राहत वितरणमा पूर्व राजा ज्ञानेन्द्र शाहको 'संलग्नता नरहने'

हिमानी कोषले राहत वितरणमा पूर्व राजा ज्ञानेन्द्र शाहको संलग्नता नरहने बताएको छ । आज कैलालीको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी कोषकी सचिव विजया लक्ष्मी राणाले पूर्वराजा अभिभावकका रुपमा अभियानमा संलग्न रहेको बताईन । 
निर्वाचन आयोगले कुनै पनि राजनीतिक दल र संघसंस्थाले राहत वितरण गर्न नपाउने आचारसंहिता लागु गरेपछि पूर्वराजाले राहत वितरण गर्ने कार्यक्रम रद्द भएको हो भन्ने सञ्चारकर्मीको भनाई प्रति असहमति जनाईन ।
उनले कोषको राहत वितरण कार्यक्रम केही समयअघि नै तय भएकाले आचार संहितासँग कुनै सरोकार नरहेको बताईन । ‘हामीले पहिल्यै नै राहत कार्यक्रम अघि सारेका छौं । आचार संहिताले रोक्न मिल्दैन’ उनले भनिन्–‘एउटा व्यक्तिलाई दुःख पर्दा अर्को व्यक्तिले सहयोग गर्ने कार्य रोक्नुलाई के भन्नुहुन्छ तपाई आफै भन्नुस् ।’
पत्रकार सम्मेनलमा राहत वितरणका लागि पूर्वराजाले २५ लाख र अन्य विभिन्न व्यक्तिले गरी ३९ लाख रुपैया जमा भएको जानकारी दिईएको छ । ती अन्य व्यक्तिहरुले सनराईज बैंकमा कोषले सञ्चालन गरेको राहत खातामा रकम जमा गरेको बताईएको छ ।
कोषले लत्ता कपडा, भाँडाकुँडा र केही नगद रकम प्रदान गर्ने बताएको छ । कैलाली, कञ्चनपुर र दार्चुलाका जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध बाढी पीडितहरुको तथ्यांककै आधारमा राहत वितरण गरिने कोषकी सदस्य अर्चना शर्माले बताईन ।
पत्रकार सम्मेलन वितरित विज्ञप्तीमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र लेखिएको प्रति सञ्चारकर्मीले राखेको जिज्ञासामा शर्माले आफ्नो अभिभावकका नाताले सम्बोधन गरेको बताईन ।
उनले हरेकले आफ्ना अभिभावकलाई सम्बोधन गर्दा आफ्नो इच्छा लागेको शब्द उच्चारण गरे जसरी आफूहरुले त्यसरी सम्बोधन गरेको बताईन् ।
पत्रकार सम्मेलनमा पूर्वराजा ज्ञानेन्द्र, कोषकी अध्यक्ष पूर्व युवराज्ञी हिमानी लगायत राजपरिवारका कसैको पनि उपस्थिति रहेको थिएन ।
– See more at: http://setopati.com/raajneeti/2673/#sthash.wMZ7vbZN.dpuf

कमेन्टहरु
Loading...