पोखरा जुलोजिकल पार्क निर्माण समितिको अध्ययन भ्रमण

पोखरा, ११ मंसिर / पोखरा महानगरपालिकाको वडा ३१ स्थित पचभैया डाँडामा निर्माणाधिन पोखरा जुलोजिकल पार्क निर्माण समिति भारत एवं नेपालका पूर्वी जिल्लाहरुमा ५ दिने अध्ययन अवलोकन भ्रमण सकाएर मंगलबार पोखरा फिर्ता भएको छ ।

पचभैयामा निर्माण गरिने पार्कको खाका कोर्नु अगावै सम्बन्धित क्षेत्रबारे पर्याप्त ज्ञान आर्जन गर्ने हेतुले निर्माण समिति गएको मंसिर ६ गते त्यसतर्फ प्रस्थान गरेको हो ।

समितिले वेष्ट बंगाल सिलगुडीस्थित बंगाल सफारी पार्क, सिक्किम, दार्जिलिङका दुई भिन्दा भिन्दै जुलोजिकल पार्क र झापा स्थित जामुनखाडी सिमसार क्षेत्र अध्ययन अवलोकन गरेर फर्किएको पार्क निर्माण समितिका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।

‘पचभैयामा निर्माण गर्न लागिएको जुलोजिकल पार्क र हामीले अध्ययन गरेका त्यस ठाउँहरुको भूगोल मिल्ने हुँदा हामीले सो ठाउँलाई तालिका अनुसार पूरा समय दिएर भ्रमण सकाएका छौं,’ उनले भने, ‘सिक्किम र दार्जिलिङका जुलोजिकल पार्क हाम्रो लागि उपयुक्त अध्ययन गर्ने ठाउँ रहें, पचभैयाको भूगोल, हावापानी, जैविक विविधता लगायत अन्य पक्षहरु धेरैजसो त्यहाँका ठाउँसँग हुबहु मिल्ने भएकोले पनि भ्रमण पछि हामीमा अझ् बढि उत्साह थपिएको छ ।’

पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले डिटेट प्रोजेक्ट रिपोर्ट (डिपिआर) प्रतिवेदन तयार पार्न १ करोड ५० लाख बजेट छुट्टाएको जनाइएको छ । बजेट निकाशा नभएपनि वस्तुगत पूर्व अध्ययनले पार्क निर्माणमा सबैको हौसला बढ्ने अपेक्षा लिएको अध्यक्ष बख्रेलले जनाए ।

भ्रमणमा पोखरा महानगरपालिका वडा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ, वडा ३० का वडाध्यक्ष श्रीप्रसाद पोखरेल, वडा ३१ का वडाध्यक्ष कमल थापाको समेत सहभागिता थियो । भ्रमण पछि तिनै जना वडाध्यक्षले पचभैयामा पार्क निर्माण कार्य तीब्र रुपमा बढाउन पूर्व अध्ययन आवश्यक भएको जनाउँदै सही मार्गचित्र कोर्न भ्रमण उपलब्धिमूलक भएको बताए ।

पोखरा ३१ का वडाध्यक्ष कमल थापाले पार्क निर्माणमा महानगरबाट थप सहयोगको लागि प्रस्ताव लगिने सुनाए । सबैको साथ सहयोगले पार्क निर्माणमा हौसला थपिरहेको उनको भनाइ थियो । वडालाई समृद्ध र पर्यटकीय बनाउन निर्माणाधिन पार्कले भावि दिनहरुमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको उनले सुनाए ।

भ्रमणमा जिल्ला वन कार्यालय कास्कीका जिल्ला वन अधिकृत धनञ्जय लामिछाने, पोखरा महानगरपालिका कार्यालयका कानून अधिकृत राममणि अधिकारी, पचभैया सामुदायिक वन, चैनपुर सामुदायिक वन, चायपानी चिसाकुना सामुदायिक वनका प्रतिनिधिहरु लगायतको सहभागिता थियो ।

समग्रमा भ्रमण उपब्धिमूलक रहे पनि केही दिन भित्रमा नै समीक्षा बैठक डाँकी सोको बारेमा थप चर्चा गरिने पार्क निर्माण समितिका महासचिव दामोदरभक्त थापाले जानकारी दिए ।

कमेन्टहरु
Loading...