अवैध भैँसी र लागुऔषध बेचविखन गर्ने पाँचजना पक्राउ

पोखरा, 22 असोज /प्रहरीले अवैधानिक काममा संलग्न भएको आधारमा विभिन्न स्थानबाट पाँच जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएर आईतबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आईतबार एक प्रेश विज्ञप्ती जारी गर्दै अवैधानिक क्रियाकलापमा संलग्नहरुलाई सार्वजनिक गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार ४ जना एउटै आरोपमा पक्राउ परेका हुन् भने अर्का एक जना छुट्टै घटनामा संलग्न भएका कारण नियन्त्रणमा आएका हुन् । स्याङ्जाबाट पोखरातर्फ रातको समयमा अवैधानिक रुपले काटमारका लागी भैँसी सहित चार जना समातिएका हुन् भने अर्का एक जना भने लागुऔषधसहित नियन्त्रणमा आएका हुन् ।

भैँसी सहित शनिबार राति छोरेपाटनमा समातिनेहरुमा स्याङ्जा विरुवा अर्चलेका तिलबहादुर गुरुङ, सोहि ठाउँका मोहन राना, भिमबहादुर थापा र पुतलीबजार नगरपालिका राङखोलाका ईन्द्रजीत थापा रहेका छन् । उनीहरुले ध १ ख ३६२ नम्बरको मिनि ट्रकमा ६ वटा भैँसी अवैध रुपमा पोखरा भित्राउन लागेको प्रहरीको आरोप छ । प्रहरीले सबै भैँसीहरुलाई जिल्ला पशु सेवा कार्यालय कास्कीको जिम्मा लगाएको छ ।

त्यस्तै लागुऔषध विक्रि विरतण गर्ने भन्ने सुराकीको आधारमा प्रहरीले खोजतलाश गर्दा म्याग्दी शिखा घर भई हाल नदीपुरमा डेरा गरि बस्ने श्याम भन्ने रुकबहादुर तिलिजा पुनलाई नियन्त्रणमा लिएको हो । लागू औषध नियन्त्रण कानून कार्यान्वयन ईकाई कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनको
डेरामा छापा मारेको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार टोलीले पुनको डेरामा लुकाई छिपाई राखेको अवस्थामा नर्फिन ईन्जेक्सन ४१ थान, डाईजापाम ईन्जेक्सन ३२ थान, फेनरागन ईन्जेक्सन ४५ थान फेला पारेको छ । बरामद भएको लागुऔषध र लागुऔषधमा संलग्न पुन अहिले प्रहरी नियन्त्रणमा छन् । उनलाई लागुऔषध मुद्धामा अनुसन्धान कारवाही भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...