एमालेसँग तालमेल गर्ने कुरा सभापतिको व्यक्तिगत मात्रै हो, पार्टीको होइनः पौडेल सुर्खेत

वैशाख १८ (सेतोपाटी) उपसभापति रामचन्द्र पौडेलले आगामी चुनावमा एमालेसँग सहकार्य गरेर जाने पार्टी सभापति शुसिल कोइरालाको भनाई उनको व्यक्तिगत मात्रै भएको बताएका छन् । नेपाल प्रेस युनियन सुर्खेतले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेसँग सहकार्य गर्ने कुरा सभापतिको व्यक्तिगत मात्रै भएको भन्दै पार्टीको आधिकारिक नभएको बताए ।
‘काँग्रेस एक्लै चुनाव लड्न तयार छ’ उनले भने, ‘सबै निर्वाचन क्षेत्रमा काँग्रेसका आफ्नै उमेद्वार हुन्छन् कसैसँग सहकार्य गर्न आवश्यक छैन ।’ उनले जनता अहिले काँग्रेसको पक्षमा रहेको भन्दै चुनावसँग डराउन आफ्ना नेताहरुलाई आग्रह समेत गरे । कांग्रेस सभापति सुशील कोइरालालगायतका नेताहरुले एमालेसँग चुनावी सहकार्य गरेर जाने बताइरहेका बेला उपसभापति पौडेलले यस विषयमा पार्टीमा कुनै सहमति नभएको दावी गरे ।

पौडेलले नेपाली जनताले अहिले चुनावमार्फत  संविधान चाहेको भन्दै खोक्रो क्रान्तिको कुरा गरेर चुनाव नभाड्न नेकपा–माओवादीलाई आग्रह पनि गरेका छन् ।  ‘वैद्यजीहरु हुन लागेको चुनाव भाड्न लागिरहनुभएको छ’ उनले भने, नेपाली जनताले अहिले तथागत क्रान्ति चाहेका छैनन्, त्यसैले तपाइहरु प्नि चुनावमा सहभागि बन्नुस् ।’ उनले चुनाव हुन नदिनेहरु जनताद्धारा आफै बढारिने समेत चेतावनी दिए ।

अघिल्लो संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेस हारेकाले संविधान बन्न नसकेको भन्दै पौडेलले आगामी निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने दावी समेत गरे । उनले आगामी मंसिर पहिलो साताभित्र जसरी पनि निर्वाचन हुने बताए ।
उनले चुनाव केन्द्रीत भएर गाउँ गाउँ पस्न जिल्ला तहका नेताहरुलाई निर्देशन दिए । मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका कार्यकर्ताहरुको पहिचान गरी नाम दर्ता गराउन कार्यकर्ताहरुलाई सुझाव दिए । cp. setopati.com

कमेन्टहरु
Loading...