रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाः मौसम र व्यवस्थापकीय कमजोरी—प्रतिवेदन

फाइल तस्बिर

काठमाडौं, १२ असार /तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित उच्च पदस्थको निधन हुने गरी एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिले निष्कर्ष निकालेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्रीलाई बुझाइएको समितिको प्रतिवेदनले खराब मौसममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको उल्लेख गरिएको छ ।

पाथिभरा हेलिप्याडबाट उड्नेवित्तिकै हेलिकप्टर शक्तिशाली हावासँग जुधेको र हिमपात पनि भइरहेको प्रतिबेदनमा उल्लेख छ । यस्तो अवस्थामा पाइलटले परिस्थितिजन्य सावधानी गुमाए पछि दुर्घटना भएको उल्लेख गरेको छ ।

पाथिभरा क्षेत्रको मौसम खराब भएका कारण ताप्लेजुङ एयरपोर्ट समेत बन्द भएको थियो । विमानस्थलको भिजिबिलिटी नै २ किलोमिटर हुँदा टावर बन्द भएको हो । मौसम खराब भएकै कारणले पाइलटले हेलिकप्टर पुनः पाथिभरा हेलिप्याडमै लिन खोजेको हुन सक्ने समितिको आँकलन छ । हेलिकप्टर सिधै नउडी घुमेर हेलिप्याड नजिकै पुगेको समितिले जनाएको छ ।

दुर्घटनाको छानविन गर्न गठित समितिले उक्त हेलिकप्टर जमिन छाडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको निष्कर्ष निकालेको छ । दुर्घटनाको मुख्य कारणमा मौसमसँगै व्यवस्थापकीय कमजोरी रहेको समितिको ठहर छ ।

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारी सहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा फागुन १५ गते ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा तत्कालिन पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुब भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो।

कमेन्टहरु
Loading...