राष्ट्रिय नाटक महोत्सवमा १० र ११ गते ‘एन्टिगोनी’

पोखरा, १० चैत्र/पोखरामा आयोजित राष्ट्रिय नाटक महोत्सव २०७४ मा चैत्र १० गते शनिबार र ११ गते आइतबार नाटक एन्टिगोनी मञ्चन हुने भएको छ । प्राचिन ग्रीसेली नाटककार सोफोक्लिजद्धारा इशापूर्व ४४१ तका थेविजका नाटकहरु अन्र्तगत लेखिएको यो नाटक संसार प्रसिद्ध दुःखान्त नाटकहरुमध्येको एक अनुपम उदाहरण मानिन्छ । मण्डला थिएटर नेपालको प्रस्ुततीमा मञ्चन हुने नाटकको निर्देशन राजन खतिवडाले गर्दैछन् ।

नाटकमा सिर्जना सुब्बा, रञ्जना ओली, पुष्कर कार्की, विकाश जोशी, सोमनाथ खनाल, प्रदिपकुमार चौधरी, उमेश तामाङ, अनुजा अधिकारी, पशुपती राई, अनुप न्यौपाने, मिलन कार्की, विक्रम श्रेष्ठ, सुदिप खतिवडा, सागर दाहाल र सञ्जिव राईको अभिनय हेर्न पाइनेछ । नाटकको अनुवाद सोमनाथ खनाल र विक्रम परियारले गरेका हुन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा चैत्र ८ गतेबाट पोखरामा सुरु भएको राष्ट्रिय नाटक महोत्सवमा आमन्त्रित प्रस्ुततीको रुपमा एन्टिगोनी नाटक मञ्चन हुन लागेको हो । यो नाटक दिउँसो १ र साँझ ५ बजे मञ्चन हुनेछ ।
यसअघि चैत्र ८ र ९ गते आमन्त्रित प्रस्ुततीकै रुपमा नाटक थाङ्गला मञ्चन गरियो । पोखरा थिएटरको गन्र्धव नाटकघरमा नाटक हेर्न पुगेका दर्शकको एक्टर्स स्टुडियोको प्रस्तुतीको नाटक थाङ्गलाले ध्यान खिच्न सफल बन्यो ।

आलेख सरुभक्तको रहेको नाटकको परिकल्पना र निर्देशन अनुप बरालले गरेका थिए । अभिनय मार्फत प्रकाश घिमिरे, टिकाभक्त जिरेल, दीया मास्के, दर्पण राजबंशी, केशव राई, रोय श्रेष्ठ, स्वस्तिका राजभण्डारी, किरण चाम्लिङ राई, नमिता तामाङ, सुर्यमान लिम्बुले आफ्नो क्षमता देखाए । सुरज मल्ल, मनिष निरौला, अनोज पाण्डे, विना थापा, सञ्जिता, सवीर चुरौटे, प्रकाश दाहाल, शिशिर सिवाकोटी, सरोज श्रेष्ठ, प्रयास राई र आकाश अधिकारीको कोरसले नाटककको आर्कषण बढाएको थियो ।

चैत्र १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न ठाउँका १० नाटक मञ्चन गरिने कार्यक्रम संयोजक पुष्कर गुरुङले बताए । महोत्सवमा देशभरका रंगकर्मीलाई भेटघाट गर्ने अवसरसँगै नाट्य क्षेत्रमा भएका गतिविधिको बारेमा जान्ने अवसर पाउनेछन् । नाटक महोत्सवको स्थानिय व्यवस्थापन पोखरा थिएटरले गरेको छ । विश्व रंगमञ्च दिवसको अवसर पारेर नाटक महोत्सवको आयोजना गरिएकोले महोत्सवमा नाट्य क्षेत्रका बारेमा छलफल समेत हुने स्थानिय व्यवस्थापक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जनाए ।

महोत्सवमा चैत्र १२ गते दिउँसो १ बजे नेशनल आर्ट स्कुल पोखराको प्रस्ुततीमा सान्नानीको सन्ते राजा, दिउँसो ३ बजे युथ क्रियशन थिएटर पोखराको प्रस्तुतीमा भर्जिन कथा, साँझ ५ बजे राष्ट्रिय नाचघर काठमाण्डौको प्रस्ुततीमा एक चिहान, १३ गते दिउँसो १ बजे हिमाली साँस्कृतिक परिवार पोखराको प्रस्ुततीमा नारी शिक्षा, दिउँसो ३ बजे सद्भाव थिएटर काठमाण्डौको प्रस्ुततीमा चाँदिको घेरा, साँझ ५ बजे मञ्जरी नाट्य समुहको लमजुङको प्रस्ुततीमा पानिघट्ट र १४ गते दिउँसो १ बजे ओथेलो नाटक समुह पोखराको प्रस्तुतीमा जयगान, साँझ ५ बजे लोक सञ्चार जनकपुर तथा सिल्पी थिएटरको प्रस्ततीमा सखि नाटक मञ्चन हुनेछ ।

महोत्सवमा मञ्चन गरिने नाटक हेर्न विद्यार्थीको लागि एक सय र सर्वसाधरणका लागि तीन सय र पाँच सयको टिकट लाग्नेछ । महोत्सवको समापन भएपश्चात महोत्सवको बारेमा समिक्षा समेत हुनेछ । पोखरेली नाट्यपारखीलाई नाटक महोत्सवमा आएर नाटकको मज्जा लिन आयोजकको आग्रह छ । महोत्सवको आयोजनाले पोखराको नाट्य क्षेत्र थप गतिशिल बन्ने अपेक्षा समेत गरिएको छ ।

कमेन्टहरु
Loading...