प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम अनुमोदनमा अन्योल

सुनुवाई विशेष समितिको बैठक फेरि स्थगित

काठमाडौं, १३ साउन/संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम टुंगो लगाउन नसक्दा अन्योल बढेको छ ।प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा टुंगो लगाउन आईतबार​ बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक पनि निष्कर्षविहीन भएको छ ।सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्यहरुबीच एक मत हुन नसकेपछि बैठक सोमबार​ दिउँसो २ बजे पुनः बस्ने गरी स्थगित गरिएको हो ।

प्रधानन्यायाधीशमा प्रस्तावित जोशीमाथिको सुनुवाइ गत बिहीवार नै सकिए पनि समितिले उनको नाम अनुमोदन गर्ने नगर्नेबारे निर्णय लिन सकेको छैन ।उनको नाम अस्वीकृत गर्न समितिमा हाल कायम १५ सदस्यको दुई तिहाई सदस्यको समर्थन आवश्यक पर्छ ।शैक्षिक प्रमाणपत्र, सर्वोच्च सहित बिभिन्न अदालतमा रहँदा न्यायाधीशका रुपमा उनले गरेका फैसला समेत विवादमा तानिएपछि समिति सदस्यबीच नै मत बाँझिएको छ ।समितिमा सत्तारुढ नेकपाका ९ र संघीय समाजवादी फोरमका एक जना सदस्य छन् ।

जुन कुल सदस्य संख्याको दुई तिहाई हो । कांग्रेसका ४ र राजपाबाट एक जना सदस्य छन् ।संवैधानिक परिषद्ले गत जेठ २९ गते नै उनको नाम प्रधानन्यायाधीशमा सिफारिस गरे पनि सुरुमा समिति गठनमा भएको ढिलाई र पछि जोशीसम्बन्धी पछिल्ला समय बाहिर आएका तथ्यका कारण संसदीय समितिले निष्कर्ष सुनाउन नसकेको हो ।एनसेलको कर छली, सार्वजनिक गुठीको जग्गा व्यक्तिका नाममा पास गराएको, चुणामणि शर्मा प्रकरण, बिशाल बजार लगायत मुद्दाको फैसलामा जोशी प्रत्यक्ष संलग्न रहेको आरोप छ ।

कमेन्टहरु
Loading...