पोखरा अन्तराष्ट्रिय रुपमा पर्यटनको केन्द्र बन्न सक्छ

पोखरा, २१ असोज/ श्रीलंकाली होटल संघका अध्यक्ष अनुरा लोकुहेट्टि यतिबेला पोखरामा छन् । पश्चिमाञ्चल होटल संघको निमन्त्रणामा पोखरा आईपुगेका लोकुहेट्टिले शनिबार यहाँका होटल व्यवसायीहरुसंग छलफल समेत गरेका छन् । पश्चिमाञ्चल होटल संघले श्रीलंकाली होटल संघका अध्यक्षका लागी विशेष समारोहको आयोजना समेत गरेको थियो ।

समारोहमा बौल्दै श्रीलंकाली होटल संघका अध्यक्ष लोकुहेट्टिले पर्यटकिय हिसाबले पोखरामा धेरै संभावनाहरु रहेको बताएका छन् । पोखरालाई अन्तराष्ट्रियस्तरको पर्यटन केन्द्र बनाउन सकिने आधारहरु प्रशस्तै भएकोले यहाँका सरोकारवालाहरुले पोखरालाई अगाडी ल्याउनका लागी पुर्वाधार विकासमा ध्यान दिनुपर्ने उनले सुझाव समेत दिएका छन् ।

विदेशी पर्यटकहरुलाई पोखरामा आकर्षित गराउनका लागी स्थानिय उत्पादन, सँस्कृति र स्वादसंगै पर्यावरणिय विकासमा पनि ध्यान दिनु उत्तिकै आवश्यक रहेको उनले बताए । पोखरामा होटल व्यवसायीहरुको हस्पिटालिटि राम्रो भए पनि अन्तराष्ट्रिय स्तरको सेवा र शुल्क पनि लिनुपर्ने उनको भनाई थियो । ‘पोखरामा होटेलहरुले लिने कोठाको शुल्क निकै सस्तो भएकोले भाडाको मौजुदा दरलाई दोब्बर बनाउनुपर्ने देखिन्छ ।’ उनले भने–‘त्यसो गरेमात्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान सकिन्छ ।’अहिले नेपालले लुम्विनी भ्रमण वर्ष मनाएको बताउँदै उनले लुम्विनीको थप प्र्रचारप्रशार गरी अन्तर्राष्ट्रिय पर्यटकलाई नेपाल भित्र्याउन सकिने भनाई राखे । थुप्रै बौद्ध धर्मावलम्वीका लागि मात्र नभई अन्य पर्यटकका लागि समेत लुम्विनी आकर्षणको केन्द्र भएको उनको भनाई थियो ।

श्रीलंकाली होटल संघका अध्यक्षका अनुसार एउटा पर्यटकले १२ जनालाई रोजगारी दिईरहेको हुन्छ । हरेक वर्ष विश्वका विभिन्न ठाउँ घुम्ने पर्यटकहरु एउटै हुने भएकोले ठाउँ ठाउँमा गरेर एकै जनाले धेरै मानिसलाई रोजगार बनाएको उनले बताए । २०१६ सम्म श्रीलंकाले २५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बताउँदै उनले कुनै एउटा लक्ष्य राखेर नेपालले पनि पर्यटकीय गतिविधिलाई बजारिकरण गर्नुपर्नेमा जोड दिए ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विप्लव पौडेलले श्रीलंकाको पर्यटनबाट नेपालले पनि धेरै कुरा सिक्न सक्ने बताए । श्रीलंका नेपाल भन्दा लामो समय द्वन्दको अवस्थाबाट गुज्रेको बताउँदै उनले पर्यटनमा भने नेपाल भन्दा श्रीलंकाले राम्रो प्रगति गरेको स्मरण गराए । श्रीलंकामा केही समय पहिला भएको होटल संघ नेपालको अर्धवार्षिक साधरण सभाका अवसरमा होटल संघ श्रीलंकाका र नेपालका पर्यटन व्यवसायी विच सहकार्य गरेर अगाडि बढ्ने विषयमा चर्चा भएको समेत पौडेलले जानकारी गराए ।

कमेन्टहरु
Loading...