनका अनुसार महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति बनाईएको छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मुल नारा लिई आयोजना हुने लागेको महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न सघाउने महोत्सवका संयोजक चिरञ्जिवि पोखरेलले जानकारी दिए । ‘पोखरा र यसको वरिपरी भएका खेतीयोग्य जमिनलाई संरक्षण गर्दै लैजाने, कृषकहरुलाई आफ्नो पेशाप्रति उत्प्रेरित गर्नु पनि मेलाको उद्देश्य हो’ उनले भने, ‘यसले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न सघाएको हामीले महसुस गरेका छौ ।’ रोपाई महोत्सवमा सहभागि हुनका लागि विभिन्न देश विदेशबाट पनि पर्यटक आउन थालेकोले यसको प्रभावकारिता बढ्दै गएको पाईएको उनले बताए ।

‘हिलोमा एक पटक टेक्नु पर्छ है’ भन्ने भनाईलाई जिवन्तता दिने अभिप्रायले विगत १० वर्ष देखि असार १५ लाई रोपाई महोत्सवका रुपमा मनाउँदै आईरहेकोले यसलाई थप प्रवद्र्धन गर्न पनि महोत्सवले सघाउने परिषद्का कोषाध्यक्ष रामु गौतमले जानकारी दिए । ‘पछिल्लो समय अधिकांश युवा जनशक्तिको कृषि प्रणालि प्रति रुचि घट्दै गएको छ’ उनले भने, ‘यो महोत्सवले युवापंक्तिमा नयाँ सन्देश प्रवाहित गर्नेछ र उनीहरुलाई पनि कृषि क्षेत्रमा आउन प्रेरणा दिन्छ ।’ सरकारले पछिल्लो केही वर्ष यता उक्त दिनलाई धान दिवसका रुपमा मनाउँदै आएको छ ।

कमेन्टहरु
Loading...