छ वर्षपछि प्रशान्तलाई साथ दिए पोखरेलीले

पोखरा, ५ माघ/वर्षाका कारण सम्पूर्ण तयारी रहेको कार्यक्रम ल्होछार म्युजिकल फेष्टिभलमा आइतबार साँझ इण्डियन आइडल प्रशान्त तामाङ झरीको गीत गाउँदै स्टेज उक्ले । असारे महिना पानी प¥यो रुझाउने गीतसँगै प्रस्तुति सुरु गरी उनले पोखरा रंगशालामा आफ्नो व्यग्र पखाईमा रहेका संगीतपारखीलाई कर्णप्रिय गीतको जादु छरे । दिन ढलिसकेको चिसो मौसममा उनले नेपाली र हिन्दीसहित आधा दर्जन गीत पस्के । 

प्रशान्त तामाङ
प्रशान्त तामाङ

नेपालीले अत्यन्तै रुचाइएका सन् २००७ का यी इण्डियन आइडल प्रशान्तले आफ्नो जातीय चाड सोनाम ल्होछारमा तेस्रो पटक पोखरेलीसँग सांगीतिक कार्यक्रमको लागि स्टेजमा देखा परेका हुन् । नेपाली ढाकाटोपी विश्वसामु चिनाउने नायकको पनि परिचय बनाएका प्रशान्तको पोखरामा झण्डै छ वर्षपछि सांगीतिक कार्यक्रम भएको हो ।

शनिबार लगातारको वर्षापछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आयोजक बैदाम तामाङ समाज पोखराले भोलिपल्ट दर्शकलाई पोखरा रंगशालामा निम्त्याएको थियो । ल्होछार म्युजिकल फेष्टिभलमा प्रशान्तलगायत चर्चित गायक÷गायिका आस्था रावत, अशुसेन लामा, तेञ्जिङ डोल्मा तथा पोखरेली ब्याण्ड डिमर्चा र दार्जिलिङको मन्त्रव्याण्ड सुन्न झण्डै १० हजार दर्शक सहभागी थिए । दिउँसो करिब ४ बजे सुरु कार्यक्रममा ढिलो नगरीकनै सञ्चारकर्मी कविता श्रेष्ठले २००८ का साउथ एशियन स्टार अशुसेन लामालाई पहिलोपटक स्टेजमा निम्त्याइन् ।

महिला स्वर पनि निकाल्न सक्ने यी गायकलाई पोखरेलीले ग्राण्ड प्रोग्राममा पहिलो पटक पाए । उनले ढुंगाढुंगामा बोलको गीत गाउँदै बारीको मुनी जिम्बुको बोटमा पुगी आफ्नो प्रस्तुति टुङ्ग्याए । दर्शक उफार्न सिपालु यी गायकलाई दर्शकले पनि मज्जैले साथ दिए । प्रशान्तले स्वर भरेका अरे क्या नाम, मन साहिँली, आफ्नैले घात गर्दालगायतका चर्चित गीतका कम्पोजरसमेत लामाले आमा तिम्रो छोरो जवान भयो रे, साहिँला दाइ, सत्य धरो धर्म बोलको गीत गाएर दर्शकलाई भरपूर मनोरञ्जन दिलाए ।

गायिका आस्था रावत
गायिका आस्था रावत

उनको प्रस्तुतिसँगै सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले निम्त्याएपछि स्टेजमा देखा परिन्, पछिल्लो समयकै चर्चित गायिका आस्था रावत । उनले आफ्ना चर्चित गीत चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, तीन मोहोरको धागोले, झुक्के बुलाकी, माया यो माया गाइसक्दा पश्चिम दिशाबाट सूर्यास्त हुँदै थियो । माया यो मायामा सुनेर साथ दिएका दर्शकले उनलाई सालको पात टपरी गाँसेरमा भने नाचेरै साथ दिए । यसैगरी, नेपाली, हिन्दी र अँगे्रजी भाषाका गीत एकसाथ गाउने तेञ्जिङ डोल्मालाई दर्शकले पहिलो पटक पोखरामा देखे । अमेरिकामा बस्दैआएकी नेपाली मूलकी गायिका डोल्मा कुन्ती मोक्तानको सुनकै भाउ छ सुन्तला बारीमा दुरुस्तै गाउँदा दर्शकको आकर्षण बनिन् । साथै उनले ओस्कार अवार्ड प्राप्त टाइटानिकको टाइटल सङ् पनि प्रस्तुत गर्दै बाँकी समय प्रशान्तलाई साथ दिइन् ।

उत्तरमा मनमोहक हिमश्रृंखला हेर्दै प्रशान्तले हिजो नै कार्यक्रम भएको भए आफूले उक्त दृश्य मिस गर्ने बताए । नेपालीमाझ असारे गीत गाउन नछुटाउने उनले दोस्रो प्रस्ततिमा यो बतासे डाँडैमा छुकछुक सानु रेल गीत गाए । दार्जिलिङ चिनाउने यो गीतपछि उनले अरे क्या नाम र गोर्खा पल्टन फिल्मको जाऔंला रेलैमा गाए । महिला स्वरमा तेञ्जिङले साथ दिइन् । उनले चर्चित हिन्दी दुई गीत पनि गाएर दर्शक झुमाए ।
कार्यक्रमको अन्त्यमा पोखरेली डीमर्च र मन्त्र व्याण्डले आफ्नो प्रस्तुति राख्यो । पोखरेली भाष्करध्वज श्रेष्ठले चिसो मौसमलाईमा दर्शकलाई पसिनाले निधु्रक्कै पार्न सफल भए ।

करिब पाँच घण्टा चलेको कार्यक्रमको सुरुवातमा एसके डान्स कला केन्द्रले पनि साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको केन्द्रका सञ्चालक राम तामाङले बताए । २८५० औं सोनाम ल्होछारको अवसरमा आयोजित सो कार्यक्रममा दर्शकमध्ये तामाङ् समुदायका युवायुवतीहरु जातीय पोशाकमा सजिएका थिए । फेवाताल किनार खहरेमा गुम्बा निर्माण सहयोगार्थ आयोजित कार्यक्रम दर्शकको मायाले सफल भएको भन्दै आयोजक बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले सम्पूर्णलाई धन्यवाद दिए ।

कमेन्टहरु
Loading...