प्रहरी नियन्त्रणबाट छुटाउन पैसाको खेल

रेम बिक
पोखरा, १५ फागुन/प्रहरीले विभिन्न अपराधमा संलग्नहरुलाई समात्छ । प्रहरीको नियन्त्रणमा आउने व्यक्तिको आफन्त सकेसम्म आफ्नो मान्छेलाई प्रहरीबाट कसरी फुत्काउँ भन्ने योजनामा हुन्छन् । सकेसम्म आफ्नै बलबुताले प्रहरीलाई दबाब दिन्छन् होईन भने आफ्नो मान्छेलाई प्रहरी नियन्त्रणभन्दा बाहिर ल्याउन पैसाकै चलखेल पनि हुने गरेको छ । भनसुन र दबाबका आधारमा प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई बाहिर ल्याउनका लागी भन्दै कास्कीमा गिरोह नै संलग्न रहेर पैसा कमाउने खेलमा लागेको पाईएको छ ।
प्रहरीले यस्तै गिरोहमा संलग्न रहेर विभिन्न व्यक्तिहरुबाट रकम असुल गर्ने एक जनालाई आईतबार नियन्त्रणमा लिएको छ । मुद्धा मिलाईदिने भन्दै विभिन्न व्यक्तिहरुसंग मोटो रकम लिने गरेका बगरका ३७ वर्षिय रुद्रबहादुर लुईँटेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयकै आदेशअनुसारको ५ हजार रुपैँया धरौटी तिरेर हिरासत मुक्त भएका व्यक्तिहरुको केश आफुले मिलाएको भन्दै ती व्यक्तिहरुसंग लुईँटेलले जनही १५ हजार रुपैँया मागेका थिए । यद्यपी ती व्यक्तिहरुले भने केश आफै मिलाएको र पैसा दिन नसक्ने भन्दै तर्किएपछि लुँईटेलले धम्की दिएका थिए । धम्की पछि आत्तिएका तीन जना प्रतिबादीहरुले आफुहरुलाई केश मिलाएको भन्दै पैसा माग्ने लुँईटेलको विषयमा प्रहरीसमक्ष उजुरी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

‘यस्ता धेरै गिरोहहरु यहाँ सक्रिय रहेको भन्ने खबर हामीले पनि पटक पटक पाएका थियौँ र त्यसको खोजीमा पनि थियौँ ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले भने–‘लुँईटेल पनि त्यसैक्रममा समातिएका हुन् ।’ प्रहरीले दिएको जानकारी अनुसार लुँईटेल जसरी नै विभिन्न व्यक्तिहरुलाई आफुले मुद्धा मिलाईदिने र मुद्धा मिलाएको भन्दै पैसा असुल्ने समुह धेरै संख्यामा छन् ।

प्रहरी निकट स्रोतले दिएको जानकारी अनुसार यसरी मुद्धा मिलाईदिन्छु भन्ने गिरोहमा धेरैजसो प्रहरीसंग राम्रो चिनजान भएका हुन्छन् । प्रहरीसंगको उठबस देखेकै कारण विभिन्न अपराधिक क्रियाकलापमा परेर हिरासतमा रहेका व्यक्तिका आफन्तहरुले उनीहरुलाई पत्याउँछन् । र, चाँडै आफ्ना मानिसहरुलाई हिरासत मुक्त बनाउनका लागी पैसा दिन्छन् ।

मुद्धा मिलाईदिन्छु र मुद्धा मिलाएको भन्दै पैसाको डिमान्ड गर्ने गिरोहमा पहुँचवाला राजनीतिज्ञ, व्यवसायिक घरानाका व्यक्तिहरु, प्रशासनसंग निकट रहेका केहि संचारकर्मीहरु र सामाजिक क्षेत्रमा काम गर्ने पदाधिकारीहरु समेत रहेको बुझिएको छ । कतिपय घटनामा प्रहरीले समेत उनीहरुले भनेको आधारमा केहि मुद्धामा समातिएका व्यक्तिहरुलाई छोड्ने गरेको स्रोत बताउँछ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले भने कसैको मुद्धा मिलाईदिने आशा देखाउँदै पैसाको खेल गर्ने गिरोह कानुन विपरित भएको उल्लेख गर्दै यस्ता गिरोहलाई सक्रिय हुन नदिनका लागी आफुहरु एलर्ट भएको जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...