अब केही ‘क्लिक’ मै कम्पनी दर्ता !

पोखरा,८ असार । कम्पनी दर्ताको लागि कति पापड बेल्नुभयो ? भुक्तभोगीहरु सम्झन पनि चाहन्नन् । कारण एउटै छ– झण्झटिलो प्रणाली, कागजपत्र मिलाउने लफडा अनि राजधानी धाउनु पर्ने बाध्यता । समय र पैसा खर्चको त कुरै नगरौँ । अब भने सयम फेरिएको छ । कम्पनी रजिष्टारको कार्यालयले अनलाइन सेवाबाटै कम्पनी दर्ताको प्रक्रिया सुरु गरेपछि यो अवस्था आएको हो । कम्पनीले आफ्नो आधिकारिक वेभसाइट डब्लुडब्लुडब्लु डट ओसिआर डट जिओभी डट एनपी(यअच।नयख।लउ ) मार्फत कम्पनी दर्ताको प्रक्रिया सुरु गरेको हो ।

रजिष्टार कार्यालयले आफ्नो वेभसाइटमा कम्पनीको नामको खोजी,नाम रिजर्भको सुविधा तथा अन्य कागजातहरु अनलाइनबाटै भर्ने सुविधा प्रदान गरेको छ । यद्यपी, विद्युतीय हस्ताक्षर तथा अनलाइनबाटै रकम भुक्तानीको ब्यवस्था नभएकोले एक पटक भने सेवाग्राही कम्पनी रजिष्टारको कार्यालय भने पुग्नैपर्छ । कागजातहरुका सक्कली प्रति बुझाउन, कर चुक्ता गर्न र कम्पनी दर्ताको प्रमाणपत्र लिन रजिष्टारको कार्यालय पुग्नुपर्ने भएको हो ।

यो सुविधापछि अब कम्पनी रजिष्टारको कार्यालय पहिलो चोटी आउँदा नै अन्तिम बन्न पुग्छ’ , कम्पनी रजिष्टार कार्यालयका इञ्जिनियर संसार देवानले गर्वका साथ भने,‘ तपाईँ अब केही क्लिकमा नै सबै काम फत्ते गर्न सक्नुहुन्छ ।’ वेभसाइटमा राखिएको क्याल्कुलेटरमा आफूले कुन समयमा कति कर तिर्नु पर्ने र कति जरिवाना लाग्यो भन्ने हिसाब आफै गर्न मिल्ने प्रविधी पनि राखिएकोले यो प्रक्रिया पारदर्शिताको नमूना समेत भएको उनको दावी थियो ।

‘नेपालका निजामति कर्मचारीले प्रयोगमा ल्याएको यो नै पहिलो पारदर्शी सेवा हो ।’–उनले सुनाए । उनका अनुसार केही समय अगाडि मात्र प्रयोगमा ल्याइएको यो अनलाइन सेवा मार्फत १ सय ५ कम्पनी दर्ता भई सकेका छन् भने ६ सय १८ वटा कम्पनीको दर्ता प्रक्रिया चलिरहेको छ । यस अघि नै दर्ता भएका २ सय ३१ ले सो साइटबाट सेवा लिन थालेको र १ हजार ३ सय २४ कम्पनीहरु अनलाइन प्रक्रियामा आउन चासो देखाएको उनले जानकारी दिए । नेपालमा हालसम्म १ लाखभन्दा बढी कम्पनीहरु दर्ता भएका छन् । नेपालमा वर्षेनी १० हजारभन्दा बढी कम्पनीहरु दर्ता हुने गरेका छन् ।

 

कमेन्टहरु
Loading...