पोखरामा बुधबारदेखि प्याराग्लाईडिङ उड्न नदिने महानगरको निर्णय

प्रकाश ढकाल
पोखरा, २१ फागुन /पोखरा महानगरपालिकाले प्याराग्लाईडिङ उड्न नदिने निर्णय गरेको छ । महानगरलाई बुझाउनुपर्ने कर नबुझाएका कारण प्याराग्लाईडिङ उडाउन प्रतिबन्ध लगाईएको हो । प्याराग्लाईडिङ कन्पनीले विगत ४ बर्षदेखि महानगरलाई कर बुझाएका छैनन् भने महानगरमा दर्ता पनि भएका छैनन् ।

आर्थिक बर्ष २०७२/०७३ देखि महानगरले तोकेको ८६ हजार रुपैयाँ कर नबुझाएको राजश्व शाखाका रोम उपाध्यायले जानकारी दिए । उनका अनुसार हालसम्म एउटा कम्पनी मात्रै महानगरमा दर्ता छ । महानगरले आर्थिक बर्ष २०७२/०७३ र २०७३/०७४ मा ५ हजार ५ सयका दरले कर तोकेको थियो भने २०७४/०७५ मा ५० हजार तथा २०७५/०७६ मा २५ हजार रुपैयाँ शुल्क तोकेको थियो ।

यो बर्षदेखि प्रदेश सरकारले पनि प्याराग्लाईडिङमा कर लिने भएकोले केही घटाईएको उपाध्याय बताउँछन् । महानगरले १९ गते पत्र लेखेर नवीकरण र पर्यटन शुल्क उठाउनका लागि वडालाई अधिकार पठाएको छ ।

‘महानगरले आँफै पनि प्याराग्लाईडिङ कम्पनीलाई ताकेता गरेको थियो । धेरैले पत्रै बुझ्न मानेनन् । पत्र बुझेकाहरुले पनि आलटाल गर्न लागे, उपाध्याय भन्छन्–त्यसपछि वडासँगको सहकार्यमा कर नतिर्दासम्म उड्न प्रतिबन्ध लगाउन लागिएको हो ।’

१८ नम्बर वडा कार्यालयले पनि कम्पनीलाई पत्र पठाएर करको दायरामा आउन आग्रह गरेको थियो । २१ गतेसम्म कर नबुझाउनेले सराङकोटबाट उड्न नपाउने वडाध्यक्ष रणबहादुर थापाले बताए । ‘हामीले सबैलाई पत्र पठाएका छौं । पैसा तिरेको रसिद देखाए भोलि पनि उड्न पाउँछन् । नभए पाउँदैनन्, उनले भने–महानगरमा दर्ता गरेर पैसा नबुझाएसम्म अव हाम्रो वडाबाट प्याराग्लाईडिङ उड्दैनन् ।’

प्याराग्लाईडिङ कम्पनीहरुले तत्कालीन गाविस हुँदा सराङकोटलाई १ लाख २५ हजार बुझाउँथे । कम्पनी धेरै हुँदै गएपछि गाविसले पनि ५५ हजार लिन्थ्यो । उपमहानगरपालिकामा गाभिएपछि त्यसको दर घटाएर ५ हजार ५ सय कायम गरिएको थियो ।

पोखरामा प्याराग्लाईडिङ उडाउने ५६ वटा कम्पनी छन् । तिमध्ये ४० को हाराहारीमा मात्रै सक्रिय रहेको बताईएको छ । एउटा बाहेक कुनैपनि कम्पनी महानगरमा दर्ता नभएको महानगरले जनाएको छ । जिल्ला प्रहरी, जिल्ला प्रशासनलाई पनि बोधार्थ बुझाएर प्याराग्लाईडिङ उडान रोक्न लागिएको वडाध्यक्ष थापाले बताए ।

कमेन्टहरु
Loading...