हाकिम खोज्दै कर्मचारी काठमाण्डौं धाएर पनि …………….

पोखरा उपमहानगर पालिकाका कर्मचारीहरु कार्यालय प्रमुख खोज्दै काठमाण्डौं धाइरहेका छन् । नगर प्रमुखको समेत जिम्मेबारी पाएका कार्यकारी अधिकृत लामो समयसम्म कार्यालयमा अनुपस्थित भए पछि जनताले सास्ती पाए भन्दै कर्मचारीहरु स्थानीय विकास मन्त्रालयमा पुगेका हुन ।
नगर पालिकाका कानुन अधिकृत नारायण शर्मा पौडेलको नेतृत्वमा काठमाण्डौं गएको कर्मचारी टोलीले स्थानीय विकास मन्त्रालयका सचिव शितलबाबु रेग्मी, सहसचिवद्वय शिव रायमाझी र रेश्मीराज पाण्डेलाई भेटेर छिटो कार्यकारी प्रमुख पठाई दिन आग्रह गरेर फर्केका छन् ।
“हो हामी काठमाण्डौं मन्त्रालयमा पुगेर कार्यकारी अधिकृत छिटो पठाईदिन आग्रह गरेर फर्केका छौं, अहिलेका कार्यकारी अधिकृत विरामी भएर बिदामा बस्नु भएको रहेछ, उहाँ अब आउने सम्भावना छैन ।’ कानुन अधिकृत शर्माले भने–“कार्यकारी अधिकृत नहुँदा नगरका धेरै काम प्रभावित हुन्छन, सेवाग्रहीले सास्ती पाएका छन, त्यसैले हामी मन्त्रालय गएका हौं ।’
स्थानीय विकास मन्त्रालयले पोखरा उपमहानगर पालिकाको कार्यकारी प्रमुख बनाएर पठाएका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढकाल विरामी भए भन्दै मन्त्रालयमा हाजिर हुन थालेपछि पोखरा उपमहानगर पालिका कार्यलय प्रमुख विहीन भएको छ । अहिले कार्यकारी अधिकृत ढकाल मन्त्रालय पनि गएका छैनन् । उनी विरामी बिदा लिएर बसेका छन् ।
नगर प्रमुखको समेत जिम्मेबारी पाउने कार्यकारी अधिकृत नहुँदा नगरका मुख्य मुख्य काम प्राय सबै ठप्प हुन्छन । विभिन्न योजनाहरु बारे निर्णय गर्ने, रकम निकासा, कर्मचारीको तलब भत्ता लगायतका आर्थिक काम प्राय ठप्प छन् । त्यस बाहेक कार्यालय प्रमुख नहुँदा न्यायिक र अर्धन्यायिक काम पूर्ण प्रभावित हुन्छन । यसो हुँदा सेवाग्रहीहरुले सास्ती पाएका छन् । “स्वभाविक रुपमा सेवाग्रहीले सास्ती पाएका छन, गाली हामीले पनि खानु पर्छ ।’ कानुन अधिकृत शर्माले भने ।
कार्यकारी अधिकृत नहुँदा आर्थिक कारोबार ठप्प भएको लेखा शाखाका कर्मचारी तोरण कुँवरले बताए । “नगरवासी यहाँ आउछन, गुनासो गर्छन, कराउछन, मैलै पैसा नदिएर रोके जस्तो गर्छन ।’ कुँवरले भने–“कार्यालय प्रमुख नहुँदा आर्थिक कारोबार ठप्पै छ ।’
शान्ति मन्त्रालयमा कार्यरत उपससचिव ज्ञानेन्द्र ढकाललाई मन्त्रालयले बैशाखमा पोखरा उपमहानगर पालिकाको कार्यकारी अधिकृत बनाएर पठाएको थियो । चार महिनाको अवधिमा ढकाल करिब एक महिना मात्र पोखरा बसेका छन् । उनले विरामी भएको भन्दै मन्त्रालयमा तीन महिना अघि नै सरुवा माग्दै निवेदन दिएका थिए ।

कमेन्टहरु
Loading...