युद्धको झल्को दिने पेण्टबल पोखरामा सुरु

पोखरा, ३१ वैशाख/मुलुक शान्तिप्रक्रियातर्फ उन्मुख रहँदा पर्यटकीय नगरी पोखरामा भने युद्ध मैदानको झल्को दिने गरी पेण्टबल सञ्चालनमा आएको छ । युद्धमा दुस्मनलाई पराजित गर्न आवश्यक कौशल, बन्दूकको सही निशानी र आत्मसुरक्षाको रणनीतिसहित खेलिने यो खेल पोखरामै पहिलोपटक भित्राइएको हो । ggg

पोखराको लेकसाइडमा पोखरा ब्याटलफिल्ड प्रालिले नयाँ वर्षसँगै यो खेल सञ्चालनमा ल्याएको प्रालि अध्यक्ष गुप्ता लामाले बताए । पोखरामा आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धनमा सघाउ पु¥याउने उद्देश्यसहित युवाहरुलाई नौलो स्वाद पस्किने हेतुले आफूहरुले आवश्यक पूवार्धारसहित यो खेल भित्राएको उनलले बताए ।

‘अमेरिकाबाट सुरुवात यो खेल विदेशमा निकै प्रचलित छ’, प्रालि अध्यक्ष लामाले भने–‘पोखरामै पहिलोपटक हामीहरुले औपचारिक उद्घाटन नगर्दै यसप्रति खेलप्रेमीको भीडले हामीहरु निकै उत्साहित छौं । यसप्रति रुची दिनेको भीड दैनिक बढ्दो छ ।’ लेकसाइडको क्लब एशियाना गल्लीमा पाँच रोपनी खालीजग्गा लिजमा लिएर सञ्चालित पोखरा ब्याटलफिल्ड प्रालिले पेण्टबलसँगै फुटसल (इन्डोर फुटबल) खेल सुरु गरेको हो । खेलका लागि आवश्यक पूर्वाधार, सामग्री, डेकोरेसनलगायत गरी ५० लाख रुपैयाँ लगानी हुने अध्यक्ष लामाले बताए । प्रालिले गतवर्ष काठमाडौको सानेपामा पनि कल्पवृक्षनामक ब्याटलफिल्ड सुरु गरेको थियो ।

पोखरामा पेण्टबलका लागि प्रालिले अमेरिकाबाट ३० थान गन भित्राएको छ । एउटा गनको मात्रै मूल्य १६ हजार रुपैयाँ पर्दछ । दुई समूह (रातो र नीलो) मा खेलिने यस खेलका लागि खेलाडीले आत्मसुरक्षाका लागि गियर, मास्क, पञ्जा, सुट, मार्करसहित रंगको गोली विपक्षीको निशाना बनाउँछन् । गोली लाग्नेवित्तिकै विपक्षी खेलाडी मैदानबाट आउट हुन्छ । एक चरणमा करिब एक घण्टाका लागि खेलिने पेण्टबलमा एक समूहमा आठ जना खेलाडी सहभागी हुने गरेका छन् । युद्धमैदानजस्तो बनाउन प्रालिले विभिन्न बञ्करहरु पनि निर्माण गरेको छ ।

साहससहित युद्धभूमिमा सहभागी हुँदा हुने अनुभव त छँदैछ, त्यसका अलावा रोमाञ्चकारी क्षण पनि हुने नै भयो । खेलका क्रममा खेलाडीहरुले आफू दुस्मनसँग लडेको दृश्य क्यामरामा कैद गराउन लालायित हुन्छन् । पूर्णसुरक्षात्मक रहेको यो खेलमा कतिपय त सामाजिक सञ्जाल फेसबुकमा आफू लडेको दृश्य साथीहरुलाई शेयर गर्न लालायित हुने गरेका छन् । खेलमा मार्सल (रेफ्री) पनि रहन्छन् । न्यूनतम शुल्क तिरेपछि खेलमा सहभागी हुन पाइने प्रालिले जनाएको छ । फाइभ ए साइड रहने गरी प्रालिले सुरु गरेको फुटसलमा पनि खेलाडीहरु खेलमा रमाउने गरेका छन् ।

घामपानीको कुनै समस्या नपर्ने गरी सञ्चालित सो खेलका लागि व्यवसायी, चिकित्सक, बुद्धिजीवी, सर्वसाधारण, खेलप्रेमी तथा विदेशीहरु नियमितमा शारीरिक अभ्यासका लागि पनि फुटसल खेल्न आउने गरेको प्रालिले जनाएको छ । बाथरुम, लकर सेवा, सुटिङरेञ्ज, स्नुकर, रेष्टुरेण्ट, पर्याप्त पार्किङ तथा फ्रिवाइफाइ सुविधा यहाँको अर्को आकर्षण हो । औपचारिक उद्घाटनपछि दैनिक करिब पाँच सय जना पेण्टबल र फुटसल खेल्न आउने अपेक्षा गरिएको प्रालिका अध्यक्ष गुप्ता लामाले बताए ।

कमेन्टहरु
Loading...