पोखरामा असार १ देखि २१ औं वसन्त पुष्प मेला

पोखरा, २८ जेठ /पोखराको बाटुलेचौरमा रहेको वसन्त नर्सरीले २१ औं वसन्त पुष्प मेला गर्ने भएको छ । २३ औं वर्ष प्रवेशको अवसरमा असार १ देखि ५ गतेसम्म वसन्त पुष्प मेला तथा बोटविरुवा सेल–२०७३ मेला हुन लागेको हो ।

नर्सरीले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी गएका वर्षमा जस्तै यस वर्ष पनि व्यावसायिक पुष्प खेतीको विकास र प्रवद्र्धनमा जोड दिँदै मेला गर्न लागेको जानकारी दियो । ‘गएका वर्षमा जस्तै यसपटक पनि मेला गर्न लागेका छौं,’ नर्सरीका अध्यक्ष वसन्त बानियाले भने, ‘मेलामा २ सय ५० भन्दा बढी फूलको प्रदर्शनी तथा विक्रीमा राखिनेछ ।’

पोखरामा असार १ देखि २१ औं वसन्त पुष्प मेला
पोखरामा असार १ देखि २१ औं वसन्त पुष्प मेला

मेलामा बुद्ध चित्त, रुद्राक्ष, पाउलोनिया, किबी फ्रुड, एभोकाडो लगायत मुख्य आकर्षणमा रहने मेला संयोजक नीलम बानिया ‘बडु’ले जानकारी दिइन् । रुद्राक्ष, २०५१ सालमा स्थापना भएको वसन्त नर्सरी व्यावसायिक फूल खेती गर्ने पहिलो नर्सरी हो । मेलामा झण्डै ७ लाखको कारोबार र ७ हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरेको अध्यक्ष बानियाले बताए ।१ हजार रुपैयाँभन्दा बढीको फूलका विरुवा किन्नेलाई मेलामा १ केजी जैविक सेवा मल उपहार स्वरुप प्रदान गर्ने तथा पुष्प व्यवसाय सम्बन्धी निशुल्क परामर्श दिने उनले जानकारी दिए ।

सिटिभिटिईबाट मान्यता प्राप्त गरी व्यावसायिक फूल खेतीको तालिम दिँदै आएका बानियाले पछिल्लो समय फूल खेतीमा आकर्षण बढेको बताए । बसन्त नर्सरीले पोखरा न्युरोडमा विक्री केन्द्र पनि सञ्चालन गरिरहेको छ । वसन्त नर्सरीमा काम गरेका ९ जनाले अहिले पोखरामा फूल खेती गरिरहेका छन् । अहिले ११ जनाले उनको नर्सरीमा रोजगारी पाएका छन् ।

कमेन्टहरु
Loading...