पोखरामा चोरको बिगबिगी

रेम बिक
पोखरा, २५ चैत/ जलकुम्भी अभियान’ भन्दै पोखरामा प्रहरीले खुबै सक्रियता बढाएपनि पोखरामा चोरीका घटनाहरु दोहोरिँदै गएको छ । अभियानलाई तिब्रता दिँदै प्रहरीले सडकजाँच, गुन्डागर्दी र वेश्यावृत्ति प्रति कडाई गरेपनि घरभित्र पसेर पेशेवर रुपमा चोरी गर्नेहरु भने आफुहरुले विशेष छुट पाएजसरी निर्धक्क चोरी गरिरहेका छन् । पछिल्लो समय पोखराका विभिन्न स्थानका घरहरुमा चोरीको घटना बढ्दै गएपछि पेशेवर चोरीमा संलग्नहरु सक्रिय भएको फेला परेको हो ।

केहि समय अगाडी सुनको डल्ला देखाएर सोझासाझा मानिसहरु ठग्ने गिरोह नै पोखरामा सक्रिय भएको थियो । यद्यपी प्रहरीले यस्तो गिरोहलाई नियन्त्रणमा लिईसकेको जानकारी दिएको छ । यस्तै केहि समय अगाडी कार्कीडाँडास्थित एक घरमा पनि चोरी भएको थियो । विरौटामा पनि केहि दिन अगाडी रातीको समयमा ताला फोरेर चोरी भएको थियो । सोहि क्रममा शुत्रबार रातिको समयमा घरको ताला फोरेर पत्रकार सागरराज तिमिल्सिनाको घरमा समेत चोरी भएको छ । चोरीको प्रकृति हेर्दा केहि समय अगाडी विरौटा र कार्कीडाँडाकै प्रकृतिमा बैदामस्थित तिमिल्सिनाको घरमा चोरी भएको प्रहरीले जनाएको छ ।

रातीको समयमा भएको चोरीको बारेमा आफुहरुले बिहान मात्रै थाहा पाएको पत्रकार तिमिल्सिनाले जानकारी दिए । चोरले घरबाट ५ वटा चरेशका थाल, १० वटा चरेशका कचौरा, २ वटा तामाका लोटा र एउटा तामाको कसौँडी लगेको उनले जानकारी दिए । ‘करिब १५ हजार बराबरको भाडाँकुडा चोरी भएको छ ।’ उनले भने–‘गएराती हाम्रो घरमा भएको चोरीका कारणले अहिले टोलबासी नै निकै डराएका छन् ।’ चोरी भएपछि प्रहरीलाई जानकारी गराएपनि प्रहरीले हालसम्म कसले चोरी गरेको हो भन्ने कुरा पत्ता लगाउन नसकेको उनले जानकारी दिए ।

यता प्रहरीले पनि ठाउँ ठाउँमा भएको चोरीको प्रकृति एकै प्रकारको भएका कारण चोरी गर्ने गिरोह पनि एउटै भएको हुन सक्ने बताएको छ । ‘गिरोह नै संलग्न भएको हुनसक्छ ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सन्तोष खड्काले भने–‘त्यस्तो गिरोहको खोजी भैरहेको छ, चाँडै नै उनीहरुलाई नियन्त्रणमा लिईनेछ ।’ पछिल्लो समय चोरीमा संलग्न ३ वटा गिरोहलाई प्रहरीले नियन्त्रणमा लिईसकेको पनि उनले जानकारी दिए । नियन्त्रणमा आएका ‘चोर गिरोह’ सुनको डल्ला देखाएर ठग्ने र केहि घरमा ताला फोरेर चोर्नेहरु रहेको उनले बताए ।

करिब एक वर्ष अगाडी पोखरामा यस्तै चोरीको बिगबिगी रहेको थियो । तत्कालिन समयमा चाउथेका घरहरुमा पेशेवर रुपमा दिनदिनै चोरहरुले आक्रमण गरेका कारण त्यस ठाउँमा प्रहरीले अस्थायी विट समेत स्थापना गर्नुपरेको थियो । तत्कालिन कास्की प्रहरी प्रमुख यादवराज खनालले चोरी नियन्त्रणका लागी स्थानियबासीहरुलाई ‘साईरन’ प्रविधि घरमा राख्न समेत सुझाएका थिए । त्यसयता चोरीका घटना कमै सुनिएपनि पछिल्लो समय निरन्तर रुपमा भैरहेको चोरीको घटना दोहोरिन थालेपछि पोखराका स्थानियबासीहरु सशंकित बनेका छन् ।

कमेन्टहरु
Loading...